२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्लबभन्दा फ्रान्सबाट खेल्दा स्वतन्त्रता: एम्बाप्पे

किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्नुभन्दा पनि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दा स्वतन्त्रता महसुस गर्ने बताएका छन्।

फ्रान्सले बिहीबार युइएफए नेसन्स लिगबाट रेलिगेसन संकट टार्ने सम्भावना बलियो पार्ने क्रममा अस्ट्रियालाई २-० ले हराएको थियो। जसमा एम्बाप्पे र ओलिभर जिरौडले समान एक गोल गरेका थिए।

‘मलाई क्लबबाट भन्दा फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दा केही सहज महसुस गर्छु। म यहाँ भिन्न तरिकाले खेल्छु,’ एम्बाप्पेले भने, ‘मेरो जिम्मेवारी पनि फरक छ। क्लबको भन्दा मलाई यहाँ धेरै स्वतन्त्रता छ।’

पिएसजीमा लियोनल मेसी र नेइमारको उपस्थितिका बीच पनि एम्बाप्पे क्लबको सर्वाधिक गोलकर्ता रहँदै आएका छन्।

‘टोलीमा मुख्य स्ट्राइकरको जिम्मेवारी ओलिभर जिरौडलाई दिइएको छ, उनले विपक्षी रक्षकलाई व्यस्त बनाउने काम गर्छन्,’ उनले भने, ‘जसका कारण म सहजै बल लिँदै अघि बढ्न सक्छु। तर क्लबमा ममाथि भिन्न दबाब हुन्छ। मैले स्वतन्त्र भएर खेल्न पाउँदिनँ।’

फ्रान्सले आइतबार लिगको अन्तिम खेलमा डेनमार्कको सामना गर्नेछ। डेनमार्कविरुद्धको जितले फ्रान्स ग्रुप ‘ए’ लिग वानमै रहनेछ। हार वा बराबरीले भने फ्रान्स लिग ‘बी’ मा झर्नेछ। फ्रान्सले डेनमार्कविरुद्ध सुखद नतिजा ल्याउन नसकेमा अस्ट्रियाले लिग वानको हैसियत जोगाउने सम्भावना रहनेछ। अस्ट्रियाले अन्तिम खेलमा क्रोएसियाको सामना गर्नेछ।

फ्रान्सले चार वर्षअघि रूसमा क्रोएसियालाई निराश पार्दै विश्वकप २०१८ को उपाधि जितेको थियो। टोलीका प्रमुख खेलाडी चोट र व्यक्तिगत समस्याको कारण देखाउँदै युइएफए नेसन्स लिग खेल्ने टोलीबाट बाहिर रहनुले पनि फ्रान्सेली टोली समस्यामा छ भन्ने संकेत गरेको छ। एफएफएफ पनि लगातार विवादमा फसिरहेको छ। एफएफएफका अध्यक्षलाई समेत दुर्व्यवहार गरेको आरोप लागेको छ। जसले फ्रान्सको कतार विश्वकप २०२२ को तयारी जुन तरिकाले अघि बढ्नुपर्ने हो सोअनुसार नबढेको भान हुन्छ।

यसअघि नै एनगोलो कान्टे, करिम बेन्जेमा र पाउल पोग्बाको चोटका कारण चिन्तित बनेको फ्रान्स ज्युल्स कोन्डे र गोलकिपर माइक म्यागननको चोटले थप समस्यामा परेको छ।

‘टोलीमा क्षमतावान् खेलाडीको कमी छैन,’ एम्बाप्पेले भने, ‘टोलीका प्रमुख खेलाडीबिना पनि हामी सुखद नतिजा ल्याउन सफल भयौं। उनीहरूको पुनरागमनले टोली थप बलियो हुनेमा दुबिधा छैन।’

प्रकाशित: ८ आश्विन २०७९ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App