१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद :गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

फाइल तस्बिर

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ।

प्रतियोगिताको स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय प्रतियोगिता गरी आफूले सहभागिता जनाउने ३६ वटै खेलका खेलाडी छनोट सम्पन्न गरेको छ। 

गण्डकी प्रदेशले गत भदौ १६ देखि १८ सम्म प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर खेलाडी छनौट सम्पन्न गरेको हो। गण्डकी प्रदेशबाट सात सय नौ खेलाडीले प्रतियोगितामा सहभागी हुनेछन्। चार सय चार इभेन्टमा चार सय ११ पुरुष र दुई सय ९८ महिला खेलाडीको सहभागिता रहने परिषद्ले जनाएको छ।

सबै खेलका अन्तिम टोलीमा पर्न सफल खेलाडीलाई आगामी असोज १ देखि प्रशिक्षणमा राखिने गण्डकी प्रदेख खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए । उनका अनुसार पहिलो दुई साता विशेष प्रशिक्षण र त्यसपछिका दिनमा बन्द प्रशिक्षण खेलाडीका लागि सञ्चालन हुनेछ। 

छनोट भएकामध्ये केही खेलका खेलाडीलाई हिमाली जिल्ला मनाङमा लगेर उच्च पर्वतीय (हाइअल्टिच्युड) मा प्रशिक्षण गराउने योजना रहेको छ। 'अन्य प्रदेश खेलाडी छनोटको प्रक्रियामा रहँदै गर्दा हामीले तोकेको समयमा सबै खेलको छनोट गरिसकेका छौँ', सदस्यसचिव गुरुङले भने, 'असोज १ गतेदेखि दुई हप्ता विशेष प्रशिक्षण र अर्को दुई साता सबैलाई बन्द प्रशिक्षणमा राख्ने गरी योजना बनाएका छौँ ।'

प्रदेशले खेलाडीको बन्द प्रशिक्षणका लागि प्रदेश सरकारसँग थप दुई करोड १८ लाख  रूपैयाँ  बजेट माग गरेको छ। प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई पहिलो दुई साता दैनिक आठ सय र बन्द प्रशिक्षणमा रहँदा दैनिक  एक हजार पाँच सयका दरले भत्ता उपलब्ध गराउने योजना रहेको सदस्यसचिव गुरुङले बताए। 

उहाँले भने, 'बन्द प्रशिक्षण सञ्चालनका लागि पर्याप्त बजेट छैन। माग गरिएको बजेट छिटो प्राप्तिका लागि निवेदन दिएका छौँ। सबै बजेट नआए योजनाअनुसार प्रशिक्षण सञ्चालन गर्न सक्दैनौँ। '

मनाङमा ‘हाइअल्टिच्युड’ मा जाने खेलाडीका लागि विज्ञहरूबाट अहिले सैद्धान्तिक कक्षा भइरहेको छ। खेलमा जानुभन्दा अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिने छ। सुरुआतमा एक सय खेलाडीलाई उच्च पर्वतीय प्रशिक्षणमा सामेलगर्ने योजनारहे पनि पछिल्लो समय असोज पहिलो साता पोखरामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका कारण केही खेलाडी त्यसमै खेल्नुपर्ने भएकाले सङ्ख्या कम भएको हो।

पोखरामा ४० वर्षपछि राष्ट्रिय खेलकुद हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्व दिएको छ। घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले धेरै पदक जित्ने लक्ष्य राखेको छ।

गण्डकीले राष्ट्रिय खेलकुदका स्वर्ण पदक जित्ने लक्ष्य राखेका भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई ‘हाइअल्टिच्यूड’ प्रशिक्षण सञ्चालन गर्न लागिएको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए। 

प्रकाशित: २९ भाद्र २०७९ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App