२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

यु–२०ः नेपालले भुटानको सामना गर्दै

अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ।  

बहाराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ। भुटान, बंगलादेश र कतारसँगै समूह ‘बी’मा परेको बहराइनले नेपाललाई प्रतियोगिताको आतिथ्यता प्रदान गरेको हो। गत जुलाईमा भारतमा भएको साफ यु-२० च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न असफल रहेको नेपाली युवा टिम अर्को वर्षका लागि उज्वेकिस्तानको टिकट काट्ने लक्ष्यमा छ। शनिबारदेखि सुरु हुने छनोटको पहिलो खेलमा दक्षिण एशियाली प्रतिष्पर्धी भुटानसँग खेल्नुअघिको पत्रकार सम्मेलनमा बौल्दै मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएको सुनाए। उनले भने, ‘हामीले तीन महिनादेखि तयारी गरिरहेका छौं। त्यसबीचमा हामीले साफ च्याम्पियनसिप खेल्यौं, त्यसैले एएफसी यु-१७ एशिया कपका लागि पनि हाम्रो तयारी राम्रो छ।’

खुल्ला छनोटबाट तयार पारेको टिम लिएर साफ च्याम्पियनसिप खेल्न भारत पुगेका प्रशिक्षक केसीले बहराइन आएको टिममा ६ परिवर्तन गरेका छन्। साफ च्याम्पियनसिपपछि केही खेलाडी थपेर बन्द प्रशिक्षण सुरु गरेका प्रशिक्षक केसीले उनेश चौधरीको स्थानमा गोलकिपर टोपबहादुर रानालाई स्थान दिएका छन्। यस्तै डिफेन्स लाइनमा तीन र मिडफिल्डका दुई खेलाडी परिवर्तन गरी प्रशिक्षक केसीले स्यान्सु भुसाल, राज थोकर, जान ताम्ली, राकेश विश्वकर्मा र सञ्जीव लामालाई समेटेका छन्। नेपाली टिम प्रतियोगिताका लागि बिहीबार मात्रै बहाराइन पुगेको थियो। यद्यपि, पाएको सयमको भरपुर सदुपयोग गरेर राम्रो तयारी गरेकाले नेपाल एशियन कपमा छनोटमा हुनेमा प्रशिक्षक आशावादी छन्। शनिबार भुटानविरुद्धको खेलको दुई दिनपछि नेपालले सोमबार कतारसँग खेल्ने छ। यस्तै, बुधबार बहराइनसँग र अर्को आइतबार बंगलादेशसँग खेल्नेछ।

प्रकाशित: २५ भाद्र २०७९ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App