२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेटका प्रतिस्पर्धा बिहीबारदेखि काठमाडौंमै

फाइल तस्बिर

गण्डकी प्रदेशमा तय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन आगामी असोज २८ गतेदेखि हुने भए पनि क्रिकेटको प्रतिस्पर्धा भने बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।

नवौं राष्ट्रिय खेलकुदकै समयमा फ्रेन्चाइज क्रिकेट नेपाल ट्वान्टी–२० लिग हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान) को आग्रहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेटका प्रतिस्पर्धा अगाडि सारेको हो। राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदै छ भने फ्रेन्चाइज क्रिकेट लिग असोज ८ देखि कात्तिक पाँच गतेसम्म तय गरिएको छ। त्यसैले गण्डकी प्रदेशमा हुने ३६ खेलमध्ये क्रिकेटको प्रतिस्पर्धा काठमाडौंमा बिहीबारदेखि सुरु गरिएको हो। पहिलो दिन चार खेल तय गरिए पनि वर्षाका कारण सुदूरपश्चिम प्रदेश र एनआरएनएबीचको खेल मात्र सञ्चालन भयो।

नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर सागर पुनको टोली एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै नवौं राष्ट्रिय खेलकुदमा सुखद सुरुआत गरेको छ। ट्वान्टी–२० फरम्याटको प्रतिस्पर्धा भए पनि वर्षाकै कारण ६ ओभरमा छोट्याइएको थियो। जहाँ सागरकै विस्फोटक इनिङमा एनआरएनएले निर्धारित ओभरमा चार विकेट गुमाउँदै ७५ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जबाफी लक्ष्य पछ्याएको सुदूरपश्चिमले पनि आक्रामक ब्याटिङ गरे पनि जित निकाल्न सकेन र निर्धारित ओभर नै खेल्दै ६ विकेटको क्षतिमा ६२ रन मात्र जोड्यो। एनआरएनको जितमा सागरले १९ बलमा ४८ रन जोड्दै आक्रामक ब्याटिङ गरे।

म्यान अफ दी म्याचसमेत रहेका सागरको इनिङमा समान ३/३ चौका र छक्का समावेश थिए। कप्तान सुनम गौतमले ११ बलमा २४ रन जोडे। उनले तीन चौका र एक छक्का हिर्काए। खराब सुरुआत गरे पनि यी दुईको आक्रामक ब्याटिङमा एनआरएनएले विशाल योगफल बनायो। सुदूरका बलर हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिए। शेरबाहेक सबै बलर महँगा साबित भए। सदूरपश्चिमका खडक बोहोराले १० रन, कप्तान राजु रिजालले ११ रन र हेमन्त धामीले १० रन जोडे पनि जितका लागि पर्याप्त भएन।

एनआरएनको बलिङमा आशिष पोख्रेल र दीपक क्षत्रीले समान तीन विकेट लिए। त्यस्तै समूह ‘ए’ का मधेस प्रदेश र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश तथा समूह ‘बी’ का बाग्मती प्रदेश र प्रदेश–१ बीचका प्रतिस्पर्धा भने वर्षाका कारण हुन सकेनन्। यी छवटै टोलीले १/१ अंक बाँडे। कुल ११ टोलीमध्ये समूह ‘बी’ मा पाँच टोली छन्।  

प्रकाशित: २४ भाद्र २०७९ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App