२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राम राजनीति भर्सेस यात्रा राजनीति

भारतको अयोध्यास्थित राममन्दिर। तस्बिर स्रोत: हिन्दुस्तान टाइम्स डट कम

महात्मा गान्धी र चक्रवर्ती राजगोपालाचारीका नाति विद्वान् तथा लेखक गोपालकृष्ण गान्धीको एउटा भनाइ राख्छु। उनले भनेका छन्, भारतका धेरै विशेषता छन् तर तीमध्ये तीनवटा चाहिँ संसारका अरू मुलुकभन्दा फरक छन्। उनका अनुसार पहिलो विशेषता ताजमहल हो किनभने यस्तो संरचना संसारमा अन्यत्र कहीं छैन। दोस्रो महात्मा गान्धी र तेस्रो ‘इलेक्टोरल डेमोक्रेसी’।

भारतको सर्वोच्च अदालत (सुप्रिम कोर्ट) ले एउटा फैसलामा भनेको छ, ‘निर्वाचन आयोग थुप्रै संस्थामध्येको विशिष्ट संस्था (इन्टिग्रिटी इन्स्टिच्युसन) हो।’ भारतमा कसैले सितिमिति हल्लाउन वा चलाउन नसक्ने दह्रो संस्थामध्ये निर्वाचन आयोग पनि हो।

यो कुरा भारतले उदाहरणीय संस्थाका रूपमा छाती ठोकेर सारा संसारसामु भन्ने गरेको छ। भारतको संविधान सन् १९५० जनवरी २६ मा लागु भएको हो। निर्वाचन आयोग संविधानभन्दा एक दिन जेठो छ।

भारतको पहिलो प्रमुख निर्वाचन आयुक्त सुकुमार सेन हुन्। जो ५० को दशकमा नेपालमा संविधानसभाको निर्वाचन गराउन परामर्श दिने सिलसिलामा काठमाडौं आएका थिए। उनले भारतमा पहिलो पटक चुनाव गराउन खोज्दा पश्चिमा देशहरूले खिज्याएका थिए।

यो आम निर्वाचन २५ अक्टोबर १९५१ देखि २१ फेब्रुअरी १९५२ मा भएको थियो। खिसी गर्नुको कारण के थियो भने त्यसबेला भारतको कुल जनसंख्याको ८४ प्रतिशत नागरिक साक्षर थिएनन्। त्यस्तो ठाउँमा चुनाव गराउँछु भनेर भारतको निर्वाचन आयोग तातेको थियो।

सन् १९५१ मा गरिएको जनगणनाअनुसार त्यसबेला भारतको कुल जनसंख्या ३६ करोड १० लाख ८८ हजार ९० जना थियो। तीमध्ये १७ करोड ३२ लाख १२ हजार ४३४ जनाले मतदानका लागि आफ्नो नाम दर्ता गराएका थिए। २१ वर्ष नाघेका सबैलाई मतदानका लागि योग्य मानिएको थियो। त्यो निर्वाचन ६८ चरणमा ६ महिना लगाएर सम्पन्न भएको थियो।

पश्चिमा देशका नेताहरूले ‘यति ठुलो देश, यत्रो जनसंख्या कसरी चुनाव गराउन सक्छ। यो ‘जोक’ हो’ भनिरहेका थिए। प्रमुख निर्वाचन आयुक्त सेन बेलायतमा अध्ययन गरेर आएका गणित विषयको विज्ञ रहेछन्। उनले निर्वाचन गराउन आफ्नो भाइ अशोककुमार सेनको सहयोग लिएका थिए। अशोककुमार भारतका सात वटा प्रधानमन्त्रीअन्तर्गत मन्त्री भइसकेका व्यक्ति थिए।

भारतको अहिलेको मतदाताको संख्या निकै ठुलो छ। यसलाई यसरी बुझौं, अहिलेको राष्ट्रसंघको सुरक्षा परिषद्का सदस्यमध्ये चीनलाई छाडेर संयुक्त राज्य अमेरिका, रुस, फ्रान्स, बेलायत, जर्मनी र जापानको जनसंख्याभन्दा बढी छ। भारतमा अहिले करिब ९७ करोड जनसंख्या अर्थात् लगभग एक अर्ब जनसंख्याले मतदान गर्न पाउँछन् । यो संसारकै लागि चासोको विषय भएको छ।

भारतले यस पटक सात चरणमा निर्वाचन गर्ने छ। १०२ निर्वाचन क्षेत्रका लागि १९ अप्रिल २०२४ मा पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ। यसैगरी ८९ निर्वाचन क्षेत्रका लागि २६ अप्रिलमा, तेस्रो चरणको निर्वाचन ७ मेमा हुने छ। यसैगरी १ जुनसम्ममा निर्वाचन भइसकेको हुनेछ। ४ जुन २०२४ सम्ममा परिणाम सार्वजनिक हुनेछ।

नेहरू, गान्धी र मोदी

भारतमा अहिलेसम्म भएका १४ प्रधानमन्त्रीमध्ये साह्रै थोरैले मात्र लामो समयसम्म काम गरेका छन् । पण्डित जवाहरलाल नेहरूको कार्यकाल अहिलेसम्म सबैभन्दा लामो रहेको छ। दोस्रो लामो कार्यकाल इन्दिरा गान्धीको हो।

तेस्रो लामो कार्यकाल मनमोहन सिंहको (१० वर्ष केही दिन) थियो भने अब छिटै नरेन्द्रदास मोदी तेस्रो लामो कार्यकालका प्रधानमन्त्री बन्ने बाटोमा छन्। त्यसपछि अलिक लामो भनेको क्रमशः राजीव गान्धी र पिभी नरसिंह रावको कार्यकाल हो। अल्पायुका कारण धेरै बाँचेका छैनन्, पदमा रहँदै बितेका लालबहादुर शास्त्री यसका उदाहरण हुन्।

मूलतः हामीले भारतका तीन प्रधानमन्त्रीलाई नजिकबाट हेर्नुपर्छ– जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मोदी। तीनै जनाको व्यक्तित्वले भारतको राजनीति र विदेश नीतिमा दीर्घकालीन प्रभाव पारेको छ। पण्डित नेहरू, अटलविहारी बाजपेयी, पिभी नरसिंह राव र मनमोहन सिंह बौद्धिक प्रधानमन्त्री हुन्। राजनीतिक दृष्टिबाट हेर्दा भने अरू पनि देख्न सकिन्छ।

यहाँ प्रधानमन्त्री मोदीको चाहि के देखिएको छ भने नेहरूको विदेश नीतिलाई प्रधानमन्त्रीले कसरी विशेष भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा बढी ध्यान दिएका छन्। इन्दिरा गान्धीले लिएको नीतिलाई पनि बडो सन्तुलित ढंगले पछ्याइरहेको देखिन्छ।

सूचना प्रविधि र आविष्कारका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भनेर पिभी नरसिंह रावले लिएको नीति र राजीव गान्धीको प्रविधिप्रतिको लगावलाई पछ्याएका छन्। प्रधानमन्त्रीको कार्यालयलाई बलियो बनाउनुपर्छ भनेर इन्दिरा गान्धीलाई पछ्याएका छन्। नेहरूका पालामा प्रधानमन्त्रीको कार्यालय साह्रै सानो थियो।

विश्वनाथ प्रताप सिंहलाई पनि पछ्याएको देख्छु। बिजेपी परम्परागत रूपले बनिया ब्राह्मिण पार्टी अर्थात् राजपुतहरूको हालीमुहाली भइरहेको पार्टी हो। यो अहिले आधारभूत रूपमा ओबिसी (अदर ब्याकवार्ड क्लास) को पार्टीका रूपमा रूपान्तरण हुँदै गएको छ।

भारतका केही मानिसहरू वाजपेयीले बिजेपीलाई ‘सेक्युलराइज’ गर्न खोजेको बताउँछन्। इन्दिरा गान्धीले कांग्रेसलाई हिन्दु समर्थित पार्टीका रूपमा लिएर जान खोजेकी थिइन्। मोदीले चाहिँ पार्टीलाई ओबिसीका रूपमा परिवर्तन गरिरहेका छन्।

भारतको चुनावलाई हामीले मात्र होइन, संसारका अधिकांश मानिसले ध्यान दिएर हेरिरहेका छन्, किनभने एउटा त यो विश्वकै ठुलो अर्थतन्त्र भएको देश हो। अर्को चुनावपछि भारतले कस्तो नीति लिन्छ होला भनेर आआफ्नै किसिमले अनुमान गरिरहेका छन्। भारतमा अहिले नरेन्द्रदास मोदीलाई जति नरुचाउने मानिसहरू छन्, त्यो भन्दा बढी रुचाउने मानिसहरू छन्। उनको जुझारु व्यक्तित्वका कारणले यस्तो भइरहेको छ।

भारतको राजनीतिमा एउटा कुराले निकै ठुलो भूमिका निर्वाह गरिरहेको कुरा हामीले बिर्सनुहुँदैन । त्यो हो, यात्रा राजनीति। एकता यात्रा, सोमनाथ रथ यात्रा, राहुल गान्धीको भारत जोडो यात्रा तथा न्याय यात्रा यसका केही उदाहरण हुन्। यसले भारतीय राजनीतिमा कतिलाई फाइदा र कतिलाई घाटा भएको छ तर पनि सबैका लागि महत्त्वपूर्ण मानिन्छ।

चुनाव भइरहेका बेला ‘वान नेसन वान पोल’ भन्ने नारा पनि घन्किरहेको छ। अर्थात् चुनाव खर्चिलो मात्र होइन, धेरै समय लिइरहेको छ भन्ने हो। जहिले पनि चुनाव गरिरहनु भन्दा एउटा चुनाव किन नगर्ने भन्ने भइरहेको छ। यस पटकको निर्वाचन परिणामले पनि कतिपय कुरा निर्धारण गर्नेछ।

भारतमा ‘राम राजनीति’ले त्यतिकै ठुलो स्थान ओगटेको छ। यसलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ। एउटा हो, २२ जनवरी, २०२४ मा अयोध्यास्थित राममन्दिरमा भएको प्राणप्रतिष्ठा। यो चाख लाग्दो पाटो हो। ‘राम राजनीति’मा मोदी अब्बल देखिएका छन्।

अर्काले बिउ छर्छ, बाली बढ्छ तर फसल काट्ने बेलामा उनी अगाडि आएर भित्र्याइरहेको देख्छु। जसरी विश्वनाथ प्रतापले ल्याएको ‘मण्डल पोलिटिक्स’को फाइदा उनले उठाएका छन्।

त्यस्तै सर्वोच्च अदालतले दिएको साह बानो सम्बन्धी फैसला मुस्लिम समाजमा त्यति प्रिय नभएका कारण यो मुद्दा निर्णय उल्टाउने कानुन निर्माण गर्न कठिन भयो तर यसमा राजीव गान्धी लागिपरेर नयाँ ऐन बनाए।

मुस्लिम लेजिस्लेसन ल्याउँदा मुस्लिमपट्टि लाग्यो भन्छन् कि भन्ने डरले हिन्दुहरूलाई खुसी पार्न अयोध्यास्थित रामजन्मभूमि बाबरी मस्जिद इलाकामा धेरै वर्षदेखि लगाइएको ताला उनले खोलिदिए। यी निर्णयको परिणाम के भयो भने उनी न मुसलमान न त हिन्दु समाजमा लोकप्रिय हुन सके। त्यसको फाइदा पनि मोदीले नै उठाए। समग्रमा ‘हार्भेस्ट पोलिटिक्स’मा उनी अब्बल देखिएका छन्।

अर्को मोदीले चन्द्रयानदेखि गगनयानसम्म र आर्टिफिसियल इन्टेलिजेन्सदेखि हिन्दु शास्त्रसम्मको व्याख्यान दिन भ्याइरहेका छन्। मोदीलाई कसरी परिभाषित गर्ने? उनी बिस्तारै कम्प्लेक्स फ्याक्टरका रूपमा देखा परिरहेका छन्।

चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्रदास मोदी। तस्बिर: फेसबुक

यसो हेरौं त, आजभन्दा १० वर्षअघि गुजरातको चिफ मिनिस्टर थिए। त्यसबेला अमेरिकनहरूले भिसा दिएर पछि रद्द गरिएका मानिस हुन्। संसारमा कहीं पनि आउन दिन्न भनिएका मानिस हुन्। अब हेर्नुस्, तपाईं हामीकहाँ नआइहुँदैन भनिरहेका छन्।

 संसार नै स्वार्थमा चलिरहेको छ। कसले कति लिने कति दिनेमा भर पर्न थालेको छ। स्वार्थमा नचल्ने भए अमेरिकन र पश्चिमाहरूको लगानी त भारतमा मात्र आउनुपर्ने हो नि! किन चीनमा पनि लगानी गरिरहेका छन्? निश्चय नै नाफा कमाउन त्यहाँ पुगेका हुन्। चीनलाई ठुलो बनाउन वा सपोर्ट गर्न त लगानी गरिएको होइन। अहिले आर्थिक दृष्टिले भारत सशक्त भएर उभिइरहेको छ।

राम राजनीति

‘राम राजनीति’को अरू पाटा पनि छन्। बिजेपीको स्लोगनमा बुझ्नै पर्ने एउटा कुरा छ। त्यो हो, रिगेन (पहिले पाइरहेको सिटहरूलाई उम्किन नदिने), एटेन (नयाँ सिट जित्ने) र मेन्टेन (प्राप्त भइरहेकालाई टिकाइ राख्ने)। यो एउटा पाटो हो।

अर्को भारतको ‘राम राजनीति’ लाई विचार गरौं। बिजेपीको स्थापना रामनवमीका दिन भएको थियो, सन् १९८० मा। उनीहरूले संकल्प यात्रा पनि रामनवमीबाट सुरु गरेका छन्।

राममन्दिरको प्राणप्रतिष्ठा गर्दा मोदीले दक्षिण भारतको रामेश्वरमस्थित रामनाथपुरमबाट धार्मिक यात्रा सुरु गरेका छन्। दक्षिण भारतका लगभग ४६ हजार मन्दिरमध्ये अधिकांश मन्दिर रामसँग जोडिएका छन्। त्यहाँका ५४ वटा रेल्वे स्टेसन रामकै नामबाट राखिएका छन्। यी सबैले दक्षिण र उत्तर भारतलाई कसरी जोड्ने भन्ने एउटा रणनीतिका रूपमा बुझ्नु जरुरी हुन्छ।

बिजेपी सुरुदेखि अहिलेसम्म ‘टुडे’, ‘टुमरो’ र ‘डेआफ्टर’ पोलिसीबाट चलिरहेको देखिन्छ। आज कति गर्न सकिन्छ त्यो गर्ने, भोलि के गर्ने भनेर योजना बनाएका छन्। भोलि के गर्ने भनेर वेस्ट बंगाललाई राखेका छन्। त्यहाँ बिस्तारै नियन्त्रण गरेर आफूले दह्रोसँग गोडा टेक्ने मनसाय राखेका छन्।

डेआफ्टरमा दक्षिण भारतमा काम गर्ने भनेर तयारी गरिरहेका छन्। तमिलनाडु ३९, पुडुचेरी १, केरला २०, आन्ध्र प्रदेश २५, तेलांगाना १७, कर्णाटकामा २८ गरेर दक्षिण भारतमा जम्मा १३० वटा सिट छन्।

बिजेपीको प्रभाव कर्णाटकमा एक प्रकारले सुदृढ छ। तेलंगानामा बिस्तारै प्रयत्न गरिरहेको छ। दक्षिण भारतबाट बढीभन्दा बढी सिट जित्ने उनीहरूको लक्ष्य छ। सकिएन भने बजार बनाइराख्ने नभए पनि ‘मार्जिन’ बढाइराख्ने भन्ने नीति अँगालिएको छ।

बिजेपीले अर्को महत्त्वपूर्ण काम पनि गरिरहेको छ, त्यो हो स्थानीय नेतृत्व विकास गर्ने। बिजेपीलाई विचार गर्दा यसको वृद्धि दुई तरिकाले भएको देखिन्छ। यसलाई ‘कर्पोरेट टर्म’मा बुझ्दा सजिलो हुन्छ। ती दुईमध्ये पहिलो हो ‘ग्रिन फिल्ड ग्रोथ’ अर्थात् सकेको बढाउँदै जाने।

अर्को ‘ब्राउन फिल्ड ग्रोथ’ अर्थात् अन्य दलका मानिसलाई आफूमा समाहित गर्ने। उदाहरणका रूपमा ग्वालियरका ज्योतिरादित्य सिन्धिया (कांग्रेस), असमका हेमन्तविश्व शर्मा (कांग्रेस)लाई बिजेपीमा स्वीकार गरियो।

‘मर्जर एन्ड एक्विजिसन’ भन्ने सिद्धान्त पनि अँगालिरहेको देखिन्छ। कतिपय ठाउँमा बिजेपी चुप लागेर बसेको छ। पार्टीले उडिसामा सबै काम गरिरहेको छ तर अहिलेसम्म आफ्नो पार्टी अफिस नै बनाएको छैन। उनीहरूलाई के थाहा छ भने बिजेपी र बिजु जनता दलमा खासै फरक छैन। नवीन पटनायकको स्वास्थ्य पनि राम्रो छैन। पछि यसलाई पनि एक्वायर गरिहाल्छौं भनेर चुप लागेको देखिन्छ। आन्ध्र प्रदेशमा तेलगु देशम पार्टी पनि अन्ततोगत्वा आफूमा समाहित गर्न सोचेको दल हो।

मोदीको गुन वा बैगुन जे भन्नुहोस्, बिजेपीको स्वार्थ पूरा हुन्छ भने आफूलाई जतिसुकै बदनाम गर्ने मानिसलाई पनि एक्वायर गरेको देखिन्छ। यसको उदाहरणका रूपमा नितीशकुमार र चन्द्रबाबु नायडुलाई स्वीकार गर्नुलाई लिन सकिन्छ। यस्ता मानिसलाई स्वीकार गरिएको छ जसको पुरानो स्टेटमेन्टलाई सूक्ष्म तरिकाले केलाउँदै जाने हो भने गफसम्म पनि नगर्नुपर्ने हो।

यी विभिन्न कारकले गर्दा नरेन्द्रदास मोदीको नेतृत्वमा बिजेपी सशक्त रूपले शक्ति सम्पन्न हुँदै उदाएको छ। चुनाव जित्नेहार्ने आफ्नो ठाउँमा होला तर मोदीको प्रभाव र प्रतिद्वन्द्वीहरूको त्रुटिको फाइदा बिजेपीले उठाइरहेको छ।

अयोध्यास्थित रामललाको मूर्ति अनावरण गर्न जनवरी २२ मा आयोजित प्राणप्रतिष्ठा समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्रदास मोदी। तस्बिर स्रोत: द क्विन्ट डट कम

अर्को कारक तत्त्व आफूभन्दा धेरै कान्छा मानिसभन्दा मोदी बढी जुझारु देखिएका छन्। चाहे राहुल गान्धी भन्नुस्, चाहे ममता बेनर्जी भन्नुस्। अहिले भइरहेको चुनावमा ममता बेनर्जीलाई वेस्ट बंगालमा ‘मदर अफ अल ब्याटल्स’ भनिएको छ। यो ठाउँ महत्त्वपूर्ण भएकाले त्यसो भनिएको हो।

अर्को लडाइँ महाराष्ट्रमा छ। यहाँ ‘सिक्स वे कम्बिनेसन’ छ। त्यहाँ परीक्षण नगरिएका पार्टीहरू प्रतिस्पर्धा गरिरहेका छन्। शरद पावरको पार्टीबाट फुटेको पार्टीको प्रभाव कस्तो पर्ला? कसैले अनुमान गर्न सकिरहेको छैन। बाल ठाकरेको पार्टीबाट फुटेको पार्टीको अवस्था के होला? त्यो पनि थाहा छैन। कांग्रेस र बिजेपी त छँदैछन्। यसले कहाँ कस्तो प्रभाव सिर्जना गर्छ भन्ने अनुमान गर्न त्यहाँ मानिसलाई कठिन भइरहेको छ। यीलगायत अन्य धेरै जटिल परिस्थितिहरू त्यहाँ विद्यमान छन्।

‘वाच’ गरिनुपर्ने पात्र

चुनावमा ‘वाच’ गर्नुपर्ने मानिसहरू पनि छन्। कतिपय मानिसलाई वृद्धावस्थाले लतारिरहेका छन् । नितीशकुमार यसका उदाहरण हुन्। कतिपय स्वास्थ्यका कारण गल्दै गइरहेका छन्।  

दक्षिण भारतमा के अन्नामलाई भन्ने पात्र पनि चर्चित भएका छन् । उनलाई बिजेपीले कोइमबतुरबाट चुनाव लडाएको छ। परम्परागत दृष्टिले हेर्दा हालसम्म दक्षिण भारतमा पार्टीको कमजोर स्थितिका कारण उनी हार्ने सम्भावना प्रबल छ। त्यहाँ डिएमके र एआइए डिएमके पार्टीबीच चर्को प्रतिस्पर्धा भएका ठाउँमा अर्को पार्टीको अवस्था के होला ? यसै भन्न सकिँदैन।

अन्नामलाईको उम्मेदवारी र तामिलनाडु राज्यमा बिजेपीको अध्यक्षका नाताले उनले गरेको प्रचारबाट तामिलनाडुमा मात्र तरंग फैलाएको छैन, उनी केरला, कर्नाटक तथा उत्तर भारतमा समेत पार्टीका सशक्त प्रचारकका रूपमा उदाएका छन्।

मोदीले एउटा चलन सुरु गरेका छन्, त्यो के भने कसैलाई पार्टीले स्वीकार गरेर ल्याइसकेपछि त्यसले चुनाव हारे पनि मन्त्री बनाएर राख्ने। उदाहरणका रूपमा स्मृति इरानीलाई लिन सकिन्छ । पहिलो चुनावमा उठाए, हारिन्। राहुल गान्धीसँग लडाइएको थियो। तिमीले जित्नुपर्छ, तिमी बस भनेर मन्त्रीमा निरन्तरता दिए।

त्यसैगरी पहिलो चुनावमै हार्ने अर्का पात्र हुन्, अरूण जेटली। जेटलीलाई मन्त्रीमा निरन्तरता दिए। त्यस्तै सुषमा स्वराजले मोदीलाई कुनै पनि हालतमा प्रधानमन्त्रीको उम्मेदवार बनाउनुहुँदैन भनेकी थिइन्। मोदीले पहिलो चुनावमै तिनै स्वराजलाई ल्याएर परराष्ट्रमन्त्री बनाए। त्यसपछि जेटली र स्वराज दुवैले स्वास्थ्यका कारण निर्वाचन लडेनन्।

मोदीले औपचारिकताका लागि आफ्नो दोस्रो कार्यकालमा समेत स्वराजलाई जसरी पनि मन्त्रीमण्डलमा बस्नुपर्छ भने। जेटलीको चाहिँ घरमै गएर मन्त्री मण्डलमा बस्न अनुरोध गरे। धेरै छिमेकी देशमा पाएको किन छाड्ने भन्थे होलान् तर उनीहरू दुवैले मन्त्री पद स्वीकार गर्न मानेनन्।

अर्को वाच गर्नुपर्ने मानिस कर्णाटकका तेजस्वी सूर्या पनि हुन्। उनी भर्खर ३३÷३४ वर्षका मात्र भएका छन्। उनलाई धेरैले वाच गरिरहेका छन्।

वाच गरिनुपर्ने अर्का मानिस तेलंगाना राज्यका रेवन्त रेड्डी (कांग्रेस) पनि हुन्। उनी तेलगु देशमबाट कांग्रेसमा आएका हुन्। उनको पृष्ठभूमि अखिल भारती विद्यार्थी परिषद् हो। भारतको बिजेपीका सबै नेता यही परिषद्बाट आएका हुन्।

ममता बेनर्जीलाई पनि यसैगरी सूक्ष्मतापूर्वक हेर्नुपर्ने हुन्छ। न्यायिक हिरासतमा रहेका अरबिन्द केजरीवाल पनि छन्। विपक्षी नेताहरूमा कसैले रुचाए पनि नरुचाए पनि राहुल गान्धी मुख्य पात्र नै हुन्। प्रियंका गान्धीलाई पनि परीक्षण गर्ने सम्भावना छ। रायबरेली वा अमेठीबाट यी दुवै वा कुनै एकले चुनावमा उम्मेदरवारका रूपमा सहभागिता जनाउने सम्भावना छ।

नवीन पटनायकको स्वास्थ्यले कति साथ दिन्छ, त्यो विचारणीय छ। चन्द्रबाबु नायडु सशक्त भएर देखापरेका छन्। आन्ध्र प्रदेशका वाइएस जगनमोहन रेड्डी त्यत्तिकै सशक्त भएर चुनावमा होमिएका छन्। शशी थरुरविरुद्ध उभिएका राजीवचन्द्र शेखर पनि हुन्। यिनले चुनाव हारे पनि मन्त्रीमा निरन्तरता पाउने सम्भावना छ, बिजेपी आयो भने।

 बिर्सनै नहुने अर्का पात्र हुन्, योगी आदित्यनाथ। अहिले योगी आदित्यनाथ मात्र यस्ता मुख्यमन्त्री हुन्, जसलाई बिजेपीले सितिमिति परिवर्तन गर्न सक्दैन । मुख्यमन्त्री पदबाट शिवराजसिंह चौहान हट्छन् भनेर कसैले सोचेकै थिएन तर उनी हटे।

त्यस्तै वसुन्धरा राजेलाई मुख्यमन्त्री बनाउँदैनन् भन्ने पनि धेरैलाई लागेको थिएन। योगी आदित्यनाथको अवस्था त्यस्तो छैन। उनी सशक्त र जुझारु भएर अगाडि आएका छन्। त्यस्तै तामिलनाडुका मुख्यमन्त्री एमके स्टालिन र उनका छोरा सँगसँगै छन्।

यसपटकको चुनवमा उनीहरूको पर्फमेन्स कस्तो हुन्छ, विचार गर्नुपर्ने विषय बनेको छ। अमित साह हालका गृहमन्त्रीलाई हेरौं। भारतको इतिहासमा आजसम्ममा प्रधानमन्त्री र गृहमन्त्री यसरी मिलेर बसेको कहिल्यै छैन।

म्याडलिन अतब्राइटले ठट्यौलो शैलीमा भनेकी छन्, ‘अमेरिकामा दुईवटा पद छन्– सेक्रेटरी अफ स्टेट र नेसनल सेक्युरिटी एडभाइजर। ती कहिले पनि मिल्दा रहेनछन्। एक पटक कसो कसो धुमधाम मिलेछन्। त्यो कहिले भने एक पटक दुवै पद एकै जनालाई दिइएछ। ती व्यक्ति थिए, हेनरी ए किसिन्जर।’

भारतीय इतिहासमा प्रधानमन्त्री र गृहमन्त्रीको समन्वय भएको इतिहासमै पहिलो पटक हो। त्यहाँका धेरैजसो गृहमन्त्री सुषुप्त अवस्थामा रहन्थे, जसको केही भूमिका नै हुँदैनथ्यो। यसरी पनि बुझ्न सकिन्छ, धेरैजसो प्रधानमन्त्रीले डोमिनेट गरेका हुन्थे वा विवाद देखिन्थ्यो।

मोदीले राज्यसभामा ल्याएका मानिस प्रायः सबैलाई चुनावबाट जितेर आऊ भनेर जनमत लिन पठाइदिने गरेका छन्। मेजर पोर्टफोलियोमा रहेका चार जना अपवाद देखिन्छन्। ती हुन्– निर्मला सिथारमण (वित्तमन्त्री), सुब्रमन्यम जयशंकर (परराष्ट्रमन्त्री), अश्विनी वैष्णव (रेल्वेमन्त्री), हरदीपसिंह पुरी (नागरिक उड्डयनमन्त्री)।

बेलायती लेखक मार्क टलीले ‘अमृतसर: मिसेज गान्धी’ज लास्ट ब्याटल’ लेखेका छन्। अमृतसरमा जहिले पनि कठिन हुँदो रहेछ। अरूण जेटलीले पनि त्यहाँबाट पहिलो पटक हारेका थिए। दोस्रो पटक हरदीपीसिंह पुरी हारेका छन्।

यसपटक अमृत सरबाट अमेरिकामा राजदूत भएर फर्किएका तरनजितसिंह सन्धुलाई उठाइएको छ। उनी तेजासिंह समुद्रीका नाति हुन्। अमृतसरको स्वर्णमन्दिर इलाकामा शिख धर्मका १० गुरुमध्ये १० जनाका नाममा हलहरू बनाइएका छन्। यी गुरुबाहेक कसैको नाममा त्यस्तो हल छ भने त्यो तेजासिंह समुद्रीको मात्र हो।  

समग्रमा चुनाव परिणाम आफ्नो पक्षमा ल्याउन विशेष वर्ग र क्षेत्रका मानिस खोजी खोजी ल्याउन (ट्यालेन्ट स्पट) गर्ने कुरामा मोदी अब्बल देखिएका छन्। कंगना रनौतलाई ल्याउने हो कि रवि किसनलाई ल्याउने उनले राम्ररी बुझेका छन्। हेमा मालिनीलाई ल्याएको कुरा पुरानो भइसक्यो। कसलाई कहाँबाट चुनावमा उठाउने भनेर मोदीले जति सायदै कसैले बुझेका छन्।

साम पित्रौदाका बारेमा अहिले सञ्चार माध्यमले प्राथमिकतासाथ छापिरहेका छन्। उनी राजीव गान्धीका पालामा मुख्य सल्लाहकार भएर बसेका थिए। उनले ‘इन्हेरिटेस्ट ट्याक्स’ ५५ प्रतिशत लगाउनुपर्छ भनिदिएका छन्। यसले भारतमा अहिले यो चुनावका बेलामा निकै ठुलो विवाद सिर्जना गरेको छ।  

यी सबै मानिस नजिकबाट नियाल्नुपर्ने मानिसहरू हुन्। यिनै व्यक्ति र परिवेशले भारतको निर्वाचनमा गहिरो प्रभाव राख्छन्। नेपाललाई पर्ने प्रभाव पनि सोहीअनुसार निर्धारण हुनु स्वाभाविक छ।

-नेपालको कूटनीति सेवामा झन्डै चार दशक बिताएका डा. मदनकुमार भट्टराई पूर्व परराष्ट्र सचिव हुन्। जर्मनी र जापानका लागि नेपालका राजदूतसमेत रहिसकेका उनले केही दिनअघि पञ्चकुमारी श्रद्धा प्रतिष्ठानको सभाकक्षमा भारतमा भइरहेको निर्वाचनबारे दिएको प्रवचनको सारसंक्षेप।

प्रस्तुतिः ठमनाथ घिमिरे

प्रकाशित: २९ वैशाख २०८१ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App