२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः सामान नहुँदा हर्डल्सको छनोट इभेण्ट हुनै सकेन

नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता चलिरहँदा एथलेटिक्सका ६ वटा इभेण्टको भने प्रतिस्पर्धा भएन्। आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ।  

आवश्यक सामानको अभाव नहुँदा एथलेटिक्सको हर्डल्सतर्फको प्रतिस्पर्धा हुनै नसकेको कास्की जिल्ला एथलेटिक्स संघले स्वीकारेको छ। एथलेटिक्सको प्रदेशस्तरीय छनोट प्रतिस्पर्धाको इभेण्ट पोखरा रंगशालास्थित ट्रयाक एण्ड फिल्डमा आयोजना गरिएको छ। हर्डल्ससँगै म्याराथन समेत छनोट प्रतिस्पर्धा आयोजना गर्न नसकिएको नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य गजबहादुर गुरुङले बताए।  

‘हर्डल्सको लागि हामीसँग (एथलेटिक्स संघ, कास्की) सामान नै छैन। सामानको लागि गण्डकी खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्लाई समेत आवश्यक सामानको विवरणसहित परिपत्र गरेका थियौँ,’ केन्द्रीय सदस्य एवं एथलेटिक्सका प्राविधिक समेत रहेका गुरुङले भने, ‘सामान केही पनि आएन। भएका सामान जोड-जाड पारी एथलेटिक्सका इभेण्टलाई व्यवस्थापन गर्‍याैँ।’ सटफुट, डिसकस थ्रो, ज्याभलिन थ्रो लगायतका इभेण्टहरुलाई व्यवस्थापन गरिएको संघले जनाएको छ।  

राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने उद्देश्यसहित आएका खेलाडीहरु भने निराश बनेको एथलेटिक्स संघका प्राविधिकले स्वीकारेका छन्। महिला तर्फ १०० मिटर, पुरुष तर्फै ११० मिटर हर्डल्सको इभेण्टमा छनोट प्रतिस्पर्धा नै नभएको उनको भनाइ थियो। उनका अनुसार महिला  र पुरुष ४ सय मिटर हर्डल्सको इभेण्ट समेत हुनै सकेन।  

केन्द्रीय सदस्य गुरुङले ३ हजार मिटर स्टेपल चेस भने भएका हर्डल्सलाई जोडजाड पारेर खेलाइएको यथार्थता सुनाए। ‘जेनतेन गरेर स्टेपल चेस खेलाइयो,’ उनको भनाई थियो। म्याराथनको इभेण्ट समेत प्रदेशस्तरीय छनोट आयोजना गरिएन। म्याराथनका खेलाडीलाई हाफ म्याराथनमा प्रतिस्पर्धा गराइ छनोट गरिने प्रचलन छ। एक पटक म्याराथन दौडिएको खेलाडीले तीन महिना आराम गर्नुपर्ने प्राविधिक बताउँछन्। तीन महिना आराम गर्नुपर्ने भएकोले म्याराथनमा सहभागी खेलाडीलाई हाफ म्याराथनको इभेण्ट गरेर प्रदेशस्तरीय छनोट गरिँदै आएको छ।

‘म्याराथनको छनोट प्रतिस्पर्धा भएन,’ उनले भने, ‘पोहोरसाल खेलेका खेलाडीहरुलाई बोलाएर प्रशिक्षण सुरु गरिने छ।’ अप्ठ्यारो परिस्थितिले ती इभेण्टलाई छोड्नुपरेको गुनासो उनका थियो। उनका भनाइ अनुसार म्याराथनमा सहभागी हुने इच्छुक खेलाडीलाई पछि सेलेक्सन गरेर प्रशिक्षणमा राख्न सकिन्छ। ‘जे छ त्यही सामान खोजेर काम गर्‍याैँ,’ उनले भने–‘राष्ट्रिय गेममा केही हुन्छ कि भन्ने आशा छ।’  

एथलेटिक्सका सामान तुरुन्तै ल्याउन सकिने अवस्था नभएको समेत उनले बताए। सामान ल्याउन कठिनाइ थियो, ‘सामान धेरै खाँचो छ। खास गरी संघसँग कुनैपनि सामान छैन,’ उनले भने–‘एकैपटक सामान ल्याउन पनि कठिन छ। त्यसले गर्दा पनि प्रदेशस्तरीय छनोटमा सामान आउन ढिलाइ भएको हो।’ हाइजम्पको समेत म्याट नहुँदा खेलाडी घाइते भएको उनले बताए। आवश्यक सामान हुँदा एथलेटिक्सका खेलाडी मर्कामा परेका छन। ‘आवश्यक सामानको विवरण पठाइसकिएको छ। राष्ट्रिय प्रतियोगितामा आइपुग्ला भन्ने आशा छ,’ उनको  भनाइ थियो।  

प्रकाशित: १८ भाद्र २०७९ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App