१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘मैदानबाहिरको विवादले बंगलादेश हारेको होइन’

श्रीलंकासँग रोमाञ्चक प्रतिस्पर्धाका बावजुद हारपश्चात् एसिया कपबाट बाहिरिएपछि बंगलादेशी कप्तान सकिब अल हसनले आफ्ना भावनाहरू नियन्त्रणमा राख्न बंगलादेशलाई सचेत गराएका छन्।

दुबईमा ‘गर या मर’ को अवस्थामा बिहीबार श्रीलंकाले चार बल बाँकी छँदा दुई विकेटको जित निकाल्दै एसिया कपको अन्तिम चारमा स्थान बनाएपछि बंगलादेश समूहचरणबाटै बाहिरियो। प्रतिस्पर्धाअगाडि यी दुई देशबीच सञ्चारमाध्यममा वादविवाद चलेको थियो।

श्रीलंकाका कप्तान दसुन सनकाले त पत्रकार सम्मेलनमा नै सकिब अल हसन र मुस्ताफिजुर रहमानबाहेक बंगलादेशसँग विश्वस्तरीय बलको कमी रहेको प्रतिक्रिया दिएका थिए। त्यसको जबाफमा बंगलादेश टोलीका डाइरेक्टर खलिद महमुदले आफ्नो देशमा दुई जना मात्र रहे पनि श्रीलंकामा त एक जना पनि विश्वस्तरीय बलर आफूले नदेखेको प्रतिक्रिया दिए।

सामाजिक सञ्जालमा भनाभन चल्दा शृंखलामा श्रीलंकाका पूर्वकप्तान माहेला जयवर्दने पनि सामेल भए। उनले अब आफ्नो देशका ब्याट्सम्यान र बलरले मैदानमा नै आफ्नो क्लास देखाउने भन्दै ट्विट गरे। यसबीच सकिबले हारको कारण मैदानबाहिरको विवाद रहेको भनाइ अस्वीकार गरेका छन्। उल्टै उनले आफ्नो टोलीले शिर उचो गरेर खेल्न आवश्यकता रहेको औंल्याए। ‘हामी धेरै भावनात्मक भयौं। हामीले सुधार गर्नुपर्ने क्षेत्र अर्को हो,’ सकिबले भने, ‘हामीले आफ्ना भावनाहरू एकछेउमा राख्नुपर्छ। जुन तवरले खेल्नुपर्ने हो, त्यो खेल्न आवश्यक छ। त्यसमाथि पनि हाम्रा मनभन्दा मनोबल उच्च राख्नुपर्छ र भावनामा बग्नु हुँदैन।’

आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकप अगाडि जितले श्रीलंकाका लागि विशेष महत्त्व पनि राख्दछ। श्रीलंकाका ब्याट्सम्यान भानुका राजापाक्षले भने विवादमा मध्यस्थ गर्दै सनकाको भनाइको आशय अर्कै रहेको स्पष्ट पार्न खोजे।

‘कप्तानले जुन अभिव्यक्ति दिए, त्यसको अर्थ गलत थिएन,’ राजापाक्षले भने, ‘जब खतरनाक अफगानी बलरसँग तुलना गर्दा बंगलादेशविरुद्ध केही सहज हुन्छ भन्न खोजिएको हो।’ भारत र पाकिस्तानको जस्तै प्रतिद्वन्द्विता श्रीलंका र बंगलादेशबीच पनि रहेको भन्दै राजापाक्षले आफूहरू मैदानबाहिर पनि राम्रो साथी भएको प्रतिक्रिया दिए।

‘केही शब्दले खेलाडी र कर्मचारीको चित्त दुख्यो होला। तर, कप्तानले जे भन्ने खोजेका हुन्, त्यो सञ्चार माध्यममा आयो जस्तो चाहिँ होइन,’ राजापाक्षले स्पष्ट पार्न खोजे। बंगलादेशले १८३/७ को योगफल तयार पारे पनि उसका बलरले भने त्यसको रक्षा गर्न सकेनन्। अन्तिम दुई ओभरमा श्रीलंकाका तल्लो क्रमका ब्याट्सम्यानले २५ रन बनाउन आवश्यक थियो। यस्तो अवस्थामा बंगलादेशी बलरले केही वाइड र नो बलसहित अतिरिक्त रन सुम्पिन पुगे। बंगलादेश र श्रीलंका दुवैले आफ्ना पहिलो खेल अफगानिस्तालाई सुम्पिएका थिए, जहाँ अफगानिस्तान समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो।

अफगानिस्तानसँग आठ विकेटले स्तब्ध भएपछि आफ्नो टोलीका लागि लज्जापूर्ण अवस्था सिर्जना भएको राजापाक्षले खुलासा गरे। यद्यपि, आफ्नो टोलीले आगामी चरणको खेलमा राम्रो गर्ने उनको विश्वास छ। ‘अफगानिस्तानविरुद्ध खेलेका ११ जना खेलाडी लागि यो नतिजा लज्जापूर्ण हो। हामी एक सय ५ रनमा नै समेटिन्छौं भन्ने सोचेका पनि थिएनौं,’ राजापाक्षले भने, ‘ट्वान्टी–२० अफगानिस्तान राम्रो टोली नै हो। तर, त्यो हारपछि हामी केही दिन शान्त बस्नुपर्ने अवस्था नै रह्यो। त्यो अवस्थाबाट कसरी फर्कने हामीले जानेका थियौं र सोहीअनुरूप जित पनि निकाल्यौं।’

प्रकाशित: १८ भाद्र २०७९ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App