२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

अफगानिस्तानको निसानामा अझ ठूला टोली

एसिया कप क्रिकेटको यस संस्करणमा अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेसँगै अफगानिस्तानका कप्तान मोहम्मद नाबीले अब ठूलो विपक्षीलाई पनि स्तब्ध बनाउन आफ्नो टोली तयार रहेको बताएका छन्।

समूह चरणमा बंगलादेश र श्रीलंकालाई स्तब्ध बनाउँदै अफगानिस्तान विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ। ‘अफगानिस्तानसँग क्षमतावान् ब्याट्सम्यान, बलर र फिल्डर छन् भन्ने एसिया कपमा प्रमाणित गरेका छौं,’ बंगलादेशलाई मंगलबार सात विकेटले स्तब्ध बनाएपछि अफगानिस्तान अलराउन्डर नाबीले भने, ‘दुवै खेलमा हामीले लक्ष्य भेट्टाएका हौं। अफगानिस्तान लक्ष्य पूरा गर्न सक्दैन भन्ने विपक्षीहरूको भनाइ थियो। तर, हामी पनि सहज लक्ष्य पूरा गर्न सक्छौं भन्ने देखायौं।’

३७ वर्षे नाबीले दबाबरहित र सन्तुलित रहेर अफगानिस्तानले पनि लक्ष्य पूरा गर्न सक्छ भन्ने प्रमाणित गरिसकेको धारणा राखे। ‘दुवै खेलमा हामी दबाबमा थिएनौं। हामीले सन्तुलित प्रदर्शन पनि गर्‍यौं। आशामा ठूला टोली विरुद्धको आगामी खेलमा पनि सोही प्रदर्शन गर्न सफल हुन्छौं,’ उनले भने। बगंलादेशमाथि सारजाहमा विजयपश्चात् अफगानिस्तान ६ टोली सम्मिलित ट्वान्टी-२० एसिया कपको दोस्रो चरणमा प्रवेश गरेको छ। नाजिबउल्लाह जादरानले १७ बलमा अविजित ४३ रन बनाए। यस क्रममा उनको इनिङमा ६ छक्का थियो।

इब्राहिम जादरान (४२ रन) को पनि साथ पााएपछि अफगानिस्तानले ९ बल बाँकी छँदा नै एक सय २८ रन पूरा गर्‍यो। क्षमतावान् स्पिनरद्वय मुजिब रहमान र रासिद खानले समान तीन विकेट लिएपछि अफगानिस्तानले बंगलादेशको ब्याटिङ धराशयी बनायो। अफगानिस्तानको उक्त प्रदर्शनपश्चात् आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा पनि बलियो प्रदर्शन गर्ने पक्का छ। श्रीलंकासँग ३/११ को प्रदर्शन गरेका फजलहक फारुकीले दोस्रो खेलमा भने प्रभाव जमाउन सकेनन्। अफगानिस्तानका कप्तान नाबीले सुपर फोरमा पुग्न जे आवश्यक थियो, त्यो प्रदर्शन आफ्नो टोलीले गरेको स्पष्ट पारे।

अफगानिस्तानले अन्तिम चारमा बलिया टोली भारत या पाकिस्तानसँग खेल्ने पक्का छ। ‘हामीले एक कुनैलाई मात्र लक्षित गरेका छैनौं। हामी एक पूर्ण क्रिकेट खेल्ने प्रयासमा छौं। सन् २०१७ मा टेस्ट मान्यता पाएको अफगानिस्तान सबै खाले ठूलो प्रतियोगिता खेल्न सफल भइसकेको छ। घुमन्ते क्रिकेट टोलीका रूपमा संघर्ष गरेको अफगानिस्तानका धेरै जसो खेलाडीको निर्वासनमा जन्म भयो। अफगानिस्तानको क्रिकेट पनि सारजाह, दुबई र आबुधाबीका सहरबारे राम्रै जानकार छ। किनकि देशमा युद्ध चल्दा अफगानिस्तानले यहीं अभ्यास गर्ने गर्थ्यो।

‘पछिल्ला १५ वर्ष हामीले धेरै जसो दुबई, सारजाह र आबुधाबीमा नै खेलेका छौं। त्यसैले त्यहाँका अवस्थाबारे हामी जति कोही जानकार छैन,’ नाबीले भने, ‘कहिलेकाहीं सारजाहमा न्यून लक्ष्य पनि पूरा गर्न कठिन हुन्छ। त्यसैले हाम्रा ब्याट्सम्यान समालिएर खेले र छिट्टै विकेट गुमाउनबाट सजग रहे। अन्तमा मात्र बलरमाथि हाबी भयौं र जित पनि प्राप्त भयो,’ नाबीले विजययात्रा सुनाए। रासिद खान, नाबी र मुजिब रहमानले इन्डियन प्रिमियर लिग (आइपिएल) का साथै विश्वका चर्चित लिग खेलेकाले उनीहरूको क्षमता तिखारिएको छ।

२१ वर्षे मुजिबले पहिलो ६ ओभरमा उत्कृष्ट बलिङ गर्ने गरेको भन्दै नाबीले उनको प्रशंसा गरे। मुजिबले बंगलादेशविरुद्ध ३/९ को प्रदर्शन गरे। ‘उनी अद्भुत किसिमका बलर हुन्। विश्वका उत्कृष्ट लिगमा बलिङ गरेको उनीसँग अनुभव छ। उनको स्पिनमा जादु छ,’ नाबीले मुजिबको प्रशंसा गरे। इङ्ल्यान्डका पूर्व ब्याट्सम्यान जोनाथन ट्रोट अफगानिस्तानका प्रशिक्षक हुन्। बलिङ प्रशिक्षकमा भने पाकिस्तानका तीव्र गतिका पूर्वबलर उमर गुल छन्। अहिले अफगानिस्तानको प्रशिक्षण टोलीले पनि विश्व क्रिकेटबाट नै प्रंशसा बटुलेको छ।

भारतको तीव्र गतिका पूर्वबलर इर्फान पठानले अफगानिस्तानले गुणस्तरीय क्रिकेट खेलेको भन्दै  ट्विट गरेका छन्। ‘उनीहरू अगाडि बढिरहेका छन्। पाकिस्तान र भारत पनि अफगानिस्तानसँग सजग हुनुपर्छ,’ भारतका पूर्वब्याट्सम्यान अजय जडेजाले भने, ‘यही टोलीले सेमिफाइनलमा खेल्दा कोही पनि अचम्मित हुनुपर्दैन। किनकि यो टोलीले अप्रत्याशित नतिजा निकाल्न सक्छ। अफगानिस्तानले ठूला टोलीलाई निरास पार्न सक्छ, किनकि उनीहरू उत्कृष्ट क्षमताहरू छन्।’  

प्रकाशित: १६ भाद्र २०७९ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App