६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अफ्रिकन-अमेरिकनका प्रेरणा स्रोत सेरेना र भेनस

दिदीबहिनी भेनस (बायाँ) र सेरेना। तस्बिर: एएफपी

सेरेना विलियम्सले अबको केही सातामै टेनिस र्‍याकेट बिसाउँदै छिन्। तर विश्व टेनिस जगत्मा सेरेनाले अफ्रिकन-अमेरिकन खेलाडीका लागि निर्माण गरिदिएको विरासत भने लामो समयसम्म कायम रहनेछ। कोको गौफको आगमनले पनि विलियम्सले अफ्रिकन-अमेरिकन खेलाडीलाई लागि बसाइदिएको जगलाई प्रमाणित गर्छ।

सोमबारबाट यस वर्षको युएस ओपन सुरु हुँदै छ। २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेनाले प्रतियोगिताको कुनै पनि क्षण खेलजीवनबाट बिदाइको घोषणा गर्न सक्छिन्। उनी टेनिस खेलबाट अलग भए पनि उनले यस खेलमा बनाएको कीर्तिमान भने रहिरहनेछ।

सेरेनासँगै उनकी दिदी भेनस विलियम्स धेरै खेलाडीका लागि प्रेरणाका स्रोत बनेका छन्। उनीहरूको प्रभावशाली उपस्थितिले विश्व टेनिसमा अफ्रिकन-अमेरिकन खेलाडीलाई हेर्ने नजर नै परिवर्तन गरिदिएको छ। ‘सेरेना विलियम्स टेनिसमा मात्र नभई विश्व खेलकुदकै लागि प्रेरणाकी स्रोत हुन्,’ पुरुषतर्फ कीर्तिमानी २२ औ ग्रान्ड स्लाम विजेता राफाइल नाडालले भने।

युएस ओपनमा पुरुषतर्फका साविक विजेता ड्यानिल मेडभेडेभ भन्छन्, ‘सयौं वर्षपछि पनि विश्व खेलकुदमा सेरनाकै चर्चा हुनेछ।’ अमेरिकी टेनिसका महासचिव मार्टिन ब्याकम्यान पनि सेरेना र भेनसले विश्व टेनिसमा बसाएको विरासत लामो समयसम्म कायम रहने बताउँछन्।

‘सेरेना र भेनस सम्पन्न परिवारका सदस्य होइनन्। उनीहरूसँग यस खेलको प्रशिक्षणका लागि धेरै स्रोतको उपलब्धता थिएन,’ ब्याकम्यानले भने, ‘उनीहरू कठिन परिस्थितिबाट अघि बढ्दै विश्व टेनिसमा मात्र नभई खेलकुदमै प्रेरणाको स्रोत बन्न सफल भए।’

‘म पनि अफ्रिकन-अमेरिकन समुदायको प्रतिनिधित्व गर्छु। जब सेरेना र भेनसको विश्व टेनिसमा उदय भयो, यसले अफ्रिकन-अमेरिकन खेलाडीलाई हेर्ने नजर बदलिदियो,’ ब्याकम्यान थप्छन्, ‘उनीहरू कोर्टमा उत्रँदा रंगभेदी दुर्व्यवहारमामा परिन्छ भन्ने चिन्तामा थिएनन्। उनीहरू सधैं उच्च मनोबलका साथ कोर्ट उत्रन्थे। जसका कारण उनीहरू यस खेलमा छुट्टै विरासत बसाल्न सफल भए।’

ब्याकम्यान विलिम्यस दिदीबहिनीकै कारण अहिले विश्व टेनिसमा अफ्रिकन–अमेरिकन महिला खेलाडीको आगमन बढेको बताउँछन्। डब्लुटिए टुरमा पनि अफ्रिकन–अमेरिकन खेलाडीको बाक्लो उपस्थिति रहेको छ।

पछिल्लो पाँच वर्षमा गौफसहित स्लोआनी स्टेफिन्स र म्याडिसन किज गरी अन्य तीन अफ्रिकन–अमेरिकन खेलाडीले पनि ग्रान्ड स्लामको फाइनलमा प्रतिस्पर्धा गरिसकेका छन्। त्यस्तै जापानकी माओमी ओसाकाले चार पटक ग्रान्ड स्लाम जितिसकेकी छिन्।

‘अफ्रिकन-अमेरिकन खेलाडीका लागि सेरेना प्रेरणाकी स्रोत हुन्,’ ओसाकाले भनिन्, ‘उनीहरूकै कारण म टेनिस खेलमा लागेकी हुँ। विलिम्यस दिदीबहिनी नभइदिएको भए सायद म टेनिस खेलमा हुन्नथें होला।’ १८ वर्षीया गौफले यस वर्ष फ्रेन्च ओपनको फाइनलसम्मको यात्रा तय गरेकी थिइन्। गौफले पनि सेरेनालाई नै प्रेरणाको स्रोत बताउँदै आएकी छिन्।

‘सेरेनाभन्दा अघि मैले कसैलाई पनि मेरो आइकनको रूपमा लिएको थिइनँ,’ गौफले भनिन्, ‘मेरा लागि मात्र नभएर उनी सबैका लागि सर्वकालीन श्रेष्ठ खेलाडी समेत हुन्। उनले कुनै एक समय मात्र नभई झन्डै तीन दशक विश्व टेसिनमा राज गरिन्। २३ ग्रान्ड स्लाम त्यसको उदाहरण हो।’

प्रकाशित: १३ भाद्र २०७९ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App