२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

‘श्रीलंकाविरुद्धको नतिजा अप्रत्याशित होइन’

अफगानिस्तानका पूर्वकप्तान मोहम्मद नाबीले एसिया कपको उद्घाटन खेलमा श्रीलंकामाथि आठ विकेटको सफलता निकालेपछि आफ्नो टोलीको जित विपक्षीका लागि स्तब्धपूर्ण नरहेको प्रतिक्रिया दिएका छन्।

तीव्र गतिका बलर फजलहक फारुकीको उत्कृष्ट बलिङ प्रेरणामा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) मा श्रीलंकालाई १ सय ५ रनमै समेट्यो। उक्त झीनो योगफल अफगानिस्तानले १०.१ ओभरमा नै पूरा गर्‍यो। अफगानिस्तानका लागि हजरतउल्लाह जजाई अविजित ३७ रनमा रहँदा विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुरुबाजले १८ बलमा ४० रन हिर्काए। यो जोडीले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जितउन्मुख गराएको थियो। अफगानिस्तानको समूह ‘बी’ मा श्रीलंकासँगै बंगलादेश छ।

तर, अफगाानिस्तानले ६ टोली सम्मिलित एसिया कपमा सानदार सुरुआत गर्दै आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप यादगार रहने संकेत गरेको छ। ‘विपक्षीका लागि यो स्तब्धपूर्ण नतिजा होइन। हामीले यस प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं,’ अफगानिस्तानले अप्रत्याशित जित निकालेको भन्ने प्रश्न गर्दा नाबीले भने, ‘हामी दुबई चाँडै आएका थियौं र धेरै कडा मिहिनेत पनि गर्‍यौं। त्यो मिहिनेतअनुकूल नतिजा आएको हो।’ सन् २०१७ मा टेस्ट मान्यता पाएको एक वर्षपश्चात् नै अफगानिस्तानले भारतसँग पाँचदिवसीय क्रिकेट खेलेको थियो।

‘हामी यहाँ एक टेस्ट राष्ट्रका रूपमा खेल्न आएका हौं। यहाँ सहभागी भएर घर फर्कन मात्र हामी आएका होइनौं। हामी पिचमा कडा चुनौती दिनेछौं,’ नाबीले भने, ‘अफगानिस्तान अर्को चरणमा प्रवेश गर्ने लक्ष्यमा छ र त्यसैले विपक्षीका लागि हरेक चुनौती सिर्जना गर्छौं।’ अफगानिस्तानको जितमा फारुकीले ३/११ को यादगार प्रदर्शन गरे।

ब्याटिङतर्फ पनि गुरबाजले आक्रामक खेल्दै श्रीलंकाका बलरमाथि दबाब बनाए। नाबीले दुवैको ब्याटिङ र बलिङ उत्कृष्ट रहेको प्रतिक्रिया दिए।

फारुकीले पहिलो ओभरमा नै कुशल मेन्डिस र चरिथ असलेन्कालाई क्रमशः २ र शून्य रनमा पवेलियन फर्काउँदै अफगानिस्तानलाई राम्रो सुरुआत दिलाए। त्यसपछि नभिन उल हकले पथुन निशान्कालाई विकेटकिपर गुरबाजबाट क्याच गराए।

रिभ्युमार्फत पथुन आउट भएको निर्णय भए पनि अल्ट्राएजमा त्यो स्पष्ट देखिएको थिएन। श्रीलंकाका कप्तान दसुन सनाकाले पथुन नटआउट रहेको जिकिर गरे। पहिलो दुई ओभरमा पाँच रन मात्र जोड्दा श्रीलंका तीन विकेट गुमिसकेको अवस्थामा थियो।

त्यो समय विवादास्पद निर्णय भएको भन्दै श्रीलंकन खेलाडीले प्रविधिको प्रयोग सही नभएको आरोप लगाए। धनुस्का गुनथिलका र भानुका राजपक्षेले छैटौं ओभरमै २० रन बटुल्दै श्रीलंकामाथिको दबाब हटाउने प्रयास गरे। यद्यपि,आठौं ओभरमा स्पिनर मुजिब उर रहमानले धनुस्कालाई क्याच गराए र ४४ रनको साझेदारीको अन्त्य गरे। १३औं ओभरमा श्रीलंकाले राजापाक्षसहित दुई रनआउट सामना गर्नुपर्‍यो। चमिका करुनारत्नेले ३१ रन जोड्दै श्रीलंकालाई सय रनको आँकडा पार गराए।

उनी पनि फारुकीकै बलमा क्याच आउट हुन पुगे। यता ब्याटिङमा अफगानिस्तानका गुरबाजले १८ बलमा तीन चौका र चार छक्का हिर्काउँदै राम्रो सुरुआत गराए। यद्यपि, उनी लेग स्पिनर वानिदु हसरंगाद्वारा बोल्ड हुन पुगे। त्यसपछि ब्याटिङ गर्न आएका जजाईले पनि अट्याकिङ शैली जारी राखे र जित दिलाए। त्यो नतिजासँगै श्रीलंकन समर्थक मौन रहँदा अफगानीहरूले खुसी मनाए।

प्रकाशित: १३ भाद्र २०७९ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App