२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अनिश्चित भविष्यले महिला खेलाडी निराश

फिफा निलम्बनको असर

फिफा प्रतिबन्धका कारण महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाएपछि भारतीय महिला फुटबलर आफ्ना भविष्य र अनिश्चिततालाई लिएर निकै निराश भएका छन्।

फुटबलको प्रशासकीय निकाय विश्व फुटबल महासंघ (फिफा) ले गत हप्ता मात्र भारतीय फुटबल फेडेरेसनलाई निलम्बन गरेपछि भारतीय महिला फुटबलरलाई निकै धक्का लाग्न पुग्यो। सरकार र न्यायालयले भारतीय फुटबलबारे निर्णय गर्न थालेपछि फिफाले बाह्य पक्षको हस्तक्षेप भएको भन्दै भारतलाई निलम्बन गरेको हो।

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) सुशासनको समस्याबाट ग्रसित छ र जुन समस्या अदालतसम्म पुगेपछि फिफाले सचेत गराएको थियो। यद्यपि, एआइएफएफले त्यसप्रति चासो नदिँदा निलम्बन सामना गर्नुपर्‍यो। यसैका कारण दक्षिण एसियाली फुटबलकै उत्कृष्ट टोली अहिले संकटमा परेको छ।

निलम्बनले भारतको व्यावसायिक र ग्रास रुट फुटबल प्रभावित भएसँगै महिला र पुरुषका राष्ट्रिय टोलीले पनि आफ्ना अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गुमाए। यु-१७ महिला विश्वकप आगामी अक्टोबर ११ मा भारतमै हुने तय थियो। तर, निलम्बनपछि भारतबाट आयोजना खोसिनेछ। भारतले सन् २०१७ पछि आफ्नो भूमिमा सबैभन्दा ठूलो फिफा प्रतियोगिता आयोजना गर्दै थियो। भारतमाथि प्रतिबन्धको प्रभाव त्यहाँको क्लबले पनि बेहोर्नुपर्‍यो। इन्डियन लिग विजेता गोकुलम केरला एफसी एसियन महिला क्लब च्याम्पियनसिप खेल्न उज्बेकिस्तान पुगे पनि खेल्नै नपाई फर्कनुपर्‍यो।

उज्बेकिस्तानको सहर तास्केनमा ओर्लिएलगत्तै गोकुलमको टोलीले आफूहरूलाई क्लब च्याम्पियनसिप खेल्न रोक लागेको पाएका थिए। गोकुलमको टोलीबाट नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले पनि खेल्दै थिइन्। टोलीसँगै रहेकी उनले पनि खेल गुमाएपछि दुःख लागेको प्रतिक्रिया दिएकी थिइन्। ‘पछिल्ला दुई महिनादेखि हामीले कडा मिहिनेत गरेका थियौं। खेलाडीले एएफसी ट्रफीसमेत जित्ने गरी तयारी गरिरहेका थिए,’ भारतीय टोलीको नेतृत्वसमेत गरिरहेकी क्लबकी कप्तान असलता देवीले भनिन्, ‘अझै पनि उपाधि जित्ने हाम्रो सपना छ।’

मुखैमा आएको प्रतियोगिता गुमाएपछि टोलीका सबै खेलाडीमा निराशा छाएको उनको भनाइ छ। गोकुलमले एक विज्ञप्ति पनि जारी गर्दै आफूहरूले अहिले खेल रोकेको र त्यसप्रति क्लबको कुनै गल्ती नरहेको भन्दै दुःख व्यक्त गरेको छ। ‘हाम्रो टोलीले आफू गर्विलो महसुस गराएको थियो। भारतकै उत्कृष्ट टोलीका रूपमा यी खेलाडीले पनि आफूलाई प्रमाणित पनि गराएका थिए,’ क्लबले भनेको छ। यु-१७ विश्वकपका लागि भारतको यु-१७ टोलीको सर्ट लिस्टमा रहेकी लावण्या वर्माले यसको दोषी एआइएफएफ रहेको आरोप लगाइन्।

‘खराब सुशासनकै कारण निलम्बनको अवस्था सिर्जना भएको हो। तर, हामी निर्दोष खेलाडीले यसको परिणाम भोग्नुपरेको छ,’ १७ वर्षीया लावण्याले भनिन्, ‘जसले यो अवसरका लागि कडा मिहिनेत गरिरहेका छन्, यो निर्णयपछि उनीहरूलाई कस्तो भइरहेको होला। यद्यपि, अझै पनि भारतमा विश्वकप हुने आशामा छौं। तर, आयोजना हुन सकेन भने हामी सबैका लागि यो दुर्भाग्य हो। यसले ठूलो क्षति पनि पुग्नेछ।’

‘धेरै गर्न बाँकी छ’

न्यून लगानीका कारण भारतीय महिला फुटबलले क्रिकेटको माहोल भएको देशमा आफ्नो अस्तित्व बनाउन निकै संघर्ष गरिरहेको छ। विश्व वरीयतामा भारतीय महिला फुटबल ५८औं र पुरुष टोली १०४औं स्थानमा छन्। एएफसी क्लब च्याम्पियनसिपमा खेल्ने गोकुलम गत वर्ष पहिलो भारतीय महिला क्लब बनेको थियो। फुटबलकी राष्ट्रिय रेफ्री रचना कमानीले फिफा निलम्बनका कारण राम्रो भविष्य देखिएको महिला फुटबललाई खराब स्थितिमा धकेलिएको प्रतिक्रिया दिइन्। ‘महिला फुटबलमा हाम्रो उदय केही वर्ष मात्र भएको छ। यद्यपि, जब उत्कृष्ट प्रतियोगिता खेल्छौं, तब मात्र हाम्रो उदयले प्रमाणित हुन पाउँछ,’ २३ वर्षीया रचनाले भनिन्, ‘यो निलम्बनले महिला फुटबलका गतिविधिका साथै खेलाडीका इच्छाशक्ति पनि कम हुँदै जान्छ। किनकि उनीहरूले फुटबलमा आफ्नो भविष्य देख्दैनन्।’

भारतीय फुटबलका प्रमुख प्रफुल पटेलले आफ्नो कार्यकालको दुई वर्ष बितिसक्दा समेत चुनावी साधारणसभा गराउन नसकेपछि समस्या उत्पन्न भएको थियो। त्यसपछि भारतको सर्वोच्च अदालतले केही महिनाअघि मात्र समयावधि सकिएको भन्दै उनको अध्यक्षतामा रहेको कार्यसमिति भंग गर्दै तीन सदस्यीय तदर्थ कमिटी गठन गरेपछि फिफाले निलम्बनको निर्णय गर्‍यो।

एआइएफएफले जबसम्म सबै काम आफ्नो नियन्त्रणमा ल्याउँदैन, तबसम्म फिफाले निलम्बन जारी राख्नेछ। यसै पनि आवश्यक स्रोत अभावका कारण भारतीय महिला फुटबल त्यसै पनि कठिन अवस्थामा थियो। निलम्बनले उनीहरूमाथिको वित्तीय संकट पनि बढ्दै जानेछ। अहमदाबाद फुटबल क्लबका जमसेद चेनोयले फिफाको यो निर्णयपछि थप वित्तीय संकट उत्पन्न हुने स्विकारेका छन्। ‘पाएका थोरै प्रायोजक पनि प्रभावित हुन सक्छन्,’ उनले भने, ‘खेलाडीले पनि अहिलेको भन्दा कम सेवासुविधा प्राप्त गर्छन्। त्यसैले महिला फुटबलमा अब झन् धेरै काम गर्नुपर्ने हुन्छ।’ 

प्रकाशित: ४ भाद्र २०७९ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App