१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विवादबारे बोल्न तर्किए कार्यवाहक प्रशिक्षक

प्रदीप हुमागाईं

 नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमार्गांले तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादबारे कुनै टिप्पणी गर्न नचाहेको बताएका छन्।  

अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गते बसेको दोस्रो कार्यसमिति बैठकबाट हुमागाईंलाई असोज ११ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। त्यसअघि अल्मुताइरीले भने आफूसँगको विवादपछि बाहिरिएका १० मध्ये अञ्जन विष्ट र तेज तामाङलाई समावेश गर्दै २६ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणको व्यवस्था मिलाइदिन एन्फा महासचिव किरण राईसमक्ष निवेदन दिएका थिए। एन्फाले भने उनी बिदामा रहेकाले उनको स्थानमा हुमागार्इंलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

हुमागाईंले पछिल्लो पटक २०७८ वेैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणमा ललितपुर सिटी एफसीको प्रशिक्षण सम्हालेका थिए। यद्यपि लगातारको खराब नतिजाका कारण उनी बर्खास्त भएका थिए।

‘मेरो प्रशिक्षणमा विगतमा कुन क्लबले कस्तो नतिजा ल्यायो, त्यसले कुनै अर्थ राख्दैन,’ हुमागार्इंले भने, ‘वर्तमान टोलीले कस्तो प्रशिक्षण गर्छ, त्यसले मेरो प्रशिक्षणको मापन हुनेछ। मेरो प्रशिक्षण जीवनमा यो ठूलो अवसर हो, जसका लागि म लामो समयदेखि प्रतीक्षारत थिएँ।’

कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएलगत्तै हुमागाईंले अल्मुताइरीसँगको विवादका कारण एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छोडेका १० खेलाडीलाई समावेश गर्दै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए। मंगलबार काठमाडौं आइपुगेका हुमार्गांले शुक्रबारबाट प्रशिक्षण सुरु हुने बताएका छन्।

‘म कर्मभूमिबाट केही गराैं भनेर जन्मभूमि फर्किएको हुँ,’ हुमागाईंले भने, ‘मलाई बंगलादेशविरुद्धको खेलका लागि मात्र जिम्मा दिइएको हो। यो विशेष अवसरका लागि एन्फाप्रति कृतज्ञ छु। म शुक्रबारबाटै प्रशिक्षण सुरु गराउँदै छु। केही खेलाडी बाहिर छन्। एक–दुई दिनमै उनीहरू पनि प्रशिक्षणमा सामेल हुनेछन्। म छिट्टै अन्तिम टोलीको घोषणा गर्दै सो टोलीलाई मैत्रीपूर्ण खेलका लागि विशेष प्रशिक्षण सुरु गर्न चाहन्छु।’

प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीबाहिर राखेका १० खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षण सुरु गर्दै हुनुहुन्छ। टोलीलाई सन्तुलित बनाउन खोज्नुभएको हो भन्ने प्रश्नमा हुमार्गांले भने, ‘राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा मैले १० खेलाडी मात्र बोलाएको होइन। मैले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हुँ। मेरो लागि यो चुनौती पनि हो र अवसर पनि।’  

‘मैले समाचारमा अल्मुताइरी र खेलाडीबीचको विवादका बारेमा समाचार नपढेको होइन तर म यो विषयमा कुनै पनि प्रतिक्रिया दिन चाहन्नँ,’ हुमागाईंले थप , ‘म बंगलादेशविरुद्धको खेलमा जित निकाल्नेमा विश्वस्त छु र तयारी पनि त्यहीअनुरूपको हुनेछ। सबैको एकताले नै सफलता सम्भव छ।’

एन्फा प्रवक्ता सुरेश शाहले भने अल्मुताइरीका बारेमा निर्णय लिने जिम्मा महासचिव राईलाई दिएको र सो प्रक्रिया अघि बढिसकेको बताए।

‘खेलाडी–प्रशिक्षक विवाद समितिको प्रतिवेदनको कार्यान्वयन हुन्छ यसमा कुनेै दुबिधा छैन,’ शाहले भने, ‘कार्यसमितिको बैठकले प्रशिक्षक अल्मुताइरीबारे निर्णय लिने जिम्मेवारी महासचिव राईलाई दिएको छ र यसबारे प्रक्रिया जारी छ। अहिले नै यो विषयमा हामी अन्तिम निर्णयमा पुगिसक्यौं भन्नु हतारो हुनेछ।’

प्रकाशित: ३ भाद्र २०७९ ००:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App