१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

क्रिकेटका नयाँ प्रशिक्षक प्रभाकर मासिक १५ हजार डलरमा आउँदै, ‘कमजोर ब्याटिङ’ पहिलो चुनौती

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरिसकेको छ। राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ।

पूर्व प्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुई वटा भ्रमण गरेको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो। विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन्। पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो। तर नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुने छैन। किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन्।

साथै उनले कुनैपनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दैछन्। के के हुन् त प्रशिक्षक मनोजका चुनौतीहरु, जुन नेपाली क्रिकेटमा सुधारका लागि निकै आवश्यक छन्। पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन। चार खेलमध्ये एक खेलमा मात्र सुखद् नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारणहरु केलाउन थालिएको छ।

मुख्यतः टोलीमा एकजुट समस्या, ब्याटिङ समस्या बाहिरी सतहमा देखिन थालेका छन्। यससँगै एक दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ। क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुवन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए। उनले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाइ प्राप्त गर्ने विश्वास राखे।

उनले भने, ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं। पारिवारिक कारणले उहाँ जानुभयो। रिक्त भएको पदमा लामो कसरतपछि मनोज  प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं। उहाँलाई हाराहारी १४/१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ। उहाँ अनुवन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाई पाउने अपेक्षा राखेको छ। किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए। पछिल्लो समय अफगानीस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो।’

प्रशिक्षक मनोज प्रभाकर शनिवार (भोलि) साँझ नेपाल आउँदै छन्। नेपाली टोली सम्हाल्न आउन लागेका मनोजलाई नेपाली क्रिकेट सुधार गर्ने चुनौती धेरै छन्। मनोजलाई सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौति रहेको छ। प्रभाकर जहाँ क्रिकेटका लागि कुनैपनि कन्जुस्याइँ नहुने अब्बल देश भारतका खेलाडी हुन्। जहाँ पूर्वाधारको कुनै कमी थिएन।

तर उनलाई नेपालमा भएको सिमित साधानको अधिकतम प्रयोग गर्दै विश्वस्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ। अहिले टोलीमा नयाँ युवा खेलाडीको वचश्र्व छ। टोलीमा अनुभवि खेलाडीहरु प्रायः शुन्य छन्। यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठक नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताउँछन्। उनले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘अहिले नेपाली टोली ब्यालेन्स टीम छ। युवा टोलीको वर्चश्व छ, जुन माथि चढ्ने क्रममा छ। नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ। सिनियर खेलाडीले विस्तारै विश्राम लिने अवस्था पनि छ। अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ। क्रिकेटको स्तर अघि बढाउनका लागि प्रशिक्षकसँग हामीले योजना माग्छौं। उहाँले ल्याएको योजनलाई हामी सम्बोधन गछौं।’

घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ। नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएइलाई एसोसियटका शीर्ष टोलीका रुपमा लिइन्छ। तर, लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशको आकाश पातालको फरक छ।  

तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भएपनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ। नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ। यसका अलावा नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोली भित्रको गुट/उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ। मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन।  

वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले पनि परम्परगत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङ केन्द्रित प्रशिक्षण निकै नै आवश्यक रहेको बताए। टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एक जुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार निरञ्जन राजवंशीले बताए।

उनले भने, ‘सबै भन्दा पहिलो र महत्वपूर्ण चुनौती भनेको ब्याटिङ पक्ष हो। ब्याटिङमा परम्परागत कमजोरी छ। धेरै खेलमा नेपाली टोली ब्याटिङकै कारण पराजित हुन पुगेको छ। सोही कारण ब्याटिङ पहिलो चुनौती हो। सुधार लागि अन्य विकल्प खोज्नु परेपनि क्यान तयारी हुनुपर्छ। एक दिवसीय, दुई दिवसीय अथवा तीन दिवसीय खेलाउने पर्ने हो। ब्याटिङ केन्द्रीत हुनुपर्नेछ। अर्को चुनौती नेपाली क्रिकेट टोलीभित्र एकताको अभाव छ भनिएको छ। सबै खेलाडीलाई एकतावद्ध बनाउन क्यानले भुमिका खेल्नुपर्नेछ। साथै एक दिवसीय जोगाउनुपर्ने चुनौती पनि अर्को छ।’

प्रभाकरका लागि अर्को चुनौती प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ। थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकारको जिम्मामा हुनेछ। विश्वकप क्रिकेट लिग–२ को शीर्ष ३ मा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ।

प्रकाशित: २७ श्रावण २०७९ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App