१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना

छिट्टै सक्रिय टेनिस खेलजीवनको यात्रामा पूर्णविराम लगाउने घोषणा गरेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्स बुधबार बेलिन्डा बेन्सिचसँग ६–२, ६–४ ले पराजित हुँदै डब्लुटिए टोरन्टो मास्टर्सबाट बाहिरिएकी छिन्।

सन् २०२२ मा सेरेनाको यो मात्र तेस्रो खेल थियो। ओलम्पिककी स्वर्ण पदक विजेता बेन्सिचसँग सेरेना दोस्रो चरणमा निराश बनिन्। कोर्टमा सेरेनाको बिदाइले त्यहाँको माहोल निकै भावुक बनाएको थियो। उनले मंगलबार संन्यासका लागि काउन्टडाउन सुरु भएको बताएकी थिइन्। उनले यसै महिनाको अन्त्यमा हुने युएस ओपनपछि संन्यास लिने अनुमान गरिएको छ।

‘मलाई यहाँ खेल्न निकै मन लाग्छ,’ समर्थकलाई सम्बोधन गर्दैै सेरेनाले भनिन्, ‘म दोस्रो चरणबाटै बाहिरिँदा निराश छु। आज मैले राम्रो प्रदर्शन गर्न सक्थें, तर स्वाभाविक लयअनुसारको प्रदर्शन भने रहेन। बेलिन्डाले राम्रो खेलिन्। 

’सेरेनाले पहिलो चरणमा सोमबार स्पेनकी नुरिया डियाजलाई निराश पारेकी थिइन्, जुन सन् २०२१ को फ्रेन्च ओपनपछि सेरेनाले महिला एकलमा निकालेको पहिलो जित थियो। तर उनले मंगलबार सामाजिक सन्जालमा संन्यासको संकेत गर्दै ‘दी काउन्टडाउन ह्याज बिगन’ भन्दै पोस्ट गरेकी थिइन्। उनले यही मितिमा संन्याससा लिन्छु भन्ने घोषणा गरेकी छैनन् तर अगस्ट २९ मा सुरु हुने युएस ओपन उनका लागि अन्तिम प्रतियोगिता हुने अनुमान गरिएको छ।

सेरेनाले ६ पटक युएस ओपन जितेकी थिइन्। उनले सन् १९९९ मा १७ वर्षको उमेरमा पहिलो पटक युएस ओपनको उपाधि जितेकी थिइन्। ‘मेरा लागि पहिलो चरणदेखि दोस्रो चरणसम्मको यात्रा नै सुखद रह्यो,’ मार्गरेट कोर्टको नाममा रहेको २४औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा रहेकी सेरेनाले भनिन्, ‘मैले इन्स्टाग्रामको पोस्ट र एउटा म्यागेजिनको आर्टिकलमा भनेजस्तै म संन्यासको निकै नजिक छु। गुडबाई टोरन्टो।’

‘आज सेरेनाको दिन हो,’ बेन्सिचले जितपछि भनिन्, ‘आज पुनः सेरेनासँग एउटै कोर्टमा प्रतिस्पर्धा गर्न पाएँ। जुन मेरा लागि गर्विलो क्षण हो।’ यसअघि अमेरिकाकी कोको गौफले सेरेनाकै कारण आफू टेनिसमा लागेको र उनको स्थान कसैले लिन नसक्ने बताएकी थिइन्। गौफले भने प्रतियोगिताको तेस्रो चरणमा स्थान बनाउने क्रममा विम्बल्डन च्याम्पियन इलिना रेवाकिनालाई ६–४, ६–७(८–१०), ७–६(७–३) ले हराएकी थिइन्।

प्रकाशित: २७ श्रावण २०७९ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App