coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कीर्तिमानी ह्याट्रिक

काठमाडौं- नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आइसिसी यु १९ विश्वकप क्रिकेटमा शनिबार ह्याट्रिकसहित ५ विकेट लिएर कीर्तिमान रचेका छन्। यसअघि सन् २०१२ को विश्व कपमा पपुवा न्युगिनीविरुद्ध राहुल विश्वकर्माले ६ विकेट लिएका थिए।

बंगलादेशमा जारी युवा विश्वकपमा सन्दीपले आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएका हुन्। उनको प्रदर्शनमा नेपालको लगातार दोस्रो खेल जित्दै विश्वकपको क्वार्टरफाइनल सुरक्षित गरेको छ।

सन्दीपले ५ विकेट लिएको खेलमा आयरल्यान्डले १ सय ३१ रन मात्र बनाउन सक्यो। योगेन्द्रसिंह कार्कीको अविजीत अर्धशतक (६३) मा नेपालले २५.३ ओभरमै खेल जितेको थियो।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काको प्रशिक्षणमा चितवनबाट हुर्केका क्रिकेटर हुन् सन्दीप। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने क्रिकेटर राजुबाट उत्पादित नवलपरासीका सन्दीपले पनि आफूलाई पहिलो नै बनाएका छन्। उनी यु–१९ विश्वकपमा नेपालका लागि पहिलो ह्याट्रिक विकेट लिने खेलाडी हुन्।

राजुका चेला सन्दीपले आयरल्यान्डसँगको खेलमा १० ओभरमा २७ रन खर्चेर ५ विकेट लिएका थिए। सन्दीपको सफलताले आफूलाई खुसी तुल्याएको राजुले प्रतिक्रिया दिए।

चितवन क्रिकेट एकेडेमीमार्फत स्थानीय स्तरमा खेलाडी उत्पादन गरिरहेका उनले भने, 'सन्दीपको कीर्तिमानमा मैले विगत सम्भि्कएँ। कीर्तिमान खेलाडीको जीवनसँग जोडिएको हुन्छ। यसले ऊर्जा थप्ने काम गर्छ। मलाई पनि त्यस्तै भएको थियो। कीर्तिमान बन्यो भन्दैमा मात्तिनु हँुदैन। नयाँ रेकर्ड बन्छ, तोडिन्छ पनि।'

कीर्तिमान बन्नुलाई राजुले खेल करिअरको ठूलो क्षणका रुपमा बयान गरे। उनले भने, 'कीर्तिमान बन्नु करिअरको ठूलो क्षण हो। यसले खेलाडीको आत्मविश्वास बढाउँछ। सबैको विश्वासिलो खेलाडी भइन्छ। तर, यसलाई जोगाइराख्न भने सधैं दबाब हुन्छ।'

नेपालले आइसिसीको डिभिजन उक्लने प्रयास गरिरहेका बेला राजुले नेपाली टोलीको नेतृत्व गर्ने मौका पाएका थिए। सन् २००३ को मार्चमा भएको एसिसी इमर्जिङ राष्ट्रको प्रतियोगितामा राजुले भुटानविरुद्ध अविजीत शतक जोडेका थिए। उनले ५० बलमै शतक पूरा गर्दै १ सय ५ रन बनाएका थिए जुन अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक थियो।

सन्दीप चितवनबाट घरेलु प्रतियोगिता खेल्छन्। उनले शनिबार ३१.४ ओभरमा लोर्कन टुकरलाई दीपेन्द्र ऐरीबाट क्याचआउट गराए। त्यसपछि उनले एडाम डेनिसन र फिचरा टुकरलाई बोल्ड गरे। ५ विकेट लिनेक्रममा सन्दिपले विलियम म्याकक्लिनटनलाई क्याच आउट र ग्रे म्याकक्लिन्टनलाइ बोल्ड गरे।

विलियम र लोर्कन आयरल्यान्ड टोलीका बलिया ब्याट्सम्यान हुन्। सुरुआती खेलमा भारतविरुद्ध विलियमले ५८ र लोर्कनले ५७ रन बनाएका थिए।

नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराउँदा सन्दीपले १ विकेट लिएका थिए।

क्रिकेट खेल्न सन्दीप आठ महिनाअघि चितवन क्रिकेट एकेडेमीमा भर्ना भएका थिए। भारतबाट आएर एकेडेमीमा आएपछि उनको भेट राजुसँग भएको थियो। 'सुरुआतमै हेर्दा उसमा क्रिकेटप्रति लगाव थियो तर अनुभव कम। खेलपछि आफ्नो बलिङबारे जिज्ञासा राख्ने स्वभाव भएका कारण उसले राम्रो गर्ने विश्वास थियो,' राजुले नागरिकसँग भने, 'चितवनबाट जुनियर स्तरको प्रतियोगिता खेले पनि ऊ टोलीमा पर्न सकेको थिएन। तर, उसमा नेपाली टोलीबाट खेल्ने क्षमता भने थियो।'

नयाँ खेलाडी खोज्ने अभियानसहित राष्ट्रिय टोलीका तत्कालीन क्यानाडेली प्रशिक्षक पुबुदु दासानायाकेले देशका मुख्य सहर भ्रमण गरेका थिए। एकेडेमीको निमन्त्रणमा चितवन पुगेका पुबुदुको नजरमा परेका थिए सन्दीप। खड्का भन्छन्, 'पुबुदुलाई हामीले एकपटक एकेडेमीमा आएर हाम्रा खेलाडीका खेल हेर्न अनुरोध गरेका थियौं। सन्दीपको बलिङ शैली हेरेपछि उहाँले मलाई उसलाई अलि बढी ध्यान दिनू भन्नुभयो।'

पुबुदु काठमाडौं फर्किएपछि सन्दीपलाई यु–१९ टोलीको बन्द प्रशिक्षणमा बोलाए। गत अक्टोबरमा नेपाल मलेसियामा आइसिसी यु १९ विश्वकप खेल्न जाँदै थियो तर सन्दीप टोलीमा परेनन्। खड्का सझन्छन्, 'त्यतिबेला उसलाई एकदमै नमज्जा भएको थियो। सन्दीप टोलीमा नपर्दा पुबुदुले पनि आश्चर्य व्यक्त गरेका थिए।'

मलेसियाबाट नेपाल च्याम्पियन हुँदै विश्वकपलाई छनोट भएर फर्कियो। जारी विश्वकपका लागि नेपाल क्रिकेट संघले सुपरलिग प्रतियोगिताबाट खेलाडी छनोट गर्ने निर्णय गर्यो । सुपरलिगमा सन्दीपले सिनियर खेलाडीलाई पछि पार्दै प्रतियोगितामा सर्वाधिक १२ विकेट लिए। त्यो प्रदर्शनले उनलाई विश्वकप खेल्ने टोलीमा पुर्यााएको थियो।

४० वर्षे राजुले प्रशिक्षण गराइरहेको एकेडेमीबाट सन्दीपसँगै विश्वकप खेलिरहेको टोलीमा दिपेश श्रेष्ठ र सुशील कँडेल छन्। एकेडेमीका उत्पादन निश्चल पाण्डे, इसान बानियाँ, आरती बिँडारी, मनीता गौतमजस्ता खेलाडी नेपाली जुनियर टोलीबाट खेलिसकेका छन्। अहिले एकेडेमीमा करिब २५ जनाले नियमित प्रशिक्षण लिन्छन्। प्रशिक्षक खड्का भन्छन्, 'हामी स्थानीय स्तरबाट क्रिकेट विकासमा लागिरहेका छौं। आफूले सिकाएका खेलाडीले कीर्तिमान बनाउनु हाम्रो लागि खुसीको पक्ष हो। यसले अझ प्रशिक्षणमा मिहिनेत गर्न जोस थप्छ।'

सन्दीपले अब छिट्टै राष्ट्रिय टोलीबाट खेल्ने राजुको विश्वास छ। उनले भने, 'उसले राष्ट्रिय टोलीको ढोका ढक्ढकाइरहेको छ। उसमा त्यो क्षमता छ। नेपालमा लेग स्पिनर बलरको कमी छ। धेरैपछि लेग स्पिनमा राम्रो बलर देखिएको छ। सन्दीप लेग स्पिनमा आसलाग्दो खेलाडी हो।'

प्रकाशित: १६ माघ २०७२ २०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App