१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

न्युजिल्यान्डविरुद्ध नेपालको सनसनी

काठमाडौं- नेपाली युवा टोलीले १९ वर्षमुनिको क्रिकेट विश्वकपमा पहिलो सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा बिहीबार टेस्ट राष्ट्र न्युजिल्यान्डमाथि ३२ रनको जित पाएको छ। बंगलादेशमा जारी विश्वकप अन्तर्गत फतुल्लाहको खान शाहेब ओस्मान अली रंगशालामा समूह 'डी' मा पाएको जितले नेपालले क्वार्टरफाइनल पुग्ने सम्भावनाको ढोका खोलेको छ। दोस्रो खेलमा नेपालले शनिबार आफूजस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एसोसिएट सदस्य आयरल्यान्डसँग खेल्नेछ। त्यसपछि नेपालको भेट सोमबार भारतसँग हुनेछ।


नेपाली टोलीका व्यवस्थापक सुदीप शर्माले यो जितसँगै क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनेको बताए। 'हामी यो जितमा खुसी मनाउनेभन्दा पनि आगामी खेलका लागि केन्द्रित भइसकेका छौं। आयरल्यान्डलाई हराउने क्षमता हाम्रो टोलीसँग छ,' बिहीबारको खेल जितेपछि शर्माले भने, 'मेरो विचारमा हामी क्वार्टरफाइनलतिर एक पाइला अघि बढेका छौं।'

कप्तान राजुले न्युजिल्यान्डमाथिको जित नेपाली क्रिकेटका लागि विशेष रहेको बताउँदै भने, 'हाम्रा लागि यो ठूलो जित हो। हामीले फिल्डिङमा आज निकै राम्रो गर्यौंल।'

नेपालको यस समूहमा टेस्ट खेल्ने तीन देश रहे पनि अस्ट्रेलियाले अन्तिम समय सुरक्षा कारण देखाउँदै बंगलादेश भ्रमण नगर्ने निर्णय लिएपछि आइसिसीले खालि ठाउँमा आयरल्यान्डलाई समावेश गरेको थियो। समूहबाट दुई टोली क्वार्टरफाइनल पुग्नेछन्।

फतुल्लाहको बलिङमैत्री कन्डिसनमा न्युजिल्यान्डले टस जितेर नेपाललाई ब्याटिङ गर्न निम्तो दियो। तर, नेपालले त्यो चुनौती सहजै पार लगाउने क्रममा पूरा ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ३८ रनको योगफल तयार गर्योट। नेपालले यु–१९ विश्वकपमा अहिलेसम्म बनाएको यो सबभन्दा ठूलो योगफल हो। यसअघि २००६ को विश्वकपमा आयरल्यान्डविरुद्ध बनाएको २ सय ३४ रन नेपालको उच्च स्कोर थियो। नेपालको इनिङमा कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए भने सन्दीप सुनारले ३९, कुशल भूर्तेलले अविजित ३५ तथा राजवीर सिंहले २४ रनको उल्लेख्य योगदान गरे।

त्यसपछि नेपाली बलरले अनुशासित प्रदर्शन गर्दै जवाफमा आएको न्युजिल्यान्डलाई ४७.१ ओभरमा २ सय ६ रनमा सीमित पारेका थिए। यो जितपछि नेपालले युवा क्रिकेटमा 'जायन्ट किलर' को छवि कायम राख्दै दोस्रोपटक विश्वकपको दोस्रो चरण पुग्ने सम्भावना बढाएको छ।

यसअघि नेपाल सन् २००० मा पहिलोपल्ट युवा विश्वकपमा सहभागी हुँदा दोस्रो चरण पुगेको थियो। त्यतिबेला वर्षाका कारण दक्षिण अफ्रिका र पाकिस्तानसँगको खेल रद्द भएको थियो भने केन्यालाई हराउँदै नेपालले सुपर लिगमा स्थान सुरक्षित गरेको थियो। यु–१९ विश्वकपमा नेपालको सबैभन्दा ठूलो उपलब्धि त्यही हो। यसबाहेक टेस्ट खेल्ने राष्ट्र पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका (दुईपटक), न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गर्नु युवा विश्वकपमा नेपालको स्मरणीय उपलब्धि थियो।

तर, टेस्ट खेल्ने विपक्षीमाथिको जित संख्या बढाउने क्रममा न्युजिल्यान्डलाई सिकार बनाएपछि बिहीबार नेपाली क्रिकेटका लागि अर्को स्मरणीय दिन बन्यो। यु–१९ विश्वकपमा सातौंपल्ट सहभागी भइरहेको नेपालले प्रतियोगितामा पाएको यो समग्रमा २० औं जित हो भने टेस्ट खेल्ने देशमाथि नेपालको यो सातौं जित हो। पछिल्लोपल्ट नेपालले २००८ मा मलेसियामा सम्पन्न यु–१९ विश्वकपको प्लेअफ क्वार्टरफाइनलमा जिम्बावेलाई निराश पारेको थियो।

आइसिसीको पूर्ण सदस्य राष्ट्र न्युजिल्यान्ड यु–१९ विश्वकपमा उपविजेता भइसकेको टोली हो। न्युजिल्यान्ड १९९८ को विश्वकप फाइनलमा इङ्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। सन् २००६ मा श्रीलंका सम्पन्न विश्वकप नेपालका लागि सम्झनयोग्य संस्करण हो। जहाँ नेपालले प्लेट च्याम्पियनसिप जित्दा न्युजिल्यान्डलाई नै १ विकेटले हराएको थियो।

बलरमैत्री पिचमा नेपाली ब्याट्सम्यानहरूले जमेर प्रदर्शन गरिरहँदा स्कोर अझै बढ्ने संकेत मिलेको थियो। तर, नाथान स्मिथले ६ ओभरको बीचमा तीन विकेट लिएर न्युजिल्यान्डको आश जगाए। उनले आरिफ, राजवीर र दीपेन्द्रसिंह ऐरीलाई पवेलियनको बाटो देखाए।

सन्दीप सुनार (३९) र सुनील धमला (१५) ले ८.४ ओभरमा पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेर नेपाललाई आशलाग्दो सुरुआत दिलाए। नवौं ओभरको चौथो बलमा धमला क्रिस्टियन लियोपार्डको बलमा टेलर स्कटबाट समातिए। त्यसपछि आएका योगेन्द्रसिंह कार्की (६) सस्तैमा पवेलियन फर्किंदा कप्तान राजुले धैर्यपूर्ण प्रदर्शन गर्दै नेपालको इनिङ सम्हाले। ६५ बलमा ६ चौका प्रहार गरेका राजुले तेस्रो विकेटमा सन्दीपसँग १८ रनको साझेदारी गरे। ६० बलको इनिङमा सन्दीपले ३ चौका र १ छक्का प्रहार गरे। जोस फिनीको बलमा स्कटलाई क्याच दिँदा राजु अर्धशतक बनाउनबाट २ रनले चुकेका थिए। राजु खेलको म्यान अफ दी म्याच भए।

आरिफले ६० बलमा ३ चौकासहित ३९ रनको योगदान दिँदा राजवीरले ३८ बल खेल्दै १ चौका प्रहार गरे। दीपेन्द्रसिंहले १७ बलमा १६ रन बनाए। आठौं नम्बरमा आएका कुशलले आक्रामक रूपमा ब्याट घुमाउँदै २३ बलमा ५ चौकासहित ३५ रन बनाए।

जवाफमा आएको न्युजिल्यान्डले पहिलो ९ ओभरमै रचिन रविन्द्र (४) र फिन एलिन (११) को विकेट गुमायो। तर, अर्का ओपनर ग्लेन फिलिप्स र जोस फिनले तेस्रो विकेटमा ७२ रनको साझेदारी गरेर न्युजिल्यान्डको आश कायम राखेका थिए। अफ स्पिनर प्रेम तामाङले फिलिप्स (५२) र फिन (३७) लाई दुई ओभरबीचमा पवेलियनको बाटो देखाएपछि न्युजिल्यान्डले बाँकी ६ विकेट थप ९८ रनका लागि गुमायो। प्रेमले फिलिप्सलाई डिप स्क्वायर लेगमा शंकर रानाको हातबाट क्याच गराए भने फिनलाई कट एन्ड बोल्ड गरेका थिए।

डेल फिलिप्सले न्युजिल्यान्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, उनले बनाएको ४१ रन र आठौं विकेटमा स्मिथसँग गरेको ३४ रनको साझेदारी न्युजिल्यान्डलाई जित दिलाउन पर्याप्त भएन। नेपालका लागि दीपेन्द्रसिंहले ५ ओभरमा २४ रन खर्चिंदै ३ विकेट लिए भने प्रेमले पूरा १० ओभरमा ३८ रन खर्चे। यसैगरी सुनील धमला र सन्दीप लामिछानेले एकएक विकेटमा नाम लेखाए।

युवा विश्वकप अन्तर्गत बिहीबारै भएको समूह 'डी' को अर्को खेलमा भारतले आयरल्यान्डलाई ७९ रनले हरायो भने अन्य खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ६ विकेटको विजय हासिल गर्योम। त्यस्तै श्रीलंकाले क्यानडामाथि १ सय ९६ रनको फराकिलो जित निकाल्यो।

प्रकाशित: १४ माघ २०७२ २१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App