coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डेब्यु खेलमै हाल्यान्डको प्रभाव

वेस्ट ह्यामविरुद्ध गोल गरेपछि म्यानचेस्टर सिटीका एर्लिङ हाल्यान्ड ।तस्बिर : एपी

स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई गोलका साथ डेब्यु खेलमै आफ्नो प्रभाव देखाएको दिन आइतबार साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधिरक्षा अभियानको सुखद सुरुआत गरेको छ। सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–० ले ले निराश पारेको हो।

यता सिटीको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागको प्रिमियर लिगको नयाँ सिजनको यात्रा भने सुखद हुन सकेन। युनाइटेड ब्राइटनसँग २–१ ले  स्तब्ध भयो।गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जित्दा शीर्ष चारबाट समेत बाहिर रहेको युनाइटेड ३५ अंकले पछि परेको थियो। सिटीको जितमा नायक रहेका हाल्यान्ड यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सिटीमा अनुबन्धित भएका थिए।

हाल्यान्डले डर्टमन्डबाट ८९ खेलमा ८६ गोल गरेका थिए। हाल्यान्डको अनुबन्धनमा प्रिमियर लिगकै अन्य शीर्ष क्लबसमेत इच्छुक देखिएका थिए। हाल्यान्डले पहिलो खेलमै दुई गोलसहित आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। ‘हामीलाई कुनै दुबिधा छैन। उनले लगातार गोल लय कायम राख्दै आएका थिए र प्रिमियर लिगको पहिलो खेलमा पनि सोही लयलाई निरन्तरता दिए,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने।

यता पहिलो हाफमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमै राखेका टेन हागले भने खराब सुरुआतले निराश पारेको बताए। ‘पक्कै पनि निराश छु, खराब प्रदर्शन,’ टेन हागले भने, ‘मलाई ब्राइटनविरुद्धको खेल सहज हुँदैन भन्ने थाहा थियो।खेलको नतिजा पनि त्यहीअनुरूप आयो। यो पहिलो खेल हो।अब हामीसँग लामो यात्रा तय गर्न बाँकी छ।त्यसैले मनाोबल घटाउने काम गर्नुको अर्थ छैन।’  

गत सिजन सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्विरो टोलीबाट बार्सिलोना पुगेका थिए। उनी बाहिरिएपछि सिटी उनको स्थानमा त्यस्तै क्षमता भएका खेलाडी भित्र्याउन  चाहन्थ्यो। जुन क्षमता सिटीले हाल्यान्डमा पाएको थियो।अग्विरो सिटीका कीर्तिमानी गोलकर्ता हुन्। त्यसो त सिटीसँग हाल्यान्डको भावनात्मक सम्बन्धसमेत जोडिएको छ।उनका बुबा अल्फाइ पनि सिटीकै पूर्वखेलाडी हुन्। ‘यो मेरा लागि विशेष क्षण हो, प्रिमियर लिगको डेब्यु खेलमै गोल,’ हाल्यान्डको प्रतिक्रिया थियो।

सिटीको उपाधि रक्षामा यस पटक पनि लिभरपुल प्रमुख प्रतिद्वन्द्वी हुनेमा दुबिधा छैन। हालान्डको लयमा सिटीले आफूसँग उपाधि खोस्न कठिन हुने सन्देश दिइसकेको छ। ‘हामीले आफ्नो स्वाभाविक लय कायम राखेको छाैं,’ टोलीको रणनीतिमा कुनै परिवर्तन छैन,’ ग्वार्डिओलाले भने, ‘हाल्यान्डको हाम्रो योजनामा अभ्यस्त हुँदै छन्। उनको स्वाभाविक लय हाम्रा लागि महवपूर्ण बन्नेछ।’

प्रकाशित: २४ श्रावण २०७९ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App