१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

खेलाडी विदेश पलायन: बाध्यता की रहर?

फाइल तस्बिर

खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ।  हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन। जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन्। 

राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेलविज्ञहरु बताउँछन्। तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउनसकेको छैन। यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ।  

केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए। यो एउटा आलो घटना हो। तर यो बाहेक पनि धेरै राष्ट्रिय खेलाडीहरु नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेको घटना छन्। नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकार लगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन्।  

पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको सर्वत्र दृृष्टान्त छन्। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सहभागिता हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन्। खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन्।  

उनीहरुको वैकल्पिक रोजाई विदेश बन्ने गरेको छ। विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरुले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन्। यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ। नेपाली खेलकुदलाई नियालीरहेका खेलविज्ञ सुशिल नरसिंह राणाले आशा नभएपछि  खेलाडीले विकल्प खोज्नु बाध्यात्मक परिस्थित रहेको बताए। राणाले खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको औंल्याए।  

नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरु पैसामा नदौडिने बताए। तर पछिल्लो समय खेलमा राजनीति हावी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको बताए। विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजनासहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने खेलविज्ञ राणाले बताए।

प्रकाशित: २२ श्रावण २०७९ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App