२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलाडी होस्टेल, फ्लिम हलसहित खेल सङ्ग्रहालय र कभर्ड हल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थ्री स्टार लेभलको खेलाडी होस्टेल, फ्लिम हलसहित खेल म्युजियम र राष्ट्रिय खेल भलिबलका लागि कभर्ड हल बनाउने भएको छ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको राखेपको एक सय १३औं बोर्ड बैठकले यी तीन संरचना निर्माण गर्नेसहित नवौं राष्ट्रिय खेलकुदसम्बन्धी निर्णय गरेको हो। नयाँ ऐन आएपछि राखेपको यो दोस्रो बैठक हो। गत वैशाख ९ गते एक सय १२औं बैठक बसेको थियो।

लामो समयदेखि बोर्ड बैठक बस्न नसक्नु नै तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालको बर्खास्तगीको मुख्य कारण बनेको थियो। यद्यपि, घिसिङको नियुक्तियता राखेपले नियमित बोर्ड बैठक गरेको छ। बोर्ड बैठकपछि राखेपमा भएको पत्रकार सम्मेलनमार्फत राखेप सदस्यसचिव टंकलाल घिसिङले बैठकमा भएका निर्णयहरू सार्वजनिक गरेका थिए।

राखेप बोर्ड बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट पनि पास गरेको छ। आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तय छ। उक्त प्रतियोगिताका लागि पुरस्कार, सहभागी टिम संख्या र खेलाडीको कोटा निर्धारणलगायत विभिन्न निर्णय बोर्डले गरेको छ। नवौं राष्ट्रिय खेलकुदमा एकल प्रतिस्पर्धा तर्फ स्वर्ण विजेताले २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेताले १५ हजार र नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीले ५० हजार रूपैयाँ पाउने राखेपले निर्णय गरेको छ।

गैरआवसीय नेपाली संघ (एनआरएनए), तीन विभागीय र सात प्रदेश गरी कुल ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्दै छन्। ती टोलीले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने राखेपले जनाएको छ। प्रत्येक टोलीबाट तीन सय ३९ पुरुष र तीन सय ६९ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। दुई प्रदर्शनसहित कुल ३६ खेलका चार सय सात इभेन्टका प्रतिस्पर्धा गण्डकीमा हुँदै छन्। तथापि, प्रदर्शनी खेलबारे भने अहिले नै टुङ्गो लागि नसकेको सदस्यसचिव घिसिङले बताएका छन्।

नवौंको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने र उक्त ट्रफी सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रर्दशन गर्ने राखेपको योजना छ। नवौंमा सहभागी खेलाडी र अफिसियललाई दैनिक दुई हजार रूपैयाँ भत्ता दिने निर्णय राखेपले गरेको छ। राखेपले नवौं खेलकुद आयोजनाका लागि ९७ करोड ८७ लाख रूपैयाँ प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले ६० करोडको सीमा तोकेको छ।

‘हामीले प्रस्ताव गरेअनुरूपको बजेट आएन। तथापि, यो बजेटले पनि व्यवस्थित रूपमा नवौं आयोजना गर्नेछौं। सरकारले समयमा नै यो बजेट निकास गरे तयारीमा सहजता हुनेछ,’ घिसिङले भने। राष्ट्रिय खेलकुद विकास ऐन २०७५ जारी भएको लामो समय बिते पनि नियमावली बन्न नसक्दा ऐन कार्यान्वयनमा समस्या देखिँदै आएको छ। यद्यपि, नियमावली निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको सदस्यसचिव घिसिङले जानकारी दिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणसमेत राखेपले आफ्नो योजनामा समावेश गरेको छ। राखेपले खेलाडी छात्रवासको निर्माण मूलपानीमा र २५ सय क्षमताको भलिबल कभर्ड हल त्रिपुरेश्वरस्थित राखेपभित्र नै बनाउने निर्णय भएको छ।

साथै पछिल्ला समय खेलाडीका लागि फिटनेस सेन्टर आवश्यक देखिएकाले त्यसको स्थापना गर्ने राखेपले निर्णय गरेको छ। ‘राखेपमा भत्किएको स्विमिङ पुलको स्थानमा कभर्डहल बनाउनेछौं। छात्रावास मूलपानीमा निर्माण गर्ने तय भए पनि फिटनेस सेन्टरका लागि जग्गा खोज्ने काम भइरहेको छ,’ सदस्यसचिव घिसिङले भने, ‘केही समय अध्ययन गरेर निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउँछौं।’

बोर्ड बैठकले राखेप उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा खेल संघ विवाद सहजीकरण समिति, बोर्ड सदस्य अन्जन धमलाको संयोजकत्वमा राखेपको भौतिक संरचना तथा सम्पति यकिन तथा प्रदेशमा हस्तान्तरण समिति, राखेपको कर्मचारी सेवा, सर्त सम्बन्धमा विनियम तयार गर्न राखेप सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरेको छ।

सन् २०२३ मा हुने १४औं साग, २०२३ मा हुने १९औं एसियाली खेलकुद, सन् २०२४ मा हुने पेरिस ओलम्पिक, २०२६ मा हुने शीतकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सको तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने राखेपको आगामी योजना समावेश छ। र

प्रकाशित: १६ श्रावण २०७९ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App