१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

फाइनल पुग्ने नेपालको आशा

साफ यु–२० च्याम्पियनसिप

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यु–२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारतको सामना गर्दा सुखद नतिजासहित फाइनल प्रवेशको सम्भावना बलियो पार्ने बताएका छन्।

दुई खेलको समाप्तीमा सतप्रतिशत नतिजासहित ६ अंक जोडेको नेपाल पाँच टोली सम्मिलित च्याम्पियनसिपको राउन्ड रोबिन लिगको दोस्रो स्थानमा छ। तीन खेलमा तीन वटै खेल जितेको बंगलादेश ९ अंकसहित शीर्षमा छ। भारत दुई खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ। समान दुई खेल खेलेको माल्दिभ्स र तीन खेल खेलेको श्रीलंकाले भने अंक खाता खोल्न सकेका छैनन्। माल्दिभ्स र श्रीलंकाको फाइनल पुग्ने सम्भावना समाप्त भैसकेको छ।

राउन्ड रोबिनका आधारमा जारी प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने राष्ट्र फाइनल पुग्नेछ। तीन खेलमा सतप्रतिशत जित निकालेको बंगलादेश फाइनलमा पुगिसकेको छ। अब फाइनलको दौडमा नेपाल र भारत छन्। भारतलाई नतिजा सुम्पिएमा नेपालले फाइनल प्रवेशका लागि मंगलबार बंगलादेशविरुद्ध हुने समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ। नेपालले सुखद नतिजा ल्याएमा भने भारतको यात्रा समूह चरणमा समाप्त हुनेछ। यी दुई टोलीले अंक बाँडेमा भने दुवै टोलीले अन्तिम दिनको नतिजा कुर्नुपर्नेछ।

‘फाइनल प्रवेशका लागि भारतविरुद्धको खेल निकै महत्त्वपूर्ण छ,’केसीले भने, ‘हामीले राम्रो तयारी गरेका छौं, त्यसैले भारतविरुद्ध सुखद नतिजासहित फाइनलमा स्थान बनाउनेमा विश्वस्त छौं। भारतलाई नतिजा सुम्पिए वा अंक बाँडे हामीले अन्तिम खेलमा जित्नैपर्ने दबाब हुनसक्छ।’ लगातार दुई खेलमा निकालेको सानदार जितले टोलीको मनोबल बढेकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथ सुखद नतिजा ल्याउने प्रशिक्षक केसीको भनाइ छ।

‘दक्षिण एसियामा सबै टोलीको स्तर उस्तै हो। त्यसैले कोही टोली माथि छैनन्,’केसीले भने, ‘प्रतियोगितामा आउनुअघि नै तेस्रो खेल भारतविरुद्ध र अन्तिम बंगलादेशविरुद्ध छ भन्ने थाहा पाएर नै हामी आएका हौं। यहाँ आएर प्रतिद्वन्द्वी निर्धारण भएको होइन। हामी उपाधि जित्न आएका हौं। त्यसैले सबै टोलीको चुनौती पन्छ्याउन हामी तयार छौं।’ पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि पनि ३–० को फराकिलो नतिजा निकालेको थियो।

यता पहिलो खेलमा बंगलादेशलाई २–१ को नतिजा सुम्पिएको साबिकको विजेता भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै फाइनल प्रवेशका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ। 

प्रकाशित: १५ श्रावण २०७९ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App