२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

पाँडेलाई हटाउने विषयमा अड्कियो एन्फा बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक स्थगित भएको एक साता नाघे पनि बैठकको नयाँ मितिको घोषणा अहिलेसम्म हुन सकेको छैन।

अध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फाको पहिलो कार्यसमिति बैठकबाट तीन महत्त्वपूर्ण निर्णय गराए। महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाँडेको नियुक्ति। पहिलो बैठकमै यी महत्त्वपूर्ण नियुक्तिका विषयमा विवाद नआएको होइन। तर शपथ लगत्तै असार ८ मा बसेको पहिलो बैठकमै विर ोधमा उत्रँदा गलत सन्देश जाने भन्दै त्यसलाई सर्वसम्मत निर्णयका रूपमा सार्वजनिक गरियो।

कार्यसमितिको दोस्रो बैठक दुई पटक स्थगित भइसकेको छ। अध्यक्ष नेम्बाङको स्वास्थ्यमा अचानक समस्या आएको भन्दै स्थगित भएको बैठक त्यसको पाँच दिनपछि पुनः बोलाइएको थियो। तर वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित बहुमत कार्यसमिति सदस्यले पहिलो बैठकले गरेको जर्मन नागरिक पाँडेको नियुक्ति प्रक्रिया नपुर्‍याई गरिएको भन्दै उनको बर्खास्तीको माग राखेपछि कार्य समितिको दोस्रो बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भयो। जुन बैठक कहिले बस्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन।

बैठक स्थगित भएलगत्तै खड्कासहित कुल १२ केन्द्रीय सदस्यले पाँडेलाई बर्खास्त गर्न माग राख्दै महासचिव राईसमक्ष निवदेन बुझाएका थिए। १९ सदस्यीय कार्यसमितिका १२ सदस्यले हस्ताक्षर सहित पाँडेलाई हटाउन माग गरेपछि दुबिधामा परेका अध्यक्ष नेम्बाङले बैठक बोलाउन सकेका छैनन्।

उनीहरूले बैठक बस्नुअघि पाँडेलाई बर्खास्त गर्नुपर्ने बटमलाइन लिएकै कारण बैठक अनिश्चित बनेको हो। यसअघि खड्का समूहले भ्रष्टाचारको मुद्दामा निलम्बनमा रहेका एन्फा पूर्वअध्यक्ष गणेश थापाको छोरा गौरव थापालाई प्रमुख कार्यकारी अधिकृत वा उप महासचिवमा नियुक्ति दिलाउन पाँडेलाई बर्खास्त गर्न माग राख्दै बैठक भाँडेको आरोप लाग्दै आएको थियो। गौरवले केही दिनअघि विज्ञप्ति जारी गर्दै आफू एन्फाको कुनै पनि पदको दौडमा नरहेको भन्दै स्वार्थ समूहले आफ्नाविरुद्ध अनावश्यक प्रचारबाजी गरेको दाबी गरेका थिए। साथै गौरवले एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईले नै एन्फामा आएर काम गर्न आग्रह गरेको समेत दाबी गरेका थिए।

पाँडेलाई बर्खास्त गर्नुपर्ने माग राख्दै हस्ताक्षर गर्नेमा वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीपक खतिवडा एवं केन्द्रीय सदस्य महेन्द्र क्षत्री, पुरुषोत्तम थापा, सरिना श्रेष्ठ, भरत बुढथापा, टीका लामा, भोजराज शाही, अनिल मल्ल र विकासनरायण श्रेष्ठ थिए। पाँडेलाई बर्खास्त गर्न माग राख्ने सदस्यको संख्या १३ पुगेको छ। शुक्रबार रमेश व्यञ्जनकारले पनि पाँडेलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन बुझाएका छन्।

अध्यक्ष नेम्बाङलाई सम्बोधन गर्दै बुझाइएको निवदेनमा भनिएको छ, ‘असार आठमा नियम नपुर्‍याई बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक पाँडेलाई नियुक्त गरिएको र सो नियुक्ति एन्फाको विधानविपरीत भएकाले त्यसलाई सच्याई पाऊँ।’ निवेदनमा अगाडि भनिएको छ, ‘साथै निज पाँडेलाई एन्फाको सम्पूर्ण कागजात हेर्ने, पत्राचार गर्ने प्रयोजनका लागि इमेल पासवर्ड प्रदान गरिएको छ। सो कुराले एन्फाको गोपनीयता, राष्ट्रिय अस्तित्व र सार्वभौमिकतामाथि आँच आउने देखिएकाले त्यस्ता विषयमा गम्भीर हुन आग्रह गर्दै उक्त नियुक्ति विधानविपरीत भएकाले धारा ३८(६) बमोजिम बर्खास्तको माग गर्दछौं।’

एन्फा माहासचिव राईले भने पाँडेको नियुक्ति पहिलो कार्यसमिति बैठकले गरेकाले निवेदन दिएका भरमा उनलाई बर्खास्त गर्ने प्रक्रिया अघि नबढ्ने बताए। ‘एन्फा कार्यसमितिको पहिलो बैठकले नवीन पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त ग रेको हो। त्यसैले उनका बारेमा निर्णय लिने अधिकार कार्य समितिको बैठकको रहनेछ। कसैले निवेदन बुझाउँदैमा त्यसमाथि प्रक्रिया अघि बढ्दैन। बैठकमा एजेन्डाको रूपमा आए यस विषयमा छलफल गरी निस्कर्षमा पुग्न सकिन्छ,’ राईले अगाडि भने। साथै राईले कार्यसमिति बैठक बस्नेबारे गृहकार्य चलिरहेकाले छिट्टै बैठक बस्नेमा आशावादी रहेको बताए।

प्रकाशित: १४ श्रावण २०७९ ००:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App