१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

दोस्रो खेलमा पनि नेपालको सानदार प्रदर्शन

भारतमा जारी साफ यु-२० च्याम्पियनसिपमा बुधबार नेपालले श्रीलंकालाई ३-० गोलअन्तरले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। सोमबार पहिलो खेलमा माल्दिभ्सविरुद्धको खेलमा उत्रिएको टोलीलाई मुख्य प्रशिक्षक मेघराज केसीले निरन्तरता दिएको खेलमा नेपालले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा उत्कृष्ट खेल देखाउँदै अर्को सानदार जित निकालेको हो।

भुवनेश्वरस्थित कलिंग स्टेडियममा बुधबार श्रीलंकालाई ३-० गोलअन्तरले पराजित गर्ने क्रममा नेपालका लागि कप्तान आयुष घलान, कृतीशरत्न छुन्जु र मनग्य नकर्मीले समान १/१ गोल गरे। श्रीलंकामाथि बारम्बार दबाब दिएर खेलेको नेपालले ५८औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो।

अभिषेक वाइबाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत जाली चुमाउन सफल भएका थिए।

त्यसपछि खेलको ६५औं मिनेटमा कृतीशले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए। आयुषले उपलब्ध गराएको पासलाई कृतीशले आकर्षक गोल गर्दा टोलीको अग्रता दोब्बर भएको थियो। दुई गोल गरेपछि दबाबमा परेको श्रीलंकाले केही सम्हालिएको प्रदर्शन गर्ने प्रयास गरे पनि ८४औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित निश्चित गरे।

यसअघि पहिलो हाफमा दुवै टोलीले केही सुन्दर मौका गुमाएका थिए। श्रीलंकाले खेलअवधिभरको प्रयासमध्येमा दुई प्रहार माथिल्लो बारमा लाग्दा अभागी भएको थियो। इन्जुरी समयमा श्रीलंकाले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुक्दा अग्रता छोट्याउने अवसर गुमेको थियो। बुधबारको जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ। नेपाल फाइनलनजिक समेत पुगेको छ। लगातारका दुई खेलमा स्पष्ट जित निकालेको नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलमा नेपालले ७ गोल गर्दा एक गोल पनि खाएको छैन।

प्रतियोगिताअन्तर्गत बुधबार नै भएको दिनको पहिलो खेलमा भ्रमणकारी टोली बंगलादेशले आयोजक भारतलाई २-१ गोलअन्तरले स्तब्ध बनायो। यससँगै बंगलादेशले पनि जारी साफ यु-२० प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा श्रीलंकामाथि १-० को संघर्षपूर्ण जित निकालेको बंगलादेशले पनि लगातारको जितसँगै समूहतालिकामा ६ अंक जोड्न सफल भयो। समान अंक भए पनि बंगलादेश गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ।

घरेलु टोलीविरुद्ध मैदान उत्रिएको बंगलादेशले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त भएको थियो। सुरुआतमा प्रतिस्पर्धात्मक बनेको खेलको २९औं मिनेटमा बंगलादेशका मोहम्मद नोभाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। भारतीय डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बक्सभित्रबाट सहज गोल गरे। तर, ३५औं मिनेटमा भारतका गुरकिरात सिंहले हेडरमार्फत गोल गर्दा खेल १-१ को बराबरीमा आएको थियो। पहिलो हाफको इन्जुरी समयमा नोभाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई २-१ को जित दिलाए। भारतका डिफेन्डरले बंगलादेशका खेलाडीलाई बक्सभित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

यसअघि बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १-० ले हराएको थियो। साबिक विजेता भारतले भने तालिकामा अंक जोड्न सकेको छैन।

नेपालले जुलाई ३१ मा भारतसँग र अगस्ट दुईमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ। राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल अगस्ट पाँचमा हुने तालिका छ।

प्रकाशित: १२ श्रावण २०७९ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App