२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

आयुषको यादगार जन्मदिन

बल अगाडि बढाउँदै कप्तान आयुष घलान। तस्बिर सौजन्यः एन्फा

सिनियर राष्ट्रिय टोलीमा प्रभाव जमाइसकेका मिडफिल्डर आयुष घलानलाई पहिलो पटक उमेरसमूहको प्रतियोगितामा नेपाली युवा टोलीको कप्तानी सम्हाल्ने अवसर बन्यो, साफ यु–२० च्याम्पियनसिप।  

भारतको भुवनेश्वरस्थित कलिंग रंगशालामा सोमबारबाट सुरु भएको यस प्रतियोगिता यु–२० टोलीमा रहेका अधिकांश युवा खेलाडीका लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। कप्तान आयुषका लागि सोमबारको दिन विशेष बन्यो। माल्दिभ्सविरुद्ध ४–० को जितसहित प्रतियोगितामा नेपालको सानदार सुरुआत, आफ्नो कप्तानीको पनि सुखद सुुरुआत अनि यादगार जन्मदिन।

नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले माल्दिभ्समाथि सहज जित कप्तान आयुषको जन्मदिनको विशेष उपहार भए पनि त्यसको खुसीयाली भने उपाधि जितेपछि मात्र मनाउने प्रतिक्रिया दिए।

‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका थियौं, कप्तान आयुषबाहेक लगभग सबै खेलाडीका लागि यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो,’ केसीले भने,‘सानदार सुरुआत गरेका छौं। हामी उपाधि जित्नका लागि आएका हौं। श्रीलंकाविरुद्ध बुधबार हुने दोस्रो खेलमा थप उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं। आजको जित कप्तान घलानका लागि विशेष उपहार हो। साथै समग्र नेपाली फुटबल समर्थकका लागि पनि। हामी उपाधिपछि मात्र यसको खुसीयाली मनाउनेछौं।’

नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, कृतीशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक गोल गरेका थिए। काउन्टर रणनीति लिएको माल्दिभ्सविरुद्ध खेल पूर्ण रूपमा दबाबमा राखे पनि गोल गर्नका लागि भने नेपालले ४२ मिनेटसम्म कुर्नुपर्‍यो। दीपेशले नेपाललाई अग्रता दिलाएका थिए। कप्तान आयुष घलानको फ्रि किक माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गर्दा रिबाउन्डमा प्राप्त बललाई दीपेशले करिब २५ यार्ड टाढाबाट गरेको सशक्त प्रहारले जाली चुमेको थियो।

५८औं मिनेटमा सुगमले नेपालको अग्रता दोब्बर पारे। काउन्टर अट्याकमा प्राप्त बलमा माल्दिभ्सका गोलकिपर अलीसँग वान भर्सेस वानमा दोस्रो बार च्याप्दै गरेको प्रहारमा सुमनले नेपालको अग्रता दोब्बर पारेका थिए। तेस्रो गोलका लागि भने नेपालले लामो समय कुर्नु परेन।  

त्यसको तीन मिनेटपछि नै प्राप्त पेनाल्टीलाई कृतीशरत्नले सदुपयोग गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए। माल्दिभ्सका हुसैन शालिनले आयुषलाई लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। इन्जुरी समयको अन्तिम मिनेटमा वैकिल्पक खेलाडी मनग्यले गोल गर्दै नेपालको सहज जित पक्का गरेका थिए। मनग्य खेल सकिन ७ मिनेट बाँकी रहँदा सुमित श्रेष्ठको स्थानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।

मुख्य प्रशिक्षक मेघराज केसीले आइतबार पत्रकार सम्मेलनमा बताएजस्तै नेपालले खेलको सुरुआती मिनेटबाटै आक्रामक शैली अपनाउँदै माल्दिभ्समाथि दबाब बनाएको थियो। २८औं मिनेटमा आयुषले गोलको अवसर पाए पनि उनको फितलो प्रहार अकासिएको थियो। त्यसको तीन मिनेटपछि सुमनको प्रहार पनि पोस्टनजिकैबाट बाहिरियो।

त्यस्तै २३औं मिनेटमा गोलकिपर ईश्वर गुरुङले माल्दिभ्सका जैन जफरको फ्रिकिक विफल पार्दै नेपालको संकट टारेका थिए। यता माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली युवा टोली आफूहरूभन्दा निकै अब्बल देखिएकाले पनि नतिजा उनीहरूकै पक्षमा गएको बताए। ‘आज हामीलाई खेलको सुरुआतबाटै नेपालले पूर्ण रूपमा दबाबमा राख्यो, हामीले खुलेर खेल्न नै पाएनाैं,’ उनले भने, ‘हारको अन्तर पनि फराकिलो रह्यो। तर हामी आगामी खेलमा सुधारिएको प्रदर्शनका साथ उपाधि सम्भावना भने कायम राख्न चाहन्छौं।’ नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ। तेस्रो खेलमा नेपालले घरेलु टोली भारतसँग खेल्नेछ भने अगस्ट २ मा बंगलादेशविरुद्ध खेल्नेछ। राउन्ड रोबिन लिग पद्धतिमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल खेल अगस्ट ५ मा हुनेछ।

प्रकाशित: १० श्रावण २०७९ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App