१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

बलियो माध्यम हुनसक्छ खेलकूटनीति

काठमाडौं- पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध सुमधुर छैन। नेपालको जननिर्वाचित संविधानसभाले संविधान बनाएयता भारत नेपालसँग नराम्ररी चिढिएको छ र त्यसको प्रतिक्रिया नाकाबन्दीमार्फत दिइरहेको छ। 'नेपालको संविधान २०७२' जारी भएको दिन असोज ३ देखि सुरु दुई देशबीचको खराब राजनीतिक सम्बन्धलाई कूटनीतिले व्यवस्थापन गर्न सकिरहेको छैन। नाकाबन्दीका कारण चरम आर्थिक संकट बेहोरिरहेको नेपालमा सामान्य जनजीवन पनि अत्यन्तै कष्टकर बन्दै गइरहेको छ।

सामान्य कूटनीति असफल भइरहेको विषम अवस्थामा अहिले विवादबीच नेपाली राष्ट्रिय फुटबल टोली नवौं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप खेलेर भारतको केरालाबाट फर्किइसकेको छ। दुई महिनापछि भारतमै हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पनि नेपालले २३ खेलमा ५ सयभन्दा बढिलाई सहभागि गराउने तयारी गरिरहेको छ।

भारतको नाकाबन्दीले नेपालको समग्र जनजीवन प्रभावित भइरहँदा खेलकुद पनि अछुतो छैन। इन्धन अभावले खेलाडी र प्रशिक्षकलाई अभ्यास गर्न अप्ठेरो परेको छ। सागको छनोट भारतीय नाकाबन्दीले प्रभावित छ। नेपालको सार्वभौमिकतामा हस्तक्षेप गर्दै नाकाबन्दी लगाएको कारण भारतले गर्न लागेको सबैखाले प्रतियोगिता बहिष्कार गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा चर्को रूपमा उठेको थियो।

'नाकाबन्दीले खेलाडी प्रशिक्षण गर्ने ठाउँसम्म जान सकेका छैनन्। समयमा छनोट प्रतियोगिता हुन सकेको छैन। राष्ट्रिय खेलकुद प्रभावित भएको छ। यस्तो अवस्थामा भारतमा भएको साफ च्याम्पियनसिपमा हामीले नराम्रो हार भोगिसकेका छौं। अझैसम्म बन्द प्रशिक्षण सिविर राख्न नसकेकाले साग गेम्समा पनि राम्रो नतिजा अपेक्षा गर्न सकिन्न,' सागका दोहोरो स्वर्ण पदकधारी कराते खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ भन्छन्, 'तथापि साग भनेको नेपाली खेलाडीका लागि ओलम्पिकसरह हो, साफ च्याम्पियनसिप चाहिँ विश्वकपजस्तै। त्यसैले हामीले खेलकुदलाई राजनीतिभन्दा माथि राखेर सहभागिता जनाउनुपर्छ। सके यसलाई कूटनीतिका रूपमा प्रयोग गर्नुपर्छ।'

अखिल नेपाल फुटबल संघ (एन्फा) का विकास निर्देशक एवं सहमहासचिव सञ्जिव मिश्र खेलुकदलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि माध्यम बनाउनुपर्ने विचार राख्छन्। 'हामीले आफै हाम्रो संविधान बनाउँदा पनि भारतले सार्वभौम राज्यप्रति गनुपर्ने व्यवहारको सामान्य मर्यादासमेत नाघेर अमानवीय व्यवहार गरेको छ। तर, हामीले काँडाले हान्नेलाई फुलको जवाफ दिनुपर्छ,' खेलविज्ञ मिश्रले विचार राखे, 'खेलकुदलाई राजनीतिभन्दा माथि राखेर व्यवहार गर्नुपर्छ। खेलकुद भाइचाराका लागि हो। बिग्रेको सम्बन्ध सुधारका लागि हो। तर, यसका लागि खेल निकायको प्रयासमात्र पर्याप्त हुँदैन। सरकारले पनि साफ च्याम्पियनसिप र सागमा नेपालको सहभागितालाई भारतप्रति लगाएको गुनका रूपमा स्थापित गर्न सक्नुपर्छ। तर, सरकारले खेलकुद एउटा कूटनीति पनि हो भन्ने आफै बुझेको छैन। यस्तो अवस्थामा खेल कूटनीति प्रयोग कसरी गर्नु।'

सात दशकअघिसम्म अमेरिका र चीनको सम्बन्ध योभन्दा धेरै भयाभह थियो। चीनले त अमेरिकामात्र नभई थुप्रै देशसँग अछुत व्यवहार गर्ने गरेका थिए। सन् १९४९ अक्टोबर १ मा माओ जेडोङको नेतृत्वमा जनगणतन्त्रका रूपमा स्थापित भएपछि चीनले विश्वका धेरै देशसँग सम्बन्धविच्छेदको अवस्था बेहोर्नुपरेको थियो।

कट्टरपन्थी कम्युनिष्टको शासन अस्विकार गर्ने अन्तर्राष्ट्रिय समुदायको नेतृत्व अमेरिकाले गरेको थियो। त्यसैले चीनको सबैभन्दा खराब सम्बन्ध पनि अमेरिकासँगै थियो। राजनीतिक कारणले अमेरिका र चीन दुई ध्रुवमा थिए। उदारवादी राष्ट्रहरूले चीनमाथि अछुत व्यवहार गर्ने क्रममा कुटनीतिक सम्बन्धसमेत विच्छेद गरेको अवस्था थियो। राजनीतिक रूपमा चीन र पश्चिमा उदारवादी राष्ट्रबीचको प्रतिद्वन्द्विता उत्कर्षमा थियो।

दुई दशकभन्दा लामो समयसम्म राजनीतिक सम्बन्धको कटुता बेहोरेपछि चीनले सन् १९७१ मा अमेरिकासँग सम्बन्ध सुधारको प्रयास गर्योय, खेलकुदमार्फत। पिङ पङ डिप्लोमेसीको नामले विश्व इतिहासमा प्रख्यात यो चिनिया प्रयास अहिलेसम्म पनि कूटनीतिको आदर्श पहलका रूपमा लिइन्छ।

अत्यन्तै कटुतापूर्ण सम्बन्ध रहेको अमेरिकाको टेबलटेनिस टोली १९७१ अप्रिलको पहिलो साता ३१ औं विश्व च्याम्पियनसिपका लागि जापानको नागोयामा थियो। चीनले अमेरिकी टोलीको एसिया भ्रमणलाई कूटनीतिक सम्बन्ध सुधारको एउटा राम्रो अवसरमा लियो र अमेरिकालाई चीन भ्रमणको निम्तो दियो। अमेरिका पनि चीनसँग दीर्घकालसम्म सम्बन्ध खराब राख्न चाहँदैनथ्यो। त्यसैले अमेरिकी टेबलटेनिस टोलीका खेलाडी र केही पत्रकार अप्रिल १० मा मैत्रीपूर्ण खेलका लागि चीन भ्रमणमा गयो। जुन सबैखाले स्तरमा १९४९ मा चीनले कम्युनिष्ट शासनव्यवस्था अपनाएयताको पहिलो अमेरिकी टोलीको औपचारिक भ्रमण थियो।

चीनले खेलकुद कूटनीति उपयोग गर्न 'पहिला मित्रता, प्रतिस्पर्धा त्यसपछि' भन्ने नारासाथ गरेको त्यो मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगितासँगै अमेरिका र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको मानिन्छ।

खेलकुद आफैमा खेलमात्र होइन। यो खेलभन्दा धेरै बढी हो। खेलकुद मनोरन्जनको माध्यम हो। भाइचारा र मित्रताको आधार पनि हो। खेलकुद शिक्षा हो। खेलकुद संस्कार पनि हो। चीन र अमेरिकाबीचको पिङ पङ डिप्लोमेसीले खेलकुदको यो बहुआयामिक महत्व प्रमाणित गरेको छ।

छिमेकी भारत र पाकिस्तानबीच पनि राजनीतिक कटुतालाई क्रिकेटको माध्यमबाट मत्थर पारिएका उदाहरण छन्। राजनीतिक तिक्तता र आतंककारी आक्रमणबीच पनि राष्ट्र प्रमुखहरूले क्रिकेटको बहानामा एक–अर्को देशको भ्रमण गरेर थुप्रैपटक सम्बन्ध सुधारको प्रयास गरेका छन्।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य खेलकुदलाई कूटनीतिको एउटा महत्वपूर्ण पक्ष मान्छन्। 'खेलकुदले देशभित्र पनि एकता कायम गर्छ र विदेशी राष्ट्रसँग पनि सम्बन्ध जोड्न योगदान गर्छ,' आचार्यले भने, 'ओलम्पिक र एसियाली खेलकुदजस्ता ठूला खेलमहोत्सव पनि अन्तर्राष्ट्रिय कूटनीतिकै एउटा पाटो हुन्।'

नेपाल र भारतको बीचमा भने थुप्रैखाले सम्बन्ध रहेको बताउने उनले खेलकुद सम्बन्धलाई प्राथमिकतासाथ निरन्तरता दिनुपर्ने विचार राखे। 'नेपाल र भारतबीचको सबै सम्बन्ध बिग्रिएको होइन। खेलकुदको सम्बन्ध पनि राम्रो छ। राम्रो अवस्थामा रहेका सम्बन्धले बिग्रेको सम्बन्ध सुधारमा सहयोग गर्नुपर्छ,' उनले थपे, 'हामीले भारतसँगको खेलसम्बन्धलाई निरन्तरता दिँदा बिग्रिइरहेको सम्बन्ध सुधार्न विश्वासको वातावरण बनाउँछ। खेलकुद कूटनीतिको एउटा बलियो माध्यम हो। हामीले यसको प्रयोग गर्न सक्छौं र गर्नुपर्छ।'

प्रकाशित: १६ पुस २०७२ २१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App