१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

श्रीलंकाको लक्ष्य पुनरागमन

दिमुथ करुणारत्नेको कप्तानीमा रहेको श्रीलंका आइतबारबाट सुरु हुने पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा जितसहित शृंखलामा पुनरागमन गर्न चाहन्छ।

दुई टेस्टको शृंखलामा पाकिस्तान १-० ले अघि छ। पहिलो टेस्ट पाकिस्तानले चार विकेटले जितेको थियो। तर, पाकिस्तान आफ्ना प्रमुख खेलाडी तीव्र गतिका बलर साहिन शाह अफ्रिदीको चोटले दबाबमा छ। पहिलो टेस्टमा सहज जित निकाल्दा अफ्रिदीले उत्कृष्ट प्रदर्शन गरेका थिए। श्रीलंकाले गाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पछिल्ला तीन सातामा यो छैटौं टेस्ट खेल्न लागेको हो।

अस्ट्रेलियाविरुद्धको पहिलो दुई टेस्टमध्ये श्रीलंकाले पहिलो खेल तीन दिन भित्रमै १० विकेटले हारेको थियो। दोस्रो टेस्ट भने श्रीलंका एक इनिङ र ३९ रनसहित शृंखला १-१ को बराबरी गर्न सफल भयो ।‘

अस्ट्रेलिया र पाकिस्तानविरुद्ध खेल्दा गालेको विकेटमा निकै परिवर्तन देखियो,’ श्रीलंकाका उपकप्तान धनञ्जन डी सिल्भाले भने, ‘गालेको पिच चौथो र पाँचौं दिन ब्याटरका लागि सुहाउँदो रहँदैन ।’ श्रीलंकाका लागि लेफ्ट आर्म स्पिनर प्रभात जयसुर्या सबैभन्दा महत्त्वपूर्ण खेलाडी बन्न सक्छन्। अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टसँगै डेब्यु गरेका जयसुर्याले पहिलो र दोस्रो इनिङ गरी कुल १२ विकेट लिएका थिए। पाकिस्तानविरुद्धको पहिलो टेस्टमा उनको नाममा नौ विकेट छ। स्पिनर माहिस थिकसाना भने औंलाको चोटका कारण दोस्रो टेस्टमा हुने छैनन्।

पाकिस्तानविरुद्धको दोस्रो टेस्ट श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजको एक सय टेस्ट खेल पुग्नेछ। उनले सन् २००९ मा गालेमै पाकिस्तानविरुद्धको खेलसँगै टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। ३५ वर्षे म्याथ्युजले त्यसयता ४५ को औसतमा ९९ खेलमा १३ सतकसहित ६ हजार ८ सय ७६ रन जोडेका छन्। यसअघि यो टेस्ट कोलम्बोमा हुने तय भए पनि त्यहाँ जारी सरकारविरोधी प्रदर्शनका कारण पुनः गालेमा सारिएको हो। पाकिस्तानका कप्तान बाबर आजमले पनि जयसुर्याको उपस्थितिले श्रीलंका बलियो देखिए पनि आफ्ना ब्याटरमाथि विश्वस्त रहेको बताए।

‘हामीलाई आफ्ना खेलाडीको क्षमता थाहा छ। सबैको मनोबल उच्च छ,’उनले भने। पहिलो टेस्टमा ओपनर अब्दुल्लाह सफिकको अविजित एक सय ६० रनको मद्दतमा पाकिस्तानले तीन सय ४२ रनको लक्ष्य सहजै पार गरेको थियो। दुवै टोलीका लागि विश्व टेस्ट च्याम्पियनसिपमा अंक प्राप्त गर्न यो टेस्ट महत्त्वपूर्ण छ। पाकिस्तान अंकतालिकाको तेस्रो स्थानमा छ भने श्रीलंका छैटौं स्थानमा छ।

प्रकाशित: ८ श्रावण २०७९ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App