७ वैशाख २०८१ शुक्रबार
खेल

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी प्रदेश पहिलो

१२औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेश पहिलो बन्दै रनिङ शिल्डको उपाधि उचालेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा १६ स्वर्ण, ११ रजत र ११ कांस्य पदकका साथ च्याम्पियन भएको हो।

पाँच प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा दोस्रो भएको बाग्मती प्रदेशले १६ स्वर्ण निकाल्दा ९ रजत र २० कांस्य पदकमा चित्त बुझायो। तेस्रो भएको सुदूर पश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य पदक तालिकामा दर्ज गर्‍यो।

चौथो भएको गण्डकीले ५ स्वर्ण, ११ रजत र ११ नै कांस्य पदक हात पा¥यो भने ५ स्वर्ण, १० रजत र १५ कांस्य पदक जितेको कर्णाली पदक तालिकाको पुछारमा रह्यो। समग्रमा पहिलो, दोस्रो र तेस्रो भएका प्रदेशले क्रमशः २५, २० र १५ हजार रूपैयाँ प्राप्त गरे।

गण्डकी र बाग्मतीलाई भलिबल उपाधि

प्रतियोगितामा भलिबलतर्फको खेलमा बिहीबार गण्डकी प्रदेश पुरुष र बाग्मती प्रदेश महिलातर्फ च्याम्पियन भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न पुरुषतर्फको फाइनल खेलमा गण्डकीले लुम्बिनीलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै च्याम्पियन बनेको हो।

२५–११, २५–१० को स्कोरबाट सुरुआती दुई सेटमा जित निकालेको गण्डकीले तेस्रो र चौथो सेटमा भने २०–२५, २०–२५ को नतिजा सुम्पिएको थियो। त्यसपछि निर्णायक तथा अन्तिम सेटमा पुगेको खेलमा भने गण्डकीले सम्हालिएको प्रदर्शन गर्‍यो। निर्णायक सेटमा सुरुआतबाट लिएको अग्रतालाई कायम गर्न सफल हुँदा गण्डकीले १५–१२ को स्कोर निकालेको हो।

प्रतियोगिताअन्तर्गत बिहीबार नै सम्पन्न महिलातर्फको फाइनल खेल पनि रोमाञ्चक बन्यो। च्याम्पियन बनेको बाग्मतीले लुम्बिनीमाथि जित निकाल्न पाँचै सेटमा संघर्ष गर्नुपर्‍यो। ३–२ कै सेटको नतिजाबाट च्याम्पियन भएको बाग्मतीले पहिलो सेट २१–२५ ले गुमाउँदा दोस्रो सेटमा भने २५–२१ को जित निकालेको थियो। तेस्रो सेट पुनः २१–२५ ले गुमाएको बाग्मतीले चौथो सेटमा २५–१९ ले पक्षमा पारेको थियो।

त्यसपछि निर्णायक सेटतिर लम्किएको खेलमा बाग्मतीले सुरुआतबाट नै अग्रता लिएर खेल्यो। निर्णायक सेटमा १५–७ को नतिजा निकालेपछि बाग्मतीको उपाधि पक्का भएको थियो। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेतालाई सदस्यसचिव टंकलाल घिसिङलगायतले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरे।

एकल स्पर्धाको खेलमा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीले क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार प्राप्त गर्दा समूहगतको खेलमा स्वर्ण, रजत र कांस्य पदक जित्ने टोली सदस्यले क्रमश २५ सय, १५ सय र १ हजार रूपैयाँ प्राप्त गरे। 

प्रकाशित: ३१ असार २०७९ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App