४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

डी मारिया युभेन्टसमा

पेरिस सेन्ट जर्मन (पिएसजी) बाट फुकुवा भएका एन्जल डी मारियाको अनुबन्धन प्रक्रिया पूरा भएसँगै शुक्रबार इटालियन क्लब युभेन्टसमा जोडिएका छन् ।

शुक्रबार युभेन्टसले एक विज्ञप्ती जारी गर्दै डी मारियाले सबै प्रक्रिया पूरा गरी क्लबमा अनुबन्ध भएको जनाएको हो। ‘एन्जल डी मारिया अब युभेन्ट्सका खेलाडी भएका छन्,’ जारी विज्ञप्तीमा क्लबले भनेको छ। क्लबले सन् २०२३ जुन ३० सम्मका लागि उनीसँग सम्झौता भएको उल्लेख गरेको छ। अर्जेन्टिनी विंगर डी मारियाले एक वर्षे टुरिन बसाइँमा सात मिलियन युरो तलब पाउने त्यहाँका सञ्चार माध्ययमले जनाएका छन्।

३४ वर्षे डी मारियाले कतारमा हुन लागेको विश्वकपको पूर्वसन्ध्यामा इटालियन क्लब जोडिन लागेका हुन्। पछिल्लो पटक सम्पन्न कोपा अमेरिका फुटबलको च्याम्पियन बन्दा डी मारिया टोली सदस्य थिए। फ्रेन्च च्याम्पियन पिएसजीसँग सम्झौता नवीकरण नभएपछि उनले विकल्पको बाटो खोजिरहेका थिए।

उनकै देशका स्टार खेलाडी लियोनल मेसीलाई पिएसजीमा अनुबन्ध गरेपछि उनको स्थान अन्योल भएको थियो। मेसी गत सिजन स्पेनिस क्लब बार्सिलोनबाट पिएसजी गएका थिए। बार्सिलोनाले सम्झौता अनुसार क्लबमा राख्न नसक्ने भएपछि मेसी पूर्वसहकर्मी नेयमार रहेको क्लब रोज्न पुगे। कीर्तिमानी मूल्यमा पिएसजीमा अनुबन्ध भएका नेइमारबाट भने क्लबले अपेक्षाअनुसारको नतिजा निकाल्न सकेको छैन। पिएसजी बसाइँमा डी मारियाले पाँच पटक लिग वान र  १३ वटा घरेलु प्रतियोगिताको उपाधि जितेका थिए ।

उनले पिएसजीबाट च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेनन्। गत सिजन डी मारिया लिग वानको १९ खेलमा मात्र पहिलो रोजाइमा परे। उनले सबैखाले प्रतियोगितामा गरी २२ खेलमा पाँच गोल र आठ असिस्ट गरेका थिए। सबैखाले खेल गरी उनले कुल दुई सय ९५ खेल खेल्दा ९२ गोल गरेका छन् भने १ सय १२ गोलका लागि अवसर सिर्जना गरेका छन्। 

प्रकाशित: २६ असार २०७९ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App