१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप ट्रफी भदौमा नेपाल ल्याइने

अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। विश्वकप सुरु हुन १०० दिन बाँकी रहेको अवस्थामा भ्रमण गराउन लागिएको ट्रफी विश्वका १६ उत्कृष्ट पुरुष क्रिकेट टोलीका देशमा पुर्‍याउन लागिएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार प्रेस विज्ञप्तिबाट विश्व भ्रमणका दौरान विश्वकप ट्रफी नेपाल ल्याइने जानकारी गराएको छ। आगमी अक्टोवर नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपको ट्रफी भदौमा नेपाल आइपुग्नेछ। आइसिसीले जनाएअनुसार विश्वकप ट्रफी भदौ १४ र १५ गते काठमाडौंमा राखिनेछ। उक्त दिन समर्थकले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन अवसर पाउनेछन्।

अस्ट्रेलियाबाट भ्रमणमा निस्कने ट्रफी नेपालजस्तै अन्य १३ देशका ३५ स्थानमा पुर्‍याउने तालिका छ। फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, नेपाल, सिंगापुर, भानुआतुमा पहिलो पटक ट्वान्टी-२० विश्वकपको ट्रफी ल्याउन लागिएको हो। सुरुवात जुलाई ८ देखि मेलबर्नबाट सुरु हुनेछ।

अक्टोबर १३ मा अस्ट्रेलियाको जिलङमा पुगेर सकिनेछ। ट्वान्टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आउन लागेको हो। यससँगै विश्वकपको ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो। २०१९ मा इङ्ल्यान्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी २०१८ मा एकदिवसीय क्रिकेटको विश्वकप ट्रफी नेपाल ल्याइएको थियो।

विश्वकपको ट्रफी निसान कम्पनीले विश्वभर प्रदर्शन गर्नेछ। ट्वान्टी-२० विश्वकप २०२२ सुरू हुन अब १०० दिन बाँकी छ। अस्ट्रेलियाका ७ सहरमा आयोजना हुने ट्वान्टी–२० विश्वकप अक्टोवर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा  गर्नेछन्।

शुक्रबार अस्ट्रेलियामा स्टार क्रिकेटर तथा कप्तान आरोन फिन्च, सेन वाट्सन, वकार युनिस र मोर्ने मोर्केलले विश्व भ्रमण गराउन लागेको ट्रफी सार्वजनिक गरेका थिए।

गत वर्ष संयुक्त अरब इमिरेट्समा उपाधि जितेको अस्ट्रेलिया उपाधि रक्षा गर्न चाहन्छ। शुक्रबार ट्रफी सार्वजनिक कार्यक्रममा अस्ट्रेलियाका कप्तान आरोन फिन्चले सय दिनको समय आयोजक टोलीका लागि निकै महत्वपूर्ण रहेको बताए।

‘यो निकै उत्साहित हुने क्षण हो। क्रिकेटलाई माया गर्ने विश्वका दर्शकका लागि एउटा स्वर्णिम समय हुनेछ। अब विश्वकपको सुरुआत हुन १ दिन बाँकी छ। यो भ्रमणले क्रिकेटको माहोल विश्वमा एक पटक फेरि उचाइमा पुग्नेछ,’ अस्ट्रेलियाका कप्तान फिन्चले भने, ‘विश्वकपमा सबै खेल निकै प्रतिस्पर्धात्मक र कठिन हुने गर्छन्। जुन कुनै टोलीले जुनकुनै टोलीलाई जस्तोसुकै अवस्थामा पनि हराउन सक्छ। सोही कारण विश्वकप रोमाञ्चक हुनेछ।’

प्रकाशित: २५ असार २०७९ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App