१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकपका १८ लाख टिकट बिक्री

कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ।

विश्वकपका लागि फिफाले आयोजक कतारका लागि विशेष श्रेणीको टिकटको व्यवस्था गरेको जनाएको छ। दोस्रो चरणको टिकटका लागि विशेष गरी आयोजक देशका लागि फिफाले प्राथमिकता दिएको छ भने खाडी राष्ट्रका समर्थकलाई फुटबलमा सहभागी गराउन विशेष प्राथमिकता दिने जनाएको छ।

हालसम्म बिक्री भएका टिकटमा आयोजक कतारबाहेक क्यानडा, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, भार त, साउदी अरेबिया, स्पेन, संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकाले सबैभन्दा धेरै टिकट खरिद गरेको फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

२८ दिनसम्म आयोजना हुने प्रतियोगिताका लागि फिफाले ३ मिलियन म्याच टिकट बिक्री गर्ने योजना बनाएको छ। नोभम्बर २१ बाट आयोजना हुने प्रतियोगितामा दोस्रो चरणको टिकट लिने अवसर अगस्ट १६ सम्म खुला हुने फिफाले जानकारी दिएको छ। कतारमा आयोजना हुन लागेको २२औं संस्करणको प्रतियोगिताका लागि सहभागी सबै ३२ टोलीको टुङ्गो लागेको छ।

विश्वकप छनोट अन्तर्गत महादेशीय छनोटको प्लेअफमा न्युजिल्यान्डलाई १–० ले हराउँदै कोस्टरिका विश्वकपमा छनोट भएसँगै विश्वकप खेल्ने टोलीको टुङ्गो लागेको थियो। कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ।

साथै प्रतियोगिताका लागि फिफाले विश्वकपमा एक टिममा २६ खेलाडी राख्न दिने निर्णय गरेको छ। यसअघि एक टिममा २३ खेलाडी मात्र राख्न पाइने नियम रहेको थियो। कोरोना भाइरसको महामारीपछि फिफाले २६ खेलाडी टोलीमा राख्न अनुमति दिएको थियो। सोही नियमलाई यस संस्करणमा पनि निरन्तरता दिएको हो। युरो कप २०२० समेत एक टोलीमा २६ खेलाडी राखिएको थियो।

प्रकाशित: १६ असार २०७९ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App