१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सेरेनाको पुनरागमन सुखद बनेन

सेरेना विलियम्सको टेनिसमा पुनरागमन तीन सय ६४ दिनपछि विम्बल्डनमार्फत सम्भव भए पनि सुखद भने बन्न सकेन। उनको खेल लामो समयसम्म प्रतिस्पर्धा नगरेका खेलाडीको जस्तो देखिन्थ्यो।

उनले आफ्ना सटहरूमा सफलता पाउन सकिनन्। जसका कारण सेरेनाले टाउको हल्लाउँदै आफ्नो नजर सबैतिर घुमाइन्। यसअघि यस्ता दिन थिए, जहाँ सेरेनाले धेरै स्ट्रोक प्रहार गर्थिन् र जसको कारण पनि उनले २३औं ग्रान्ड स्लामसम्मको सफलता चुमेकी थिइन्।

सशक्त सर्भ र स्ट्रोकपछि उनले हात उचालेर उत्साह मनाउँथिन्। यसपटक भने दृश्य फरक रह्यो। सिंगल्समा उनको पुनरागमन सन् २०२१ को जुन २९ पछि सम्भव भयो। चोटका कारण उनी बाहिर रहिन्। तर, लामो समयपछिको उनको पुनरागमन सुखद भएन र विश्वको एक सय १५औं वरीयता प्राप्त फ्रान्सकी हर्मोनी टानसँग ७–५, १–६ र ७–६ (१०–७) ले स्तब्ध भइन्।

‘गत वर्षको भन्दा यस पटक राम्रो भयो,’ विलियम्सले भनिन्, ‘यो सुरुआत हो।’ के उनको यो अन्तिम विम्बल्डन थियो भन्ने प्रश्नमा भने विलियम्सले जबाफ दिइन्, ‘यो त्यो प्रश्न जसको मैले जबाफ दिन सकिनँ। मलाई थाहा छैन। अन्य कसलाई चाहिँ थाहा होला कि मैले आफ्नो खेल अन्त्य गरुँला?’ सेरेनाकी दिदी भेनस पनि सेन्टर कोर्टमा रहेको अतिथि बक्समा बसेर बहिनीले अंक प्राप्त गर्दा खुसी मनाइन्। तथापि, तीन घन्टा ११ मिनेटको संघर्षपश्चात् सेरेना हार स्विकार्न बाध्य भइन्। ‘यो मेरो पहिलो विम्बल्डन हो, जुन यादगार रह्यो,’ २४ वर्षीया टानले भनिन्। आफू सानो छँदादेखि नै सेरेनालाई टिभीमा हेरेको उनलाई अझै सम्झना छ।

‘जब मैले ‘ड्र’ देखें। त्यस समय निकै डराएकी थिएँ,’ मुस्कुराउँदै उनले भनिन्, ‘किनकि मेरो प्रतिद्वन्द्वी सेरेना विलियम्स थिइन्। उनी लिजेन्ड हुन् र मलाई मन पर्ने खेलाडी पनि। हे भगवान् म कसरी खेल्ने भन्ने सोचेको थिएँ।’ ८० मुख्य प्रतियोगितामा उनी पहिलो पटक पहिलो चरणबाट बाहिरिन पुगिन्। सन् २०१२ को फ्रेन्च ओपन र गत वर्षको विम्बल्डनमा उनी पहिलो चरणबाट नै बाहिरिएकी थिइन्। पहिलो सेट गुमाए पनि सेरेनाले दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरिन्।

तेस्रो सेटमा एक समय ५-४ को अग्रता बनाए पनि उनी जित निकाल्न असफल भइन् र पुनरागमन निराशाजनक रह्यो। विलियम्सनले तीन सय हप्ताभन्दा बढी समय विश्व नम्बर एकका रूपमा बिताएको रेकर्ड छ। तर, पछिल्ला समय उनी चार सय ११औं स्थानमा छिन्। त्यसका कारण पनि सेरेनाले अल इङ्ल्यान्ड क्लबबाट वाइल्ड कार्डको सहारामा विम्बल्डन खेल्नुपर्‍यो। विलियम्सनको बहिर्गमनमा टानले भने ठूलो फड्को मारिन्।

टानले आगामी चरणमा बिहीबार ३२औं वरीयता प्राप्त स्पेनकी सारा सोरिब्स टोर्मोविरुद्ध खेल्नेछिन्। साराले अमेरिकन प्रतिद्वन्द्वी क्रिस्टिना म्याकहालेलाई ६–२ र ६–१ ले हराइन्। विश्व नम्बर एक इगा स्विटेकले मंगलबार क्रोएसियाकी याना फेटलाई ६–० र ६–३ ले हराउँदै सुखद सुरुआत गरिन्। विश्व नम्बर ११ की कोको गउफ, सन् २०२१ को फ्रेन्च ओपन च्याम्पियन बारबोरा क्रेचिकोभा र सन् २०१९ की युएस ओपन च्याम्पियन बियान्सा एन्ड्रियस्कुले पनि सुखद सुरुआत गरेकी छन्।

प्रकाशित: १६ असार २०७९ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App