१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

दुई पुलिसको विजयी सुरुआत

विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफ क्लबले मंगलबारबाट सुरु भएको बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

कीर्तिपुरको बहुउद्देश्यीय कभर्ड हलमा मंगलबार दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै विजयी सुरुआत गर्दा अर्को खेलमा एपिएफले परोपकार गर्ल्स होस्टललाई हराउँदै शनिबारसम्म सञ्चाल हुने प्रतियोगितामा विजय हात पारेको छ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल पुलिसले न्यु डायमन्डलाई २५–१६, २५–१५, २५–१५ को सोझो सेटमा हराएको हो। पहिलो सेट गुमाएको न्यु डायमन्डले दोस्रो सेटको सुरुआत राम्रो गरे पनि अन्तिमसम्म लयलाई निरन्तरता दिन सकेन। केही अनुभवी खेलाडीबिना कोर्टमा उत्रिएको न्यु डायमन्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको हो।

मंगलबार नै सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली एपिएफ परोपकार गर्ल्स होस्टलविरुद्ध हाबी भएर खेल्यो। सोही क्रममा एपिएफले परोपकारलाई २३–११, २५–४, २५–३ को सोझो सेटमा स्तब्ध बनायो। प्रतियोगिताअन्तर्गत बुधबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल नेपाल पुलिस र परोपकर गर्ल्स होस्टल तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लबबीच हुनेछन्।

४ टोलीले सहभागिता जनाएको प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ पाउनेछ भने उपविजेताले २ लाख ५० हजार रूपैयाँ, तेस्रोले १ लाख २५ हजार रूपैयाँ र सान्त्वना स्थान प्राप्त गर्नेले ७५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। नगद पुरस्कार प्राप्त गर्ने टोलीले २० प्रतिशत न्यु डायमन्डलाई उपलब्ध गराउनुपर्ने प्रावधान आायेजकले राखेको छ। 

प्रकाशित: १५ असार २०७९ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App