७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

एम्बाप्पेको गोलबाट जोगियो फ्रान्स

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पको गोल प्रेरणामा फ्रान्स युइएफए नेसन्स लिगमा शुक्रबार अस्ट्रियासँगको हारबाट जोगिएको छ।

एम्बाप्पेको गोलबाट पाहुना टोली फ्रान्सले अस्ट्रियासँग १–१ गोलको बराबरी गरेको हो। अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई उसैको मैदानमा १–० ले स्तब्ध बनायो। अस्ट्रियाको राजधानी भिएनामा शुक्रबार भएको खेलमा एम्बाप्पेले खेल सकिन सात मिनेट बाँकी छँदा आकर्षक गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन्। अस्ट्रियाले पहिलो हाफको ३७औं मिनेटमा लिएको अग्रता अन्तिम समयमा जोगाउन सकेन। आन्द्रेस वाइमानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यद्यपि, त्यो अग्रता जोगाउन नसक्दा अस्ट्रिया फ्रान्ससँग अंक बाँड्न बाध्य भयो।

एन्टोनियो ग्रिजम्यानको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका युवा स्ट्राइकर एम्बाप्पेले गोल गरे। फ्रान्सले शुक्रबार पनि बराबरी खेलेको थियो। अघिल्लो सिजनको नेसन्स लिग विजेता फ्रान्सले पछिल्ला तीन खेलबाट कुनै पनि जित निकाल्न सकेको छैन। नेसन्स लिगअन्तर्गत पहिलो खेलमा डेनमार्कसँग २–१ गोलले पराजित फ्रान्स दोस्रो खेलमा क्रोएसियासँग १–१ को बराबरीमा रोकिन पुग्यो। तेस्रो खेल पनि बराबरीमा खेलेपछि फ्रान्सको तीन खेलबाट मात्र दुई अंक भएको छ। फ्रान्स यो समूहको पुछारमा खुम्चिएको छ। उता जितको संघारमा पुगे पनि अन्तिम सात मिनेट सम्हालिन नसकेको अस्ट्रियाको तीन खेलबाट चार अंक छ।

अस्ट्रिया दोस्रो स्थानमा छ। यसअघि अस्ट्रियाले पहिलो खेलमा क्रोएसियालाई ३–० ले पराजित गरेको थियो। दोस्रो खेलमा भने अस्ट्रिया डेनमार्कसँग २–१ ले स्तब्ध भयो। ‘तनाव लिनुपर्ने अवस्था छैन र हामी सधै गल्ती सुधार गर्दै अगाडि बढ्नुपर्छ,’फ्रान्सेली टोलीका स्ट्राइकर एम्बाप्पले इन्जुरीको विषयमा भने, ‘टोली कठिन अवस्थामा हुँदा म सधैं तयार हुन्छु।’ फ्रान्सेली टोलीका प्रशिक्षक डेडियर डेसच्याम्पले ग्रिजम्यानको स्थानमा एम्बाप्पेलाई ६३औं मिनेटमा मैदान प्रवेश गराएका थिए। अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई १–० ले पराजित गर्दा मारियो पसालिचको गोल निर्णायक बन्यो।

उनले खेलको ६९औं मिनेटमा गोल गरेका थिए। जितसँगै क्रोएसिया समूहको तेस्रो स्थानमा उक्लिएको छ। क्रोएसियाले तीन खेलबाट चार अंक जोडेको छ। यता, हारका बावजुद डेनमार्क यस समूहको शीर्ष स्थानमा छ। डेनमार्कको तीन खेलबाट ६ अंक छ।

प्रकाशित: २९ जेष्ठ २०७९ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App