१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चोटले कप्तान राहुल टोलीबाट बाहिर

भारतीय ओपनर केएल राहुल चोटका कारण दक्षिण अफ्रिकासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि टोलीबाट बाहिरिएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले चोटका कारण घरेलु मैदानमा हुने शृृृंखलाका लागि राहुल बाहिर रहने जनाएको हो।

भारत र दक्षिण अफ्रिकाबीच पाँच खेलको शृंखला बिहीबारदेखि दिल्लीमा सुरु हुँदै छ। इन्डियन प्रिमियर लिग (आइपिएल) पछि नियमित कप्तान रोहित शर्माले सबै फम्र्याटको क्रिकेटबाट केही समयका लागि आराम लिएका कारण राहुललाई भारतीय क्रिकेट टोलीको कप्तानी सुम्पिएको थियो।

पूर्वकप्तान तथा अर्का भरपर्दा ब्याट्सम्यान विराट कोहलीले पनि विश्राम लिएका छन्। एकै पटक तीन महत्त्वपूर्ण खेलाडी टोलीबाहिर रहँदा भारतलाई यस शृंखलाअगावै ठूलो धक्का लागेको छ। राहुलको स्थानमा विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्तले भारतको नेतृत्व सम्हाल्ने भएका छन्।

भारतीय टोलीमा स्पिनर कुलदीप यादव पनि अनुपस्थित रहनेछन्। नेटमा अध्यासका दौरान हातमा चोट लागेका कारण कुलदीप पनि टोलीमा अनुपस्थित हुने बिसिसिआईले उल्लेख गरेको छ। सो टोलीको उपकप्तानमा हार्दिक पांड्यालाई चयन गरिएको छ। गत महिना मात्र पांड्याको कप्तानीमा गुजरात टाइटन्सले डेब्यु सिजनमै आइपिएलको उपााधि उचालेको थियो।

‘केएल राहुल र कुलदीपको स्थानमा छनोट समितिले अर्को नाम समावेश गरेको छैन। दुवै खेलाडीले अब नेसनल क्रिकेट एकेडेमीमा जानेछन्, जहाँ उनीहरूले मेडिकल प्रक्रिया पूरा गर्नेछन्। उनीहरूको उपचारपछि मात्र थप निर्णय हुनेछ,’ बिसिसिआईले भनेको छ।

पन्तको कप्तानीमा हुने भारतीय टोलीमा अधिकांश युवा खेलाडी छन्। सो टोलीमा रुतराज गायकवाड, ईशान किसन, दीपक होडा, श्रेयस अय्यर, दिनेश कार्तिक, वेङ्कटेश अय्यर, युजभेन्द्र चाहाल, अक्षर पटेल, रवि पटेल, रवि बिस्नोइ, भुवनेश्वर कुमार, हर्सल पटेल, आवेश खान, आर्सदीप सिंह र उमरान मलिक छन्।  

प्रकाशित: २६ जेष्ठ २०७९ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App