२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सृष्टिको अलराउन्ड प्रदर्शन

सृष्टि जैसीको अलराउन्ड प्रदर्शनमा नेपालले शुक्रबार कतारलाई ७९ रनले हराउँदै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सानदार सुरुआत गरेको छ।

मलेसियाको युकेएम वाइएसडी क्रिकेट ओभलमा नेपालले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५.४ ओभरमै मात्र ३८ रनमा अलआउट भयो। ओपनरद्वय साची धडवाल र श्रुतिबेन रानाले ९ ओभरमा ३३ रनको साझेदारीका साथ कतारको इनिङ समाल्ने प्रयास गरे। तर, सोही ओभरको अन्तिम बलमा नेपालकी स्नेहा महराले साचीलाई कट एन्ड बोल्ड गर्दै त्यो साझेदारी तोडिन्। साचीले २७ बलमा एक चौकासहित १४ रन हिर्काइन्। थप तीन रन जोड्ने क्रममा कतारले दोस्रो विकेट पनि गुमायो।

११औं ओभरको अन्तिम बलमा श्रुतिवेनलाई स्नेहाले नै एलबिडब्लु शिकार बनाउँदै कतारको तेस्रो विकेट लिइन्। श्रुतिबेनले ३५ बलमा १४ रन जोडिन्। त्यसपछि कतार समालिनै सकेन र एकपछि अर्को विकेट गुमाउन पुग्यो। सृष्टिले १२औं ओभरमा तीन खेलाडीलाई खाता नखोल्दै पवेलियनको बाटो देखाएपछि कतारको इनिङ धरासयी भयो। सृष्टिले ११.१ ओभरमा एलिना खानलाई बोल्ड र तेस्रो बलमा अप्सरा विराशेखरालाई कट एन्ड बोल्ड गरिन्। उनले पाँचौं बलमा श्रीना सामीलाई नेपालकी कप्तान कृत्तिका मरासिनीबाट क्याच आउट गराइन्। यी तीनै खाता नखोल्दै आउट भए।

त्यसपछि ब्याटिङमा आएका फतिमा सलमान साहिद र रिभा शाहले समान एक रन जोडे। फतिमालाई कृत्तिकाले सृष्टिबाट क्याच गराइन्। रिभा भने अनु कडायतद्वारा रनआउट भइन्। नेपालको कसिलो बलिङ सामु निरिह देखिएको कतारका चार खेलाडीले खाता खोल्न सकेनन्। सृष्टिले चार ओभरमा ५ रन खर्चदै तीन विकेट लिँदा कृत्तिका, अनु र स्नेहाले समान दुई विकेट निकाले। अनुले २.४ ओभरमा दुई रन खर्चदा कृत्तिकाले दुई ओभरमा ९ रन बेहोरिन्। स्नेहाले चार ओभरमा सात रन खर्चिइन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १ सय १७ रनको योगफल खडा गरेको थियो। नेपालले पहिलो ओभरमा २ रन जोड्दा ओपनर किरनकुमारी कुँवरलाई पहिलो विकेटको रूपमा गुमायो। २० रन जोड्दा नेपालको दोस्रो विकेटको रूपमा अञ्जली विश्वकर्मा आउट भइन्। अञ्जलीले ११ रन जोडिन्। तर, तेस्रो विकेटका लागि सानु राजवंशी र आश्मा पुलामीमगरले ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे। सानुले ४४ बलमा २१ रन जोडिन्। चौथो विकेटका लागि आश्मा र सृष्टिले अविजित ४१ रनको साझेदारी गरे।

आश्माले ३९ बलमा अविजित ३२ रन जोडिन् भने सृष्टि १९ बलमा एक चौकासहित २३ रनमा अविजित रहिन्। कतारकी साची र एलिनाले समान एक विकेट लिए। नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ। शुक्रबार सम्पन्न खेलमा भुटानमाथि १ सय ६० रनको फराकिलो जित निकालेको थियो। छनोटमा नेपाल, मलेसिया, कतार, भुटान, युएई र थाइल्यान्ड गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहने टोली आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछ।

प्रकाशित: २१ जेष्ठ २०७९ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App