१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

यु–१९ महिला टोलीको विश्वकप लक्ष्य

नेपाली युवा महिला क्रिकेट टोलीले पहिलो संस्करणको यु–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा स्थान बनाउने लक्ष्य राखेको छ।

मलेसियामा आयोजित एसियाली छनोटमा च्याम्पियन हुँदै नेपाली यु–१९ महिला क्रिकेट टोलीले महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको हो। उक्त विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुँदै छ।

मंगलबार आयोजित बिदाइ कार्यक्रममा यु–१९ महिला क्रिकेट टोलीकी कप्तान कृत्तिका मरासिनी र प्रशिक्षक महेश रिजालले तयारी राम्रो रहेको र सोहीअनुरूप प्रदर्शन गर्दै उपाधि जित्नेमा आफूहरू विश्वस्त रहेको धारणा राखे। नेपाली यु–१९ टोलीकी कप्तान कृत्तिका मरासिनीले तयारी राम्रो रहेकाले विश्वकप यात्रा सुखद हुनेमा जोड दिएकी हुन्।

‘हामीले घरेलु प्रतिस्पर्धा पनि गर्‍यौं। टिम छनोटपछि अभ्यास खेल पनि खेल्यौं। सबै खेलाडी क्षमतावान् छन्। धेरैजसो खेलाडीको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो र केही नर्भस हुन सक्छन्,’ कप्तान कृत्तिकाले भनिन्, ‘तथापि, विपक्षी टोलीका खेलाडी पनि नयाँ नै हुने मैले आफ्ना साथीहरूलाई भनेको छु। हामी सबै उत्साहित छौं र राम्रो प्रदर्शन गरेर उपाधि जित्ने लक्ष्य छ।’ कप्तान कृत्तिकाले छनोटमा रहेका ६ राष्ट्रमध्ये थाइल्यान्ड नेपालका लागि चुनौती बन्न सक्ने उल्लेख गरिन्। छनोटबाट एक राष्ट्रले आगामी वर्ष हुने पहिलो संस्करणको यु–१९ महिला ट्वान्टी–२० क्रिकेटमा स्थान बनाउनेछ।

नेपाली युवा टोलीका प्रशिक्षक रिजालले पनि महिला क्रिकेटमा थाइल्यान्डले पछिल्ला समय राम्रो गरेकाले उनीहरूले कडा चुनौती प्रस्तुत गर्नेमा सहमत जनाए। ‘थाइल्यान्डले महिला क्रिकेटमा धेरै राम्रो गरेकाले स्वाभाविक रूपमा थाइल्यान्डलाई सबैभन्दा बलियो टोली मान्न सकिन्छ। तथापि, हामीले पनि लामो समयदेखि तयारी गरेका छौं। यो टोलीमा सिनियर क्रिकेट खेलिसकेका कप्तान कृत्तिका र सृष्टि जैसीजस्ता अनुभवी खेलाडी पनि छन्, जसले गर्दा नयाँ खेलाडीलाई राम्रो मार्गदर्शन मिल्नेछ,’ प्रशिक्षक रिजालले भने, ‘क्रिकेट अनिश्चितता खेल हो। साथै हामीले उपाधि जित्नका लागि सबै खालका तयारी गरेका छौं। त्यसैले हामी उपाधिविहीन हुनुपर्ने कारण नै छैन।’

अधिकांश खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लागे पनि दबाबमुक्त रहेर प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको प्रशिक्षकको भनाइ छ। ‘केही खेलाडी नयाँ हुन्। तथापि, उनीहरूमा ट्वान्टी–२० तर्पm घरेलु क्रिकेटको अनुभव छ। त्यसैले यी खेलाडी छनोटका लागि उत्साहित र तयार छन्। हामीले यहाँ केही सिनियर खेलाडीसँग पनि अभ्यास खेल्यौं, त्यसलाई गर्दा उनीहरूमा आत्मविश्वास बढेको छ,’ प्रशिक्षक रिजालले भने, ‘राम्रो क्रिकेट नखेली जित्दैनौं। त्यसैले उत्कृष्ट प्रदर्शन गर्नेमा नै हामी केन्द्रित छौं।’

नेपाल क्रिकेट संघ (क्यान) का सचिव प्रशान्तविक्रम मल्लले तयारी लामो र प्रभावकारी भएकाले युवा टोलीबाट सुखद नतिजा आउनेमा क्यान विश्वस्त रहेको उल्लेख गरे। साथै उनले केही समय नेपाली क्रिकेट अप्ठ्यारो पर्दा महिला क्रिकेट निकै पछि पर्न गए पनि अब त्यसको विकास र प्रोत्साहनमा क्यान लागिपर्ने विश्वास व्यक्त गरे। ‘आन्तरिक द्वन्द्वका केही समय नेपाली महिला क्रिकेट सुस्तायो। तर, नयाँ नेतृत्व आएपछि यसको विकासका लागि काम गरिरहेका छौं,’ सचिव मल्लले भने, ‘क्यानले पुरुष टोलीसरह नै महिला क्रिकेट टोलीलाई अवसर दिने प्रयास गरेको छ। त्यसैले पनि पछिल्लो पटक महिला क्रिकेटका शृंखलाहरू आयोजना गरेका हौं।’

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको यु–१९ पुरुष टोलीले सात पटकसम्म विश्वकप खेलिसकेकाले यु–१९ महिला टोलीले पनि सोही किसिमका उपलब्धि हासिल गर्नेमा क्यान विश्वस्त रहेको बताए। ‘उमेरसमूहमा हामीले राम्रो गरेका छौं। यु–१९ पुरुष टोलीले सात पटक विश्वकप खेलिसकेको छ। पुरुषकै सिनियर टोलीले पनि एक पटक विश्वकप खेलेको इतिहास हामीसँग छ। यु–१९ महिला टोलीले पनि सो उपलब्धि हासिल गर्नेमा हामी आशावादी छौं,’ चन्दले भने। क्यानले गत शनिबार नै कृतिकाको कप्तानीमा १४ सदस्यीय युवा टोली घोषणा गरेको थियो।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै क्यानका अध्यक्ष चन्द, सचिव मल्ल र कोषाध्यक्ष रोशन सिंहले नेपाली युवा टोलीको बिदाइ गरेका थिए। उक्त टोलीको प्रशिक्षकमा महेश रिजाल र सहायक प्रशिक्षकमा रिजन प्रजु छन्। नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दै छ।

छनोटमा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार छ। नेपालले कतारसँग जुन ३ मा खेल्दै छनोट चरणको सुरुआत गर्नेछ। नेपालले दोस्रो खेल संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध जुन चारमा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्ने तालिका छ। नेपालले चौथो खेल जुन सातमा थाइल्यान्डसँग र जुन ९ मा आयोजक मलेसियाविरुद्ध खेल्नेछ। छनोटको शीर्ष राष्ट्रले अर्को वर्षको जनवरीमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछ, जहाँ १६ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: १८ जेष्ठ २०७९ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App