१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पहिलो सिजनमै सफल दुई टोली भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) को डेब्युटेन्ट टोली गुजरात टाइटन्सले आइतबार राती शेन वार्न प्रेरित टोली राजस्थान रोयल्ससँग उपाधि प्रतिस्पर्धा गर्दै छ।

दुवै टोलीले यस सिजन सानदार जित रच्दै उपाधि भिडन्त तय गरेका हुन्। १४ वर्ष अगाडि शेन वार्नकै प्रेरणामा राजस्थानले पहिलो संस्करणकै आइपिएल फाइनल खेलेको थियो। अस्ट्रेलियन स्पिन लिजेन्ड शेर्नको अप्रत्याशित निधनको केही हप्तामा नै राजस्थानले सो सफलता दोहोर्‍याएको छ।

‘राजस्थानका लागि शेर्न वार्न प्रभावशाली खेलाडी थिए। उनले आफ्नै प्रेरणामा टोलीलाई पहिलो संस्करणको फाइनलसम्म पुर्‍याए,’राजस्थानका स्टार ब्याट्सम्यान जस बटलरले भने, ‘हामी उनको सम्झना गरिरहेका छौं। साथै उनी पनि यो सफलतामा गर्व गरिरहेका होलान्।’ लयमा रहेका बटलरकै प्रेरणामा राजस्थानले दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएको छ।

पहिलो संस्करण जितेको राजस्थानले दोस्रो पटक आइपिएल फाइनल खेल्न लागेको हो। यस क्रममा बटलरले अविजित १ सय ६ रनको सतकीय इनिङ खेल्दै विराट कोहलीको नाममा रहेको कीर्तिमान भेट्टाउँदा राजस्थानले पनि ११ बल अगावै लक्ष्य पूरा गर्‍यो। यो सतकसँगै बटलरले विराटको नाममा रहेको एकै सिजनमा चार सतकको कीर्तिमान बराबरी गरे र उनी यस सिजनका सर्वाधिक (८२४ रन) रनकर्ता पनि हुन्।

गुजरातका कप्तान हार्दिक पाड्याले पनि डेब्यु सिजनमै आफ्नो टोलीलाई अंकतालिकाको शीर्षमा पुर्‍याए। पहिलो क्वालिफायरमा राजस्थानमाथि नै सात विकेटको जित रच्दै हार्दिकको गुजरात फाइनलमा पुगेको हो। ‘फाइनल निकै प्रतिस्पर्धात्मक हुनेछ,’राजस्थानका प्रशिक्षक कुमार सांगकाराले भने, ‘पाड्या एक असाधारण खेलाडी हुन् र कुशल तवरले उनले टोलीको नेतृत्व गरिरहेका छन्। त्यो टिममा सबै क्षमतावान् खेलाडी छन्।’

गुजरातले आफ्नै घरेलु मैदान अहमदाबादमा खेल्नेछ। यो विश्वकै ठूलो क्रिकेट स्टेडियम पनि हो। यस सिजनदेखि दुई नयाँ फ्रेन्चाइज टोलीले प्रवेश पाउँदा जहाँ अर्को टोली लखनउ सुपर जायन्ट्सले पनि प्लेअफ सम्मको सफलता प्राप्त गर्‍यो। दक्षिण अफ्रिकन ब्याट्सम्यान डेविड मिलर र भारतीय ब्याट्सम्यान राहुल तेवातियाको मिडल अर्डरमा दरिलो साथ पाएपछि गुजरातले कठिन परिस्थितिबाट खेल आफ्नो पक्षमा पार्दै आएको छ।

‘किलर मिलर’ उपमा पाएका उनी आक्रामक ब्याटिङ गर्दै आइरहेका छन्। कोलकातामा राजस्थानमाथि गुजरातले सात विकेटको जित निकाल्दा पनि मिलरले अविजित ६८ रनको इनिङ खेलेका थिए। तेवातियाले पनि गत महिना अन्तिम दुई बलमा दुई छक्का हिर्काउँदै पन्जाब किंग्समाथि एक रनको सनसनीपूर्ण जित दिलाएका थिए। बलिङतर्फ भने मोहम्मद सामी र अफगानी स्पिनर रासिद खान लयमा छन्।

१५ खेलमा सामीले १९ विकेट लिँदा रासिदको नाममा १८ विकेट छ। रासिदले बलिङसँगै ब्याटिङमा पनि गुजरातलाई साथ दिँदै आएका छन्। ‘सबैभन्दा महत्वपूर्ण पक्ष हामी सन्तुलित टोली हौं। यसले पनि टोलीलाई फाइनलसम्म पुर्‍याउन मद्दत गरेको हो,’रासिदले भने, ‘सबै खेलाडीले कुनै न कुनै क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गरेका छन्। त्यसैले पनि खेलाडीबीच एकआपसमा कुनै दुविधा छैन।’ 

प्रकाशित: १५ जेष्ठ २०७९ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App