एउटै प्रतियोगितामा१२ स्वर्ण जित्ने करिश्मा कार्कीको कीर्तिमान उनले तोडेका हुन्। करिश्माले २०६८ मा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा १२ स्वर्ण जितेकी थिइन्। शिरीषको नाममा अहिले १०राष्ट्रिय कीर्तिमान् छ। उनले अहिलेसम्म २३ पटक राष्ट्रिय कीर्तिमान भंग गरिसकेका छन्।
शिरीषले शुक्रबार पनि सातै स्वर्णमा आफ्नो नाममा लेखाए। उनले खुला ४ सय मिटर व्यक्तिगत मिड्ले (६ मिनेट ०१.६३ सेकेन्ड), २ सय मिटर ब्याकस्ट्रोक (२ मिनेट ३९.१० सेकेन्ड), २ सय मिटर फ्रिस्टायल (२ मिनेट २०.४८ सेकेन्ड), एक सय मिटर बटरफ्लाई (१ मिनेट ०८.९८ सेकेन्ड) मा स्वर्ण पदक जितेका हुन्। उनले एक सय मिटर ब्रेस्टस्ट्रोक (१ मिनेट १३.९४ सेकेन्ड),५० मिटर ब्याकस्ट्रोक (३३.०४ सेकेन्ड) र ५० मिटर फ्रिस्टायल (२६.८८ सेकेन्ड) मा पनि पहिलो स्थान प्राप्त गरे।
विश्व च्याम्पियनसिपमा भाग लिएर उनी रसियाको काजानबाट सिधैं काठमाडौं आएका थिए। एकवर्षे छात्रवृत्तिमा थाइल्यान्डमा पौडी प्रशिक्षण गरिरहेका उनी सोमबार पुनः थाइल्यान्ड फर्कंदैछन्। 'बढीभन्दा बढी स्वर्ण जित्ने इच्छा थियो। तर, जित्छु नै भन्ने लागेको थिएन,' शिरीषले भने,'भाग लिएको सबैमा जितेपछि नयाँ कीर्तिमान बन्या, त्यसले एकदमै खुसी लागेको छ।'
भाग लिएका सबै इभेन्ट जित्नु आउँदा दिनमा आफ्नै लागि पनि चुनौती हुने उनी बताउँछन्। १५ इभेन्टमध्ये उनले ५० मिटर ब्रेस्टस्ट्रोकमा मात्र भाग लिएनन्। उनले एक सय, २ सय मिटर ब्रेस्टस्ट्रोक तथा ५० बटरफ्लाई र ब्याकस्ट्रोक पहिलोपल्ट खेलेका हुन्।
थाइल्यान्डको झन्डैदुईमहिने प्रशिक्षणले अहिलेको प्रदर्शन गर्न सफल भएको शिरीषको विश्वास छ। 'पढाइलगायत सबै छोडेर पौडीमा केन्द्रित छु,' हालै १२ कक्षा उत्तीर्ण गरेका उनले भने,'सम्भवतः यो सफलता त्यसैको परिणाम हो। साथीहरूभन्दा एक वर्ष जुनियर हुन तयार भएर पौडीप्रशिक्षणमा जुटेको छु।'
उनले आउँदा दिनको लक्ष्य प्रस्ट पार्दै भने, 'दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्नु मेरो जीवनको सबैभन्दा ठूलो लक्ष्य हो। त्यो जित्न सकेको दिन अहिले १४ स्वर्ण जितेभन्दा बढी खुसी हुन्छु होला।'
सोफियालाई सात स्वर्ण
पाँचौं एनएस कपमा महिलातर्फ सोफिया शाहले ७ स्वर्ण पदक जितेकी छन्। पहिलो दिन राष्ट्रिय कीर्तिमानसहित तेहेरो स्वर्ण जितेकी उनले सातदोबाटोस्थित पौडी पोखरीमा अन्तिम दिन ४ स्वर्ण थपिन्। उनले ४ सय मिटर फ्रिस्टायल (५ मिनेट ७.९१ सेकेन्ड), २ सय मिटर व्यक्तिगत मिड्ले (३ मिनेट ०३.३४ सेकेन्ड), एक सय मिटर फ्रिस्टायल (१ मिनेट १३.९४ सेकेन्ड) र ५० मिटर फ्रिस्टायल (२६.६८ सेकेन्ड) मा स्वर्ण जितेकी हुन्।
अघिल्लो दिन ५० मिटर फ्रिस्टायलको हिटमा २९.३३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकीसोफियाले २ सय मिटर फ्रिस्टाइल र ५० मिटर ब्याकस्ट्रोकमा पहिलो स्थान पाएकी थिइन्।
महिला खुला २ सय मिटर ब्रेस्टस्ट्रोकमा सोनिरा विष्ट, एक सय मिटर ब्याकस्ट्रोकमा ओसिन भारती, ५० मिटर ब्रेस्टस्ट्रोकमा निहारिका तुलाधर र ५० मिटर ब्याकस्ट्रोकमा दुवाना लामाले स्वर्ण पदक जिते।
उमेर समूहतर्फ महिला १४ वर्षको ५० मिटर ब्याकस्ट्रोक र ५० मिटर फ्रिस्टायलमा तेन्जिङ लामा, १२ वर्षको ५० मिटर फ्रिस्टायल र ५० मिटर ब्याकस्ट्रोकमा आयुष्मा तुलाधर, १० वर्षको ५० मिटर फ्रिस्टायलमा दुवाना लामा, १७ वर्षको ५० मिटर बटरफ्लाईमा मनीषा चित्रकार, ५० मिटर फ्रिस्टायलमा निहारिका तुलाधरले पहिलो स्थान प्राप्त गरे।
पुरुष १० वर्षको ५० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर बटरफ्लाईमा नासिर हुसेन, १४ वर्षको ५० मिटर बटरफ्लाईमा अनुभव सुब्बा, १७ वर्षको ५० मिटर ब्याकस्ट्रोकमा कृष्ण कार्की, १२ वर्षको ५० मिटर बटरफ्लाई र ५० मिटर ब्रेस्ट स्ट्रोकमा अनन लामा, १७ वर्षको ५० मिटर बटरफ्लाईमा मनीष चित्रकार, १४ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकमा शुभम श्रेष्ठले स्वर्ण पदक जिते। १७ वर्ष फ्रिस्टायल रिलेमा लिंकन स्कुल टोलीले स्वर्ण पदक जितेको छ।
प्रकाशित: ११ भाद्र २०७२ २३:१० शुक्रबार





