१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पेनाल्टी असफल हुँदा सिटीलाई धक्का

रियाद महारेजले अन्तिम समयमा प्राप्त पेनाल्टीको सदुपयोग गर्न नसक्दा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग उपाधिरक्षाको लक्ष्यमा धक्का लागेको छ। आइतबार सम्पन्न खेलमा सिटी वेस्टह्यामसँग २–२ को बराबरीमा रोकिएको हो।

३७ खेलमा सिटीको ९० अंक छ, जुन दोस्रो स्थानको लिभरपुलभन्दा मात्र चार अंक बढी हो। लिभरपुलले सिटीभन्दा एक खेल कम खेलेको छ। आगामी खेलमा लिभरपुलले साउथह्याम्पटनलाई हराएमा सो दूरी ३ अंकमा झर्नेछ र उपाधि छिनोफानो लिगको अन्तिम चरणको खेलले गर्नेछ।

लिभरपुलले साउथह्याम्पटनलाई नतिजा सुम्पिएमा वा अंक बाँडेमा भने सिटी उपाधि संघारमा पुग्नेछ। सिटीले अन्तिम खेलमा एस्टन भिल्ला र लिभरपुलले बर्नलीविरुद्ध खेल्नेछ। पहिलो हाफमा बावेनको दुई गोलमा वेस्टह्यामले २–० को अग्रता लिएको थियो। तर ज्याक ग्रिलिस र वेस्टह्यामकै भ्लादमिर कोफालको आत्मघाती गोलमा सिटी खेलमा फर्किएको थियो।

८६औं मिनेटमा महारेजको पेनाल्टी प्रहार वेस्टह्यामका गोलकिपर लुकास फाबियान्सकीले विफल पारेका थिए। यसअघि ह्यारी केनको पेनाल्टीको सहयोगमा आइतबार टोटेनह्यामले बर्नलीमाथि १–० को रोमाञ्चक जित निकाल्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा सम्पन्न लिगको ३७औं खेलमा टोटेनह्यामले रोमाञ्चक जित निकालेसँगै शीर्ष चार सम्भावना बलियो पारेको हो।

स्पष्ट अंक हात पार्ने क्रममा केनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीबाट गोल गरेका थिए। एस्ले बार्नेसले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा टोटेनह्यामलाई पेनाल्टी प्रदान गरेका थिए। पेनाल्टी अवसरलाई केनले सहजै गोलमा परिणत गरेका थिए।

त्यसपछि दोस्रो हाफमा पनि टोटेनह्यामले लगातार दबाब सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा पहिलो हाफमा केनले गरेको पेनाल्टी गोल नै टोटेनह्यामको जितमा निर्णायक बनेको थियो। यस्तै शीर्ष चारकै होडमा रहेको अर्को टोली आर्सनलको एक खेल कम हुँदा टोटेनह्यामले २ अंकको अग्रता लिएको छ। उता पराजित बर्नली रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि छ।

समान ३४ अंक भए पनि बर्नली रेलिगेसन क्षेत्रको लिड्स युनाइटेडभन्दा माथि गोलअन्तरका आधारमा अटाएको हो। बर्नलीले अझै दुई खेल खेल्न बाँकी छ। आर्सनलले सोमबार न्युक्यासलसँग प्रतिस्पर्धा गर्दै छ। आर्सनल पनि शीर्ष चारको प्रतिस्पर्धामा रहेको छ। जित निकाले पनि एन्टोनियो कोन्टेको टोलीलाई दबाब भने उत्तिकै छ। शीर्ष चारमा अटाउन टोटेनह्यामले आर्सनलले अंक गुमाएको हेर्नुपर्नेछ।

प्रकाशित: २ जेष्ठ २०७९ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App