२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इन्टरको उपाधि रक्षा गर्ने सम्भावना जीवितै

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार युडिनेसीविरुद्ध दोस्रो गोल गरेपछि इन्टरका खेलाडी। तस्बिरः एएफपी

युडिनेसीलाई २–१ ले पराजित गर्दै साबिकको विजेता इन्टर मिलानले इटालियन सिरी ‘ए’ को उपाधि रक्षा गर्ने सम्भावना जीवितै राखेको छ।

३५ खेलको समाप्तिमा इन्टर ७५ अंकसहित दोस्रो स्थानमा छ। जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको एसी मिलानको भन्दा दुई अंक कम हो। नेपोली ७० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको युभेन्ट्सको ६९ अंक छ।

आइतबार सम्पन्न अर्को खेलमा शीर्ष स्थानमा फराकिलो अग्रता लिने क्रममा मिलानले फियोरेन्टिनालाई १–० ले हराएको थियो। मिलानको जितमा राफेल लियोले गरेको गोल निर्णायक बन्यो। गत साता बोलोग्नासँग निराश भएको इन्टर आइतबार मिलानको जितपछि ५ अंकले पछि परेको थियो। तर युडिनेसीमाथिको जितसहित इन्टरले सो दूरी २ अंकमा झार्दै उपाधिरक्षा सम्भावना कायम राखेको हो। १२औं मिनेटमा इभान पेरिसिचले गरेकोे गोलमा इन्टरले अग्रता लिएको थियो। ३९औं मिनेटमा लौटारो मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए। ७२औं मिनेटमा पुसेटोको गोलमा युडिनेसीले गोलअन्तर कम गरेको थियो।

‘हामीले बाँकी रहेका तीन खेलमा शतप्रतिशत नतिजा ल्याउने हो भने उपाधि रक्षा लक्ष्य हामीबाट टाढा छेैन,’ मार्टिनेजले भने, ‘अब हामीले स्वाभाविक खेलमा मात्र केन्द्रित हुनुपर्छ। पछिल्लो खेलको खराब नतिजाले हामीमाथि पक्कै पनि केही दबाब थपिएका थियो। मिलानको जितले सो दबाब बढाइदिएको थियो। युडिनेसीमाथिको जितले भने हामीमाथिको दबाब हटेको छ। हाम्रो मुख्य लक्ष्य भनेकै उपाधि रक्षा गर्ने हो र हामी त्यसमै केन्द्रित छाैँ। हामीले अब बाँकी रहेका खेलमा शतप्रतिशत अंक ल्याउने र मिलानले अंक गुमाएको कामना गर्नुपर्नेछ।’

यता मिलानको गोलमा निर्णायक गोल गरेका लियोले भने आफूहरू यस सिजन सिरी ‘ए’ उपाधिको मुख्य दाबेदार रहेको बताए। लियोले खेल सकिन आठ मिनेट बाँकी रहँदा गरेको गोल मिलानलाई सन् २०११ पछि पहिलो पटक सिरी ‘ए’ को उपाधि संघारमा पुर्‍याउनका लागि पर्याप्त बन्यो। जारी सिजन सिरी ‘ए’ मा उनको यो १०औं गोल हो।

‘एउटा खेलाडीका रूपमा यो मेरो खेलजीवनकै विशेष क्षण हो,’ लियोले भने, ‘हामी ११ वर्षपछि सिरी ‘ए’ को उपाधिनजिक पुगेका छौं।

प्रकाशित: २० वैशाख २०७९ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App