१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

चार खेलअगावै रियाललाई उपाधि

भ्रमणकारी टोली स्पानियोलमाथि ४–० को फराकिलो जित निकाल्दै कार्लो एन्सेलोटीको टोली रियाल मड्रिडले स्पेनिस ला लिगको ३५औं उपाधि उचालेको छ।

घरेलु मैदानमा रियाललाई चार खेलअगावै च्याम्पियन बनाएका प्रशिक्षक एन्सेलोटी युरोपका सबै पाँच मुख्य प्रतियोगिताको उपाधि दिलाउने पहिलो प्रशिक्षक समेत बनेका छन्। पूर्व प्रशिक्षक जिनेदिन जिदानपछि रियाल मड्रिड क्लबलाई सम्हालेका एन्सेलोटीको टोलीले सिजनको सुरुआतबाट नै उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो। शनिबार रियाललाई उपाधि पक्का गराउन स्पानियोलविरुद्ध रोड्रिगोले दुई गोल गर्दा मार्कोे एसेन्सियो तथा करिम बेन्जेमाले एकएक गोल गरे।

प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली रियालले खेलको ३३औं मिनेटमा रोड्रिगोको गोलमा अग्रता लिएको थियो। यस्तै, ४३औं मिनेटमा रोड्रिगोले नै गोल गर्दा रियालले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा उत्कृष्ट खेल देखाएको रियालले ५५औं मिनेटमा तेस्रो गोल गर्न सफल भयो।

एसेन्सियोले तेस्रो गोल थप्दै अग्रता तेब्बर बनाउँदा बेन्जेमाले ८१औं मिनेटमा चौथो गोल गरेसँगै रियालले ३५औं ला लिगा सुनिश्चित गरेको हो। चार खेलअगावै च्याम्पियन बनेको लिग लिडर मड्रिड ३४ खेलमा ८१ अंक जोडेको छ। दोस्रो स्थानको सेभियाको ६४ अंक छ भने ६३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ। चार खेलअगावै च्याम्पियन बन्दा रियाललाई ८० हजार समर्थकले साथ दिएका थिए।

‘बर्नाबेउमा उपाधि जितको यो मेरा लागि पहिलो हो। उपाधि पक्का गरेसँगै समर्थकले दिएको साथबाट म निकै भावुक बनेको छु,’ रियालका प्रशिक्षका एन्सेलोटीले भने, ‘खेलको अन्तिम सिट्ठी बजेसँगै मेरो आँखाबाट आँसु आयो। जहाँ मेरा भावना पोखिएको थियो र त्यो मेरो लागि खुसीको आँसु हो।’

रियाल मड्रिडलाई पनि उपाधि दिलाएर युरोपका सबै प्रतिष्ठित प्रतियोगितामा उपाधि दिलाउँदै कीर्तिमान रचेका एन्सेलोटीले यसअघि चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए। यस्तै इटालियन सिरी ‘ए’ को उपाधि एसी मिलानलाई दिलाएका एन्सेलोटीले पेरिस सेन्ट जर्मनलाई लिग वानको उपाधि र बायर्न म्युनिखलाई बुन्डेसलिगाको उपाधि दिलाएका थिए। यस्तै उपाधि पक्का गरिसकेको रियालका मिडफिल्डर लुका मोडरिचले ला लिगा उपाधि क्लबका लागि स्पेसल भएको प्रतिक्रिया दिए।

‘आजको खेलमा हामीले उत्कृष्ट खेल देखाउन सक्यौं। जसको नतिजा उपाधि नै उचाल्न सक्यौं। घरेलु मैदानमा उपाधि पक्का गर्दा समर्थको साथ मेरा लागि अविस्मरणीय भयो,’ मिडफिल्डर मोडरिचले भने, ‘यो पहिलो उपाधि हो। अझै हामीले अन्य उपाधि उचाल्न बाँकी नै छ। यो सुरुआत भएको छ। यो सिजन हाम्रा लागि राम्रो छ। लयलाई निरन्तरता दिएर नयाँ इतिहास रच्न चाहन्छौं।’

ल लिगाअन्तर्गत शनिबार नै भएका अन्य खेलमा भ्यालेन्सिया र लेभान्तेले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा आल्भेसले भिल्लारियाललाई २–१, एट्लेटिक क्लबले एट्लेटिको मड्रिडलाई २–० ले स्तब्ध बनाए।

प्रकाशित: १९ वैशाख २०७९ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App