७ वैशाख २०८१ शुक्रबार
खेल

थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीमा थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। मंगलबार प्रशिक्षक अल्मुताइरीले रोहित चन्दलाई बन्द प्रशिक्षणबाट निकालेसँगै उनको समर्थनमा अन्य ९ खेलाडीले बुधबार राति त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरस्थित टोली बसेको होटल छोडेका थिए।

यसअघि २३ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा समावेश गरिएको थियो। १० खेलाडी बाहिरिएपछि बाँकी रहेको १३ सदस्यीय टोलीमा अल्मुताइरीले १७ जना थप गर्दै ३० सदस्यीय टोलीको घोषणा गरेका हुन्। त्यससँगै टोलीका सिनियर खेलाडी र प्रशिक्षक अल्मुताइरीबीचको विवाद सतहमा आएको थियो। रोहित बाहिरिएसँगै सुजल श्रेष्ठ, विमल घर्ती मगर, विशाल राई, अञ्जन विष्ट, विशाल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, तेज तामाङले बन्द प्रशिक्षण छोड्दै होटलबाट बाहिरिएका थिए।

उनीहरूले आधारभूत सेवासुविधाको माग राख्दा प्रशिक्षक अल्मुताइरीले व्यक्तिगत रिसिबी साँधेको र पटकपटक होटल छोड्न निर्देशन दिएपछि आफूहरू बाहिरिएको बताएका थिए। त्यस्तै हाल व्यावसायिक लिगका लागि माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बुका साथै बन्द प्रशिक्षणमै रहेका एरिक विष्ट, पूजन उपरकोटी, दर्शन गुरुङ र दीप कार्कीले सामाजिक सन्जाल फेसबुकमार्फत बन्द प्रशिक्षण छोडेका अन्य खेलाडीको मागमा समर्थन रहेको जनाएका थिए।

अल्मुताइरीले टोलीमा १७ खेलाडीलाई थप गर्दै प्रशिक्षणलाई जारी राखेपछि भने यो विवाद झनै चर्कने सम्भावना बढेको छ। अल्मुताइरीले शुक्रबार प्रशिक्षणका लागि थपेका खेलाडीमा विकेश कुथु, अभिषेक बराल, विशाल सुनार, जर्ज प्रिन्स कार्की, आशिष चौधरी, आकाश बुढामगर, नीरकुमार राई, राजन गुरुङ, रोशन रानामगर,रूपबहादुर लामा, संजोक राई, सेसेहाङ आङदाम्बे, शिव गुरुङ, सुशिल राई , सुनिल श्रेष्ठ, विकास तामाङ र मनीष जर्घामगर रहेका छन्।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल कठिन समूहमा छ। नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ। छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछ। यस्तै ५ समूहका उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन्।

प्रकाशित: १७ वैशाख २०७९ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App