२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

‘जिम्बाब्वेसँग खेल्नु अवसर हो’

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका भ्रमण अगाडि नेपालले शनिबारदेखि जिम्बाब्वे ‘ए’ टोलीसँग ३/३ एकदिवसीय र ट्वान्टी–२० क्रिकेट शृंखला खेल्दै छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबारदेखि एकदिवसीय शृंखला सुरु हुँदै छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जिम्बाब्वेसँगको शृंखलाका लागि पूर्ण रूपमा तयार रहेको बताए। साथै सुखद नतिजा प्राप्त गर्नेमा आफू विश्वस्त रहेको समेत सन्दीपले उल्लेख गरे।

‘जिम्बाब्वेजस्तो अनुभवी टोलीसँग खेल्न पाउँदा खुसी छौं। अमेरिका भ्रमणअघि यो राम्रो अभ्यास हुनेछ। अहिले टोली सन्तुलित छ,’लामिछानेले भने, ‘हामीले पिएनजी र मलेसियासँग नयाँ प्रयोग गर्‍यौं, जुन सफल पनि भयो। जिम्बाब्वे राम्रो टोली हो र उनीहरूसँग खेल्न सजिलो हुने छैन। तथापि, तयारी राम्रो छ र हामी एकदिवसीय र ट्वान्टी–२० शृंखला जित्ने लक्ष्यका साथ मैदान उत्रनेछौं।’

त्यस्तै प्रशिक्षक पुबुदु दसानायकेले आगामी जुनमा अमेरिकामा हुने विश्वकप लिग–२ खेल्नुअघि हुन लागेको शृंखला नेपालका लागि राम्रो अनुभव बटुल्ने अवसर भएको प्रतिक्रिया दिए। बलियो जिम्बाब्वेविरुद्ध नेपाललाई आफ्नो गल्ती सुधारको अवसर रहने प्रशिक्षकको भनाइ छ। नेपालमा आयोजना हुन लागेको शृंखलाका लागि जिम्बाब्वे ‘ए’ नेपाल आइसकेको छ।

यता, नेपाल क्रिकेट संघ (क्यान) ले पनि शुक्रबार एकदिवसीय शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो। ‘विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएको जिम्बाब्वेसँग खेल्न पाउँदा खुसी छौं। अमेरिका भ्रमणअघि यो अवसर पनि हो। अबको दश महिना हाम्रो क्रिकेट व्यस्त छ। लिग–२ का २४ खेल बाँकी छन्,’दसानायकलेले भने, ‘युवा खेलाडीलाई अवसर दिएर राम्रो क्रिकेट खेल्न चाहन्छौं। यु–१९ टोलीका केही खेलाडी पनि छन्। उनीहरूका लागि यो अनुभव बटुल्ने अवसर हुनेछ।’

जिम्बाब्वे ‘ए’ का प्रशिक्षक डौग्लास होन्डुले युवा टोली समेटेर शृंखलामा आएको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए। ‘नेपाल भ्रमणमा हामी युवा टोली लिएर आएका छौं। केही रिजनल खेल खेलेका थियौं। हाम्रो लागि यो भ्रमण धेरै महत्त्वपूर्ण छ। यहीबाट खेलाडीहरू राष्ट्रिय टिममा पर्न प्रतिस्पर्धा गर्दैछन्,’होन्डुले भने, ‘नेपाली टोली पनि राम्रो टोली छ। प्रतिस्पर्धात्मक खेल हुनेमा विश्वस्त छौं।’

प्रशिक्षक होन्डुले भने जस्तै जिम्बाब्वेका कप्तान टोनी मुनियोङ्गाले नेपाली टोलीसँग घरेलु मैदानमा खेल्दा नयाँ अनुभव हुने प्रतिक्रिया दिए। युवा टोली भएकाले नेपालसँग राम्रो प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरे। शनिबारबाट हुने शृंखला १० दिनसम्म चल्नेछ। जसअन्तर्गत एक दिवसीय शृंखला वैशाख १७ देखि २१ सम्म र ट्वान्टी–२० वैशाख २३ देखि २६ गतेसम्म सञ्चालन हुने तालिका छ।

प्रकाशित: १७ वैशाख २०७९ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App