२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सिनियर फुटबलरद्वारा विद्रोह

एएफसी एसियन कप छनोट खेलका लागि बन्द प्रशिक्षणमा सहभागी २५ खेलाडीमध्ये ९ जनाले प्रशिक्षकसँगको मनमुटाव कारण क्याम्प छाडेका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीविरुद्ध विद्रोह गर्दै मंगलबार होटल छाडेको टोली व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए।

‘प्रशिक्षकसँग असन्तुष्टि भएमा व्यवस्थापक पक्षलाई जानकारी गराउनुपर्ने हो। विनाजानकारी होटल छाडेर जानु गलत हो,’नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक उपाध्यायले भने, ‘विनासम्पर्क केही खेलाडी विहान साढे ९ बजे क्याम्प छाडेर गए। सम्पर्कको प्रयास गरिएको थियो। तर, सबै खेलाडी सम्पर्कविहीन भए।’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न एसिया कप छनोटका लागि खेलाडीलाई त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ। तर, प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिनियर खेलाडीले एन्फालाई जानकारी पनि नगराइ प्रशिक्षण छाडेर बाहिरिएका हुन्।

विद्रोह गर्ने खेलाडीमा अञ्जन विष्ट, विमल घर्ति मगर, तेज तामाङ, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, अनन्त तामाङ र रोहित चन्द छन्। यीमध्ये सबैभन्दा पहिला रोहित क्याम्पमा नबस्ने भन्दै बाहिरिएका थिए। सेवासुविधाका विषयमा खेलाडीले माग राखेको सुनिएता पनि उनीहरूले व्यवस्थापनलाई कुनै जानकारी नदिएको व्यवस्थापक उपाध्यायको भनाइ छ।

‘सेवासुविधाको विषय भएमा हामीलाई भन्नुपर्ने थियो। प्रशिक्षकसँग कुनै असन्तुष्टि भए पनि खेलाडीले जानकारी गराउनुपर्ने थियो। एक्कासी होटल छाडेर जानु खेलाडीको गल्ती हो,’उपाध्यायले भने, ‘आपसमा बसेर छलफल गर्दा समाधान हुने भएता पनि खेलाडी विनाजानकारी बाहिरिए।’

राष्ट्रिय टोलीका खेलाडीले व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोखेका थिए। प्रशिक्षणका क्रममा बस्ने र खाने व्यवस्था राम्रो नभएको भन्दै उनीहरूले प्रशिक्षकसँग गुनासो गरेका थिए। एन्फाले पनि खेलाडीको गुनासोसँगै त्रिपुरेश्वरस्थित एक होटलमा खेलाडीलाई राखेको थियो।

त्यसपछि खेलाडीले दशरथ रंगशालामा नियमित प्रशिक्षण गर्न थालेका थिए। सुविधाका विषयमा आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दूरी बढ्दै गएको थियो। प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहितले सुरुमा क्याम्प छाडे। त्यसपछि अन्य खेलाडी पनि होटल छाडेर गए।

विद्रोह गरेका ९ खेलाडीको स्थानमा अन्य खेलाडी ल्याउने तयारी एन्फाले गरेको छ। टोली व्यवस्थापक उपाध्यायले वैकल्पिक खेलाडीको लिस्ट मुख्य प्रशिक्षकबाट आफूलाई प्राप्त भइसकेको र बिहीबार नै उनीहरूलाई बोलाउने तयारी भइरहेको जानकारी दिए।

‘खेलाडीले गलत प्रक्रिया अपनाए। उनीहरूको स्थानमा अन्य खेलाडी ल्याउने तयारी भइरहेको छ,’उपाध्यायले भने, ‘बिहीबारबाट क्याम्पमा नयाँ खेलाडी समावेश हुन्छन्। उनीहरू सम्पर्कविहीन भएकाले वैकल्पिक खेलाडीलाई बोलाउँछौं। प्रशिक्षकले लिस्ट पनि दिइसक्नु भएको छ।’

प्रशिक्षक अलमुताइरीले यसअघि पनि क्याम्प सुरु गर्दा खेलाडीलाई पत्रकार सम्मेलनमा बोल्न रोक लगाएका थिए। जसका कारण प्रशिक्षक पत्रकारद्वारा पनि निकै आलोचित थिए। सामाजिक सञ्जालमा समर्थकबाट सस्तो लोकप्रियता बटुल्नकै लागि अलमुताइरीले धेरै कार्यक्रममा अस्वभाविक शैलीमा प्रस्तुत गर्ने गर्छन्। एएफसी एसियन कप छनोटमा नेपाल कठिन मानिएको समूहमा छ।

नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि दशरथ रंगशालामा नियमित अभ्यास गरिरहेको छ। यसअघि बन्द प्रशिक्षण सुरुआत हुँदा मुख्य प्रशिक्षकले सार्वजनिक रूपमै नेपाल छनोट हुन सक्दैन भन्ने प्रतिक्रिया दिएका थिए।

नेपालको समूहमा आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन छन्। प्रतिद्वन्द्वी बलिया भएकाले नेपालको छनोट सम्भावना न्यून छ। छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन्। यस्तै पाँच समूहका उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।

प्रकाशित: १५ वैशाख २०७९ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App