८ वैशाख २०८१ शनिबार
खेल

लिभरपुलविरुद्ध एक अंक जोडे पनि भाग्यशाली: राग्निक

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ राग्निकले मंगलबार इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलविरुद्ध १ अंक मात्र जोडे पनि त्यसमा टोली भाग्यशाली रहने बताएका छन्।

प्रिमियर लिगमा शनिबार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित युनाइटेडले रेलिगेसनसँग बाँच्न संघर्षरत नर्विच सिटीमाथि ३–२ को जित हात पारेको थियो। ३–० को सहज अग्रताका बावजुद युनाइटेडले अन्तिम समयमा २ गोल खान पुगेको थियो। टोली सहज अग्रतापछि बढी आत्मविश्वासी बनेको र कमजोर रक्षापंक्तिको नमुना देखाएको भन्दै राग्निक खेलाडीसँग रुष्ट बनेका हुन्।

युनाइटेड ३३ खेलमा ५४ अंकसहित प्रिमियर लिगको पाँचौं स्थानमा छ। समान खेलमा ५७ अंकसहित टोटनह्यम चौथो स्थानमा छ। शीर्ष चारमा बस्दै आगामी सिजन प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनोट हुने दौडमा टोटनह्याम, युनाइटेड र आर्सनल छन्। आर्सनलले अन्य टोलीभन्दा एक खेल कम खेलेको छ।

म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने लिभरपुल दोस्रो स्थानमा छ। साडियो मानेको लिभरपुलले भने शनिबार नै सम्पन्न एफए कपको सेमिफाइनलमा सिटीलाई ३–२ ले पराजित गरेको थियो। योगार्न क्लोपको टोली एकै सिजन चार उपाधि जित्ने कीर्तिमानकोस संघारमा छ। चेल्सीलाई हराउँदै इङ्लिस लिग कपको उपाधि जितेको लिभरपुल प्रिमियर लिगमा सिटीभन्दा मात्र एक अंकले पछि छ भने टोलीले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाइसकेको छ। लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा भिल्लारियालको सामना गर्नेछ।

‘सबैले आजको खेल हेरेको हुनपर्दछ र हामीले मंगलबार कस्तो प्रतिद्वन्द्वीविरुद्ध खेल्दै छाैँ भन्ने पनि थाहा छ,’ राग्निकले भने, लिभरपुलले आज मात्र सिटीलाई हराएको छ। उनीहरू एफए कपको फाइनल प्रवेश गरेका छन् र उच्च लयमा छन्।

उनीहरू सिजनको चार उपाधिको संघारमा छन्। हामीले आज सहज अग्रताका बावजुद संघर्षरत टोलीसँग कमजोर रक्षापंक्तिका कारण अन्तिममा दुई गोल उपहार दियांै। लिभरपुलविरुद्ध सोही प्रदर्शन दोहोर्‍याएमा हामीलाई एक अंक लिन पनि कठिन छ। त्यसैले उनीहरूविरुद्ध एक अंक जोड्नुपर्ने हाम्रा लागि ठूलो उपलब्धि बन्न सक्छ। हामी सचेत हुन आवश्यक छ।

रोनाल्डोले भने यस सिजनको दोस्रो ह्याट्रिक पूरा गरे। यसअघि उनले टोटनह्यामविरुद्ध ३–२ को जित निकालेको खेलमा पनि ह्याट्रिक पूरा गरेका थिए। जारी सिजन उनले युनाइटेडबाट सबै खाले प्रतियोगिता गरी २० गोल गरिसकेका छन्।

साथै राग्निकले आफू अन्तरिम प्रशिक्षक भएकाले रोनाल्डोको क्लब भविष्यका बारेमा अहिले केही बताउन नसक्ने बताए।‘मेरो निर्णयले मात्र केही अर्थ राख्दैन,’ राग्निकले भने, ‘रोनाल्डो र युनाइटेडबीच एकै एक सिजनको सम्झौता बाँकी छ। उनको भविष्यका बारेमा नयाँ प्रशिक्षक आएपछि मात्र निर्णय हुनेछ।’

प्रकाशित: ५ वैशाख २०७९ ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App