coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल छनोट हुन कठिन: अल्मुताइरी

अभ्यास थालनी गर्ने दिन पत्रकार सम्मेलनमा योजनासहित उपस्थित भएका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल चीनमा हुने एएफसी एसियन कपमा छनोट हुन कठिन हुने बताए।

आफ्नो समाजिक सन्जालबाट केही दिनअगाडि नेपाली फुटबलको बारेमा टिप्पणी लेखेका अल्मुताइरीले शुक्रबारको पत्रकार सम्मलेनमा पनि उस्तै अभिव्यक्ति दिए।

‘हामी एसियन कप छनोट हुन सक्दैनौं। यो सत्य हो। एसियन कप छनोट हुनका लागि हामी धेरै पछि छौं। तपाई सपना देख्न सक्नुहुन्छ। सपना पनि देख्नुपर्छ। तर, सत्य यो हो कि हामी छनोट हुन सक्दैनौं,’ राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले दशरथ रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘छनोट सबै टिमका लागि महत्त्वपूर्ण छ। हामीले सक्दो लडाइँ गर्नेछौं। हामीसँग छनोट हुने सम्भावना छ। तर कठिन छ। सपना ठूलो देखे पनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल छ। प्रयास छनोट हुनका लागि हुनेछ।’

पहिलो दिनको अभ्यासपछिको पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले नेपाली टोली जुन लक्ष्यका साथ तयारी गरिरहेको छ, सो लक्ष्यमा पुग्न निकै कठिन हुने कारण पनि खुलाए। नेपालमा व्यावसायिक खेलाडी नभएको तथा फुटबलका लागि उमेरसमूहका खेलाडीको ब्याकअप नभएको भन्दै घुमाउरो भाषामा सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को आलोचना गरे।

‘५० वर्ष लामो नेपाली फुटबलको ग्रासरुट खै? युवा खेलाडीको विकास कहाँ छ ? यदि तपाईंसँग यु–१९, यु–१६ राष्ट्रिय टिम छैन, ठूलो सपना देख्न सक्नुहुन्न। तर अहिलेको पुस्ता सबै एसिया कप, विश्वकप छनोट, सबैलाई हराउन, साफ कप जित्न चाहन्छ,’ अल्मुताइरीले थपे, ‘हामीले प्रतिस्पर्धा गर्न लागेको टोलीमध्येको इन्डोनेसियासँग १३/१४ युरोपका खेलाडी छन्।

कुवेत घरेलु टिमको मौसमले हामीलाई साथ दिँदैन। अर्को प्रतिद्वन्द्वी जोर्डन एसियाको ठूलो टिम हो। एसिया कप छनोटका लागि हामीलाई धेरै मेहनत चाहिन्छ। अहिले टोलीमा भएका खेलाडी सबै बच्चा छन्। परिपक्व उमेरका खेलाडी कमै मात्र छन्।’

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको हो। पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ मध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा व्यावसायिक फुटबलमा छन् भने देवेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन्।

नेपाली फुटबल टोली आफूले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँदै मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले दुई महिनापछि कुवेतमा हुने एएफसी एसियन कप छनोटका लागि योग्य नभएको दोहोर्‍याउँदै अभिव्यक्ति दिइरहे। त्यसका लागि प्रतिष्ठित प्रतियोगिता खेल्नका लागि टोलीमा धेरै सुधारदेखि फुटबलको जग बलियो हुनुपर्ने औंल्याउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले ग्रासरुटदेखि उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि बढ्न नसक्ने पनि बताए। यस्तै नेपालमा आयोजना हुने लिग र केही प्रतियोगिताको गुणस्तर नभएको बताए।

‘अहिले राष्ट्रिय टिमका लागि ४५ खेलाडी तयार छन्। सबैले भोलि नै एसिया कप छनोट खेल्न सक्छन्। तर म ४५ बाट खेलाडी छनोट गर्न चाहन्नँ। म कम्तीमा १५०–२०० खेलाडीबाट छनोट गर्न चाहन्छु,’ अल्मुताइरीले थपे, ‘हाम्रो लिगमा पनि क्वालिटी छैन, म खेलको क्वालिटीको कुरा गर्दै छु। तीन थरी खेलाडी हामीसँग छन्। लोकल (लिग र कम्पिटिसन मात्र खेल्ने), दोस्रो दक्षिण एसियामा मात्र जसले बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, भारतसँग मात्र खेल्न सक्छन् र अर्को अन्तर्राष्ट्रिय खेल्ने, जुन थोरै संख्यामा छन्।’

नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो। छनोट प्रतियोगतामा समूह ‘ए’ मा नेपालसँगै आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन छन्। एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जसअन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन्।

छनोटमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ। यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ। त्यसअघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन।

प्रकाशित: ३ वैशाख २०७९ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App