१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडसँग क्वार्टरफाइनल दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिए पनि इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।

पहिलो लेगमा केभिन डी ब्रुयनाको गोलमा १–० को जित निकालेको सिटीको सेमिफाइनल यात्राका लागि सोही गोल पर्याप्त बन्यो। सिटी समग्रमा १–० ले विजयी रह्यो। खेलपछि दुई टोलीका खेलाडीबीचको झडप छुट्याउन प्रहरी नै परिचालन गर्नुपरेको थियो। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रेपोलिटियानो रंगशालामा सम्पन्न खेलमा एट्लेटिकोका स्टेफन साभिच र सिटीका ज्याक ग्रेलिस एकआपसमा हात हालाहालको अवस्थामा देखिएका थिए।

‘मैले कुनै झडप देखिनँ,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमानीले भने, ‘मैले मैदानबाटै समर्थकलाई निराश नहुन आग्रह गरिहेको थिएँ। म ड्रेसिङ रुममा जाँदा त्यहाँको अवस्था सामान्य थियो।’ ‘मलाई केही भन्नु छैन,’ खेलपछि पत्रकार सम्मेलनमा सो झडपका बारेमा सोधिएको प्रश्नमा सिटीका प्रशिक्षकले प्रतिक्रिया दिए।

एट्लेटिकोका रक्षक फिलिपेले सिटीका फिल फोडिनमाथि खराब फाउल गरेपछि यी दुई टोलीका खेलाडीबीच विवाद सुरु भएको थियो। फिलिपे रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एट्लेटिकोले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

‘एट्लेटिको राम्रो टोली हो र उनीहरूविरुद्धको खेल सधैँ कठिन हुने गर्दछ,’ सिटीका रक्षक जोन स्टोन्सले भने, ‘तर आज मैदानमा जुन परिस्थितिको सामना गर्नुुपर्‍यो, त्यो निकै घातक थियो।’

सिटीले फाइनल प्रवेशका लागि स्पेनिस ला लिगाको शीर्ष टोली रियाल मड्रिडको सामना गर्नेछ। रियाल मंगलबार क्वार्टरफाइनल दोस्रो लेगमा चेल्सीसँग ३–२ ले पराजित भए पनि समग्रमा ५–४ को जितसहित सेमिफाइनल प्रवेश गरेको थियो।

पहिलो लेगमा अपनाएको रक्षात्मक रणनीतिबाट आलोचित बनेका सिमानीले दोस्रो लेगमा पनि सोही रणनीति अपनाएका थिए। पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको सिटी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको यो लगातार दोस्रो पटक हो।

‘हामीले आज एट्लेटिकोविरुद्ध दोस्रो हाफमा गरेको जस्तै प्रदर्शनलाई निरन्तरता दिएमा हाम्रो उपाधि सपना सपनामै सीमित हुनेछ,’ ग्वार्डिओलाले भने, ‘हामीले रियालविरुद्ध खेल्नुपर्नेछ, जो यस प्रतियोगिताको सबैभन्दा सफल टोली हो।’

त्यस्तै बेन्फिकासँग क्वार्टरफाइनल दोस्रो लेगमा ३–३ को बराबरीमा रोकिए पनि लिभरपुल समग्रमा ६–४ को जितसहित सेमिफाइनल प्रवेश गरेको छ।

पहिलो लेगमा लिभरपुल ३–१ ले विजयी भएको थियो। इब्राहिमा कोटानेको गोलमा लिभरपुलले अग्रता लिए पनि पहिलो हाफमै गोन्जालो रामोसले बेन्फिकालाई खेलमा फर्काएका थिए। दोस्रो हाफमा रोबेर्टो फिर्मिनोको दुई गोलमा लिभरपुलले अग्रता ३–१ मा पुर्‍याएको थियो।  

रोमन यारेमचुक र डार्विन नुनेजको गोलमा बेन्फिका खेलमा फर्किए पनि त्यो अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बनेन।

प्रकाशित: २ वैशाख २०७९ ०३:१५ शुक्रबार