१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

कप्तान र पूर्वकप्तानलाई प्रबल जनसेवाश्री

१३औं दक्षिण एसियाली खेलकुदमा पदक दिलाएका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सम्मानस्वरूप संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण बिहीबार नयाँ वर्षको अवसरमा प्रदान गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित एक कार्यक्रममा नेपालका लागि १३औं दक्षिण एसियाली खेलकुदमा पदक दिलाएका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई पदक प्रदान गरेकी हुन्। यसअघि गत वर्ष असोज ३ गते संविधान दिवसको दिन सरकारले विभिन्न खेलबाट पदक जित्ने खेलाडीलाई पदक प्रदान गर्ने निर्णय गरेको थियो।

विभूषितमध्ये राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई प्रबल जनसेवाश्री प्रदान गरिएको थियो। यस्तै तेक्वान्दोमा दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, पारा क्रिकेट र बास्केटबल खेलाडी हिमाल अर्याल, पारा टेबल टेनिस खेलाडी शव थापा र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जनसेवाश्री विभूषण प्रदान गरिएको थियो।

यस्तै तेक्वान्दोकै लक्ष्मणबहादुर ऐरले नेपाल प्रताप आभूषण प्राप्त गर्दा कराते खेलाडी अनु अधिकारी, तेक्वान्दो खेलाडी संगीता बस्याल, कराते खेलाडी लक्ष्मण तामाङ, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापा उसु खेलाडी जुनी राई र खेलसामग्री कम्पनी केल्मी नेपालको आधिकारिक विक्रेता केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई सुकीर्ति पदक प्रदान गरियो।

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन छ। जसअनुसार यस पटक ९ सय ३ जना विभूषित हुँदा खेलकुद क्षेत्रमा लागेका व्यक्तित्व पनि अटाएका हुन्।

प्रकाशित: २ वैशाख २०७९ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App