२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

खेलकुद विवादको वर्ष २०७८

कोरोनाले थलिएको नेपाली खेलकुद, वर्ष २०७८ मा तङ्ग्रिने विश्वास गरिए पनि अपेक्षाअनुसारको गति लिन सकेन। खेलकुदमा उपलब्धिभन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भएको मलेसिया, नेदरल्यान्ड्स र नेपालबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखलाको उपाधि जित्दै सुरु भएको वर्ष २०७८ को यात्रा किर्गिस्थातानमा भएको एएफसी फुटसल एसियन कपमा नेपालले कुल ३ गोल गर्दा २४ गोल खाँदै लज्जासपद बहिगर्मनका साथ टुंगिएको छ।

यसबीचमा नेपाली महिला भलिबल टोलीले एभिसी सेन्ट्रल जोनमा उपाधि रक्षा गर्दा नेपाल टोकियो ओलम्पिकमा सहभागी भयो। तर, नेपालबाट ओलम्पिक सहभागिता भइरहँदा विवादरहित हुन सकेन। पदाधिकारीको विदेश भ्रमण र खेलाडीको सहभागिता अन्तिम समयमा आएर रद्द हुँदा ओलम्पिकको विषयमा समाचारले प्राथमिकता पाए।

एथलेटिक्सका गोपीचन्द्र पार्कीको सट्टामा सरस्वती चौधरीलाई पठाउने निर्णयले गोपीचन्द्रको लामो समयको मिहिनेत खेर गयो। पछि बर्लिनमा भएको अर्काे प्रतियोगितामा पार्कीलाई सहभागी गराइयो। त्यसै गरी, ओलम्पिक कमिटी नेतृत्वले जापान पठाउने अफिसियलमा खेलको व्यवस्थापकमा अर्कै खेलका पदाधिकारी पठाउने काम भए, जुन नेपाली खेलकुदमा निकै आलोचनाको विषय भयो।

नयाँ मन्त्री र सदस्यसचिव

संघीय सरकार परिवर्तनसँगै युवा तथा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भए सँगै नयाँ सदस्यसचिवको रूपमा टंकलाल घिसिङलाई जिम्मेवारी सुम्पियो। पुराना सदस्यसचिव रमेशकुमार सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला गरिदियो। परिवर्तन भएको सरकारबाट नियुक्त सदस्यसचिव टंकलाल घिसिङले कार्यभार सम्हालेका छन्। कोभिड–१९ महामारीका कारण थलिएको नेपाली खेलकुद आशातीत तरिकाले पुनर्जागृत हुन सकेन।

छिटफुट केही प्रतियोगिता भए पनि सरकारी क्यालेन्डरमा रहेका प्रतियोगिता हुन सकेनन्। गण्डकीमा तय भएको नवौं राष्ट्रिय खेलुकद यो वर्ष हुन सकेन र अर्को वर्षलाई धकेलिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौ राष्ट्रिय खेलकुद पोखरामा जेठ २२ देखि २८ सम्म आयोजना गर्ने निर्णय गरेको छ। यो तेस्रो पटक नवौं राष्ट्रिय खेलकुदको मिति तय भएको हो। चीनमा हुने एसियन गेम्स हुन पाँच महिना मात्रै बाँकी हुँदा नेपालले प्रतियोगितामा सहभागी विषयमा कुनै छलफल पनि हुन सकेको छैन। सहभागिताका लागि खेलाडी छनोट प्रक्रिया अझै हुन सकेको छैन भने कुन खेलमा कति खेलाडीले सहभागिता जनाउने भन्ने विषय पनि टुंगोमा पुग्न सकेको छैन।

एन्फा विवादः अल्मुताइरी र निर्वाचन

फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुशासनको विषयमा टिप्पणी भएसँगै उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र प्रशिक्षकबीचको विवादले फुटबल केही समय नराम्रोसँग गिजोलियो। सोही कारण एन्फा अध्यक्ष र उपाध्यक्षबीच दुई धार देखिए। प्रवक्ता किरण राईले उपाध्यक्षमाथि अन्याय भएको भन्दै राजीनामा दिए। उता काम गर्न सहज नभएको भन्दा मुख्य प्रशिक्षक अल्मुताइरीले सामाजिक सन्जालबाट राजीनामा दिने घोषणा गरे पनि आधिकारिक रूपमा बुझाएनन्।

एन्फा अध्यक्ष कर्माछिरिङले जसोतसो गरी प्रशिक्षकलाई थमाए। त्यसपछि अल्मुताइरीले माल्दिभ्समा भएको साफ फुटबलको फाइनल खेलअघि इमेलबाट राजीनामा दिए र उतैबाट कतार गए। अल्मुताइरीले फाइनलपछि लागू हुने गरी एन्फामा इमेल गरेका थिए। पहिलो पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित हुँदै उपविजेताका रूपमा स्वदेश फर्किएको थियो। अन्तिममा कतारमा भएको छलफलपछि मुख्य प्रशिक्षकको जिम्मेवारी लम्बियो। जसमा कर्माले त्यहाँको फुटबल निकायसँग सम्भौता गरेर अल्मुताइरीको नेपाल बसाइ लम्ब्याएका थिए।

जेठ १५ लाई तोकिएको एन्फाको निर्वाचन एक महिना धकेलिएको छ। ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगका प्रतिनिधिको टुङ्गो नहुँदा सरेको छ ।

नेपाल पहिलो पटक फाइनलमा प्रवेश

साफ फुटबलको इतिहासमा नेपालले पहिलोपटक फाइनलमा स्थान बनायो। फाइनलमा नेपाल चिर प्रतिद्वन्द्वी भारतसँग ३–० ले पराजित भयो। पाँच टोली सहभागी रहेको प्रतियोगिता सिंगल राउन्ड रोबिन आधारमा भएको थियो। नेपाललाई फाइनलमा हराएको भारतले आठौं पटक उपाधि उचाल्दा नेपाल भने उपविजेता भएको थियो। यसअघि नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

नेपाल सुपर लिग अनिश्चित

सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न भइसक्दा नेपाल सुपर लिग (एनएसएल) बीचको विवाद नयाँ सिरामा अगाडि देखा पर्‍यो। चरम कोरोना माहामारीका बीच पनि सफलतापूर्वक सम्पन्न भएको नेपाल सुपर लिग (एनएसएल) अहिले अनिश्चित भएको छ। चैतमा तोकिए पनि यसपटक एनएसएल हुन सकेको छैन। सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबले आफ्नो अनुमति आफूसँग अनुबन्ध भएका खेलाडीलाई अक्सनमार्फत एनएसएलका क्लबमा अनुबन्धित गरिएको भन्दै आपत्ति जनाएका थिए। जसमा चार क्लबले असन्तुष्टि जनाएका थिए। क्लब र एनएसएलबीचको विवादमा एन्फाको राजनीति घुसेपछि प्रतियोगिता नहुने अनिश्चित भएको छ।

पारस खड्काको संन्यास, क्रिकेट खेलाडीको विवाद र पदाधिकारीबीच शीतयुद्ध

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काको अप्रत्याशित संन्यासले वर्ष २०७८ मा चर्चा पायो। लामो समयदेखि नेपाली क्रिकेटसँग जोडिएका पारसले एकाएकको संन्यासपछि क्यान नेतृत्वमा आउने अभिलाशा देखाए।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीबीचको शीतयुद्धमा निर्वाचित सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिए। प्याकुरेलसँगै क्यानका केही सदस्यले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदा ग्रेडिङको विषयमा खेलाडीबीचको विवाद छरपस्ट भयो।

ग्रेडिङ नमिलेको भन्दै खेलाडीले क्रिकेट नै नखेल्नेसम्मको चेतावनी दिए। सोही विषयलाई लिएर क्यानले कदम चाल्दा राष्ट्रिय टोलीमा कप्तानको जिम्मेवारी पनि हेरफेर भयो। ज्ञानेन्द्र मल्लबाट कप्तानको जिम्मेवारी खोस्दै क्यानले लेग स्पिनर सन्दीप लामिछानेलाई दियो। यस्तै दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटायो। कप्तान र उपकप्तानसँग जोडिएका सोमपाल कामी र कमलसिंह ऐरी गरी चारै खेलाडीलाई २०२२ को सुरुको ६ महिना सेन्ट्रल कन््य्राक्टमा नराख्ने निर्णय गरेको थियो।

त्यसपछि सन्दीपको कप्तानीमा नेपालले केही अन्तर्राष्ट्रिय भ्रमण गर्दा केही अन्तर्राष्ट्रिय प्रतियोगिता घरेलु मैदानमा खेल्यो। क्यानले गरेको कारबाहीमा केही फुकुवा गरेसँगै केही समयका लागि विवाद मत्थर भएको छ। तर, मैदानमा विवादको असर अझै बाँकी छ। जसका कारण अस्ट्रेलियामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट हुन असफल रह्यो।

अन्तिम र निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग हार बेहोर्दा नेपालको विश्वकप यात्रा समाप्त भयो। यस्तै घरेलु मैदानमा भएको पिएनजीसँगको एकदिवसीय शृंखलामा नेपालले नतिजा सुम्पिँदा मलेसिया, पिएनजी र नेपाल सम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला भने घरमै राख्न सफल भयो। जुन सन्दीप लामिछानेको कप्तानीको पहिलो उपाधि हो। यस्तै क्यानको सबैभन्दा महŒवाकांक्षी कार्यक्रम ‘नेपाल प्रिमियर लिग’को विवाद पनि अझै सकिएको छैन। क्यान नेतृत्वले निर्वाचित हुँदा सबैभन्दा महत्वका साथ ल्याइएको ‘नेपाल प्रिमियर लिग’ कार्यकाल सकिने दिन नजिकिए पनि टुंगो लाग्न सकेको छैन। 

ओलम्पिकको विवाद

टोेकियो ओलिम्पिक २०२० का लागि नेपाल एथ्लेटिक्स संघले खेलाडी छनोट गर्न नेपालगन्ज म्याराथन प्रतियोगितालाई मान्यता दिए पनि गोपीचन्द्र पार्की त्यस आधारमा ओलम्पिकमा सहभागी हुन पाएनन्। पार्कीले पार गरेको समय ओलम्पिकका लागि पर्याप्त नभएको भन्दै अन्तिम समयमा रद्द गर्दा उनको तयारी बालुवामा खेर गएको थियो।

जसका कारण ओलम्पिक कमिटी निकै आलोचनामा पर्‍यो। ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्यसचिव रमेश सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै पार्कीको ओलम्पिकमा नभएको औपचारिक जानकारी गराए।

अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने हुँदा म्याराथनको कोटाभन्दा धेरै आवेदन परेकाले म्याराथन नभई १ सय मिटर दौडमा कोटा छुट्ट्याएको जानकारी प्राप्त भएको भन्दै पार्कीलाई हटाइएको थियो। पार्कीको स्थानमा १ सय मिटर दौडका लागि सरस्वती चौधरीको नाम पठाइसकिएको पनि विज्ञप्तिमा उल्लेख थियो। यस्तै ओलम्पिकमा चार खेलका पाँच खेलाडी सहभागी थिए। सुटिङबाट कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह तथा एथ्लेटिक्सकी सरस्वती चौधरीले ओलम्पिक प्रतिस्पर्धा गरे। सुटिङकी कल्पनाले राष्ट्रिय कीर्तिमानमा सुधार गर्दा अन्य खेलाडीको सहभागितामै सीमित भयो।

भलिबल

नेपाली महिला र पुरुष टोलीले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्‍यो। पुरुष टोलीको सहभागिता सम्झन लायक बन्न नसक्दा महिला टोलीले उपाधि रक्षा गर्न सफल भयो। पुस १३ गते सम्पन्न फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानमाथि ३–२ को रोमाञ्चक सेटमा जित निकाल्दै उपाधि रक्षा गर्न सफल भयो। उक्त प्रतियोगितामा महिला टोलीले अपराजित रहँदै उपाधि उचालेको हो।

नेपालले लिग चरणमा आयोजक बंगलादेश, माल्दिभ्स र किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले यसअघि सन २०१९ मा बंगलादेशमै सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधि पनि जितेको थियो। नेपाली पुरुष टोली भने समूहचरणमा उज्बेकिस्तान र माल्दिभ्सलाई हराएर श्रीलंका र बंगलादेशसँग पराजित भयो। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

बक्सिङ

नेपालकी पुनम रावलले थाइल्यान्डको फुकेटका सम्पन्न थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल भइन्। ६० किलो तौलसमूहमा पुनम सेमिफाइनलमा फिलिपिन्सका बक्सरसँग ३–२ अंकमा पराजित भए। नेपालले थाइल्यान्ड ओपन बक्सिङमा १२ वर्षपछि पदक जितेको छ। यसअघि, २०१० मा दीपक महर्जनले कांस्य पदक जितेका थिए। नेपालबाट पुनमसहित मीनु गुरुङ, चन्द्रकला थापा, सुष्मा तामाङ, सुशील थापामगर, प्रेम चौधरी र भूपेन्द्र थापामगरले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १ वैशाख २०७९ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App