१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

स्वाभाविक प्रदर्शनबाट जितको चाहना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सोमबार त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दा स्वाभाविक प्रदर्शनका साथ उपाधि जित्न चाहेको बताएका छन्।

नेपाल समूह चरणको ४ खेलमा शतप्रतिशत नतिजासहित फाइनल प्रवेश गरेको थियो। शनिबार समूहचरणको अन्तिम खेलमा नेपालले मलेसियालाई हराएसँगै पिएनजीले फाइनलमा स्थान बनाएको थियो।

पिएनजीविरुद्धको फाइनल खेल नेपाललाई अघिल्लो शनिबार एकदिवसीय शृंखलामा भोगको हारको बदला लिने सुनौलो अवसरसमेत हो। नेपाल एकदिवसीय शृंखलामा पिएनजीसँग २–० ले पराजित भएको थियो।

ट्वान्टी–२० शृंखलामा भने आफ्नो दबदबा कायम राख्ने क्रममा नेपालले पिएनजीलाई समूहचरणको दुवै भेटमा पराजित गरेको थियो। सन्दीप आफ्नो कप्तानीमा नेपाललाई पहिलो शृंखला दिलाउने लक्ष्यमा छन्।

‘यो मेरा लागि मात्र नभई समग्र टोलीका लागि नै महत्वपूर्ण शृंखला हो,’ सन्दीपले भने, ‘म कप्तानभन्दा पहिले यो टोलीको सदस्य हुँ, त्यसैले अरूलाई शृंखला जित्दा जति खुसी लाग्छ, मलाई पनि त्यति नै लाग्छ। हामी यस शृंखलाको सुरुआती खेलबाटै उच्च लयमा छौं। त्यसैले फाइनलमा पनि स्वाभाविक प्रदर्शनका साथ उपाधि जित्न चाहन्छौं। हामी घरेलु समर्थकलाई उपाधिको खुसी दिन चाहन्छौं। उनीहरूको साथले हामीलाई दबाबभन्दा पनि सधैं ऊर्जा दिने गरेको छ।

सन्दीपले शृंखलाको पहिलो खेलबाट नै टोलीमा परीक्षण गरिएकाले अब नतिजाका लागि खेल्ने बताए। उनले टोलीमा तीव्र गतिका बलर कमलसिंह ऐरीको अनुपस्थिति महुसस गरेको बताए।

कमल शनिबार मलेसियाविरुद्ध समूह चरणको अन्तिम खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए। उनको काँधको आज शल्यक्रिया गरिएको छ। उनी करिब ६ साता मैदानबाहिर रहने बताइएको छ।

यस शृंखलाको पहिलो खेलबाटै नेपालले ब्याटिङमा विपक्षीमाथि दबाब बनाएको छ। ओपनरले उल्लेख्य प्रदर्शन गर्न नसके पनि मध्यक्रमका ब्याटर रोहतकुमार पौडेलका साथै दीपेन्द्रसिंह ऐरीले आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन्।

दीपेन्द्रले शनिबार मलेसियाविरुद्ध शतक पूरा गरेका थिए भने बिहीबार पिएनजीविरुद्ध अर्धशतक पूरा गरेका थिए। उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले हालसम्म ९ सय ७९ रन बनाएका छन्। उनी ट्वान्टी २० क्रिकेटमा १ हजार रनको आकडा पार गर्ने पहिलो नेपाली खेलाडी बन्न मात्र २१ रनले पर छन्। रोहितले मलेसियाविरुद्ध अर्धशतक पूरा गरेका थिए।

नेपालले जारी शृंखलाको पछिल्ला दुई खेलमा २ सय रनको आकडा पार गरेको थियो। पिएनजीविरुद्धको दोस्रो खेलमा २ सय ३ रनको योगफल तयार पारेको नेपालले मलेसियाविरुद्ध भने २ सय २३ रनको योगफल खडा गरेको थियो।

त्यस्तै यसै शृंखलाबाट सिनियर टोलीमा डेब्यु गरेका आदिल आलमले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पिएनजीविरुद्ध विस्फोटक ब्याटङ गर्दै ११ बलमा अविजित ३१ रन प्रहार गरेका आदिलले मलेसियाविरुद्ध १४ रन जोडेका थिए।

प्रकाशित: २१ चैत्र २०७८ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App