९ असार २०८१ आइतबार
image/svg+xml
खेल

यादव र बोहोरालाई १० किलोमिटर दौड उपाधि

दश किलोमिटर दौडका पुरुष विजेता धावकहरु पुरस्कारसहित। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा पहिलोपटक सहभागिता जनाएका अजितकुमार यादवले पुरुष तर्फको १० किलोमिटर दौडको उपाधि जितेका छन्। नेपाल भूतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न १० किलोमिटर पुरुष दौडमा यादवले ३० मिनेट ४५.२० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्।

महिलातर्फको उपाधि काठमाडौंकी सरस्वती बोहोराले आफनो नाममा लेखाईन्।  बोहोराले उपाधि जित्न ३९ मिनेट ३५.२० सेकेण्डको समय लगाईन्। स्याङजाका युवराज थापा दोस्रो भए। काठमाडौंका टंकबहादुर कार्की तेस्रो स्थानमा रहे। १४०० जना पुरुष धावकहरुको बीचबाट थापाले ३२ मिनेट ५०.३० सेकेण्डको समय लगाए  कार्कीले ३३ मिनेट ५.५० सेकेण्डको समय लगाउँदै काँस्य पदकमा चित्त बुझाए। महिलातर्फ ६० जना धाविका प्रतिस्पर्धा उत्रिएका थिए। शसस्त्र प्रहरी बलकी आशा रावतले दोस्रो स्थानमा आउन ४० मिनेट १०.४० सेकेण्डको समय लगाईन। पोखराकी गोमा पुनले ४३ मिनेट ५९.४० सेकेण्डमा पार गर्दै काँस्य पदक जित्न सफल भईन्। विजेता खेलाडीहरुले २०, १५ र १० हजार नगद प्राप्त गरे।  

५ किलोमिटर दौड छात्र तर्फको प्रतिस्पर्धामा पर्वतस्थित थापाठाना माविका आनन्द थापाले १७ मिनेट ५.०८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते। पर्वतकै कालीगण्डकी एकेडेमीमा अध्ययनरत छात्र कृष्णबहादुर परियारले १७ मिनेट २७.९० सेकेण्डमा पुरा गर्दै रजत पदक र मण्डलीमावि गोरखाका सुरज बरामले १७ मिनेट ४१.४० सेकेण्डमा पुरा गर्दै काँस्य पदक जिते। छात्र दौडमा १२ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।  

५ किलोमिटरकै छात्रा दौडमा भानु सेकेण्डी तनहुँकी नम्रता गुरुङले २२ मिनेट ५०.३० सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन्। त्यसैगरी छोरेपाटन मावि पोखराकी नारायणी भण्डारीले २३ मिनेट ३.१० सेकेण्डमा पुरा गर्दै रजत र भानु सेकेण्डरी तनहुँकी सन्ध्या अधिकारीले २३ मिनेट २०.३० सेकेण्डको समयमा पुरा गर्दै काँस्य पदक जित्न सफल भईन्। छात्रा तर्फ ८ सय ५० जनाले सहभागिता जनाएका थिए। विजेता छात्र तथा छात्राले १०, ७ र ५ हजार रुपैयाँ नगद प्राप्त गरे।  

त्यसैगरी दृष्टिविहीन पुरुष दौडमा देव क्षत्री, आदर्श बस्याल, सुनिल रानामगर, महिला तर्फ विनिता पुन, माया गौतम र प्रतिक्षा लामिछाने क्रमश प्रथम, द्वितीय र तृतीय भए। ह्वीलचियर दौड पुरुष तर्फ सुरेश गौली, जीवन श्रेष्ठ र भरत अधिकारी प्रथम द्वितीय र तृतीय हुँदा महिलातर्फ अन्जु बराल, धना मगर र लक्ष्मी सुनार क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे।  

भूतपुर्व खेलाडी मञ्चले गत फागुनको पहिलो शनिबार अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन आयोजना गरेको थियो। कोभिडकै कारण मञ्चले दौडलाई दुईचरणमा गर्ने योजना अनुसार १० किलोमिटर र ५ किलोमिटर दौडलाई एकमहिना पछि सारिएको थियो। दौड विजेतालाई मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, प्रा.डा भगवान कोइराला, गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।  

प्रकाशित: १२ चैत्र २०७८ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App